‘वीपीको भनाइ आज झन् व्यापक,जहाँ नेपाली, त्यहाँ नेपाल’ : अमेरिकाका लागि कार्यवाहक राजदूत आरण
भर्जिनिया, अमेरिका / अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज आरणले नयाँ नेपालमा नेपाली जहाँ छन्, त्यही पनि नेपाल भएको बताएका छन्।
नेपाली कांग्रेसका संस्थापक नेता, पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री समाजवादी आन्दोलनका अन्तर्राष्ट्रियस्तरमै परिचित नेता तथा विशिष्ट साहित्यकार जननायक स्वर्गीय विश्वेश्वरप्रसाद (वीपी) कोइरालाको ४४औँ स्मृति दिवसको अवसरमा भर्नियामा आइतवार आयोतित कार्यक्रमा कार्यवाहक राजदूत आरणले यस्तो धारणा राखेका हुन्।
नेपाली जनसम्पर्क समिति अमेरिका, भर्जिनिया च्याप्टरले आयोजना गरेको “वीपीको विचार र आजको सन्दर्भ” विषयक विचार गोष्ठीमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै कार्यवाहक राजदूत वीपीको भनाइ स्मरण गर्दै यस्तो धारणा राखेका हुन्।
‘वीपीले भन्नुभएको थियो—”देश वा राष्ट्र भनेको केवल भूगोल होइन, जनता हो।” यसको अर्थ आज झन् व्यापक भएको छ। अहिले नेपालीहरू विश्वभरि छरिएर रहेका छन्। त्यसैले अहिलेको नयाँ नेपालमा नेपाली जहाँ छन्, त्यही पनि नेपाल हो।’ कार्यवहाक राजदूत आरणले भने।
उनले नेपाल निर्माणमा विदेशमा रहेका नेपालीको ठूलो योगदान हुने धारणा राखे ।
‘यस हिसाबले विदेशमा रहेका सम्पूर्ण नेपालीहरूको नेपाल निर्माणमा अझ ठूलो योगदान हुन सक्छ। यही नै आजको राष्ट्रको नयाँ परिभाषा पनि हो। यहाँहरूसँग अनुभव छ, क्षमता छ, देशका लागि केही गरौं भन्ने पूँजी छ।’ कार्यवहाक राजदूत आरणले भने, ‘यहाँहरूले धेरै सिक्नुभएको छ, र राष्ट्रिय चिन्तनदेखि समग्र विकासका विषयमा पनि महत्वपूर्ण अनुभव हासिल गर्नुभएको छ।’
राजदूत आरणले अब सकारात्म भाइव ल्याउनु पर्नेमा जोड् दिए ।
‘अबको समयमा सकारात्मक तरिकाले नेपाल निर्माण गर्न, नेपालको विकास गर्न र समुन्नत नेपाल बनाउन सबैले सकारात्मक सहयोग गर्नुपर्छ ।’ उनले भने ।
नेपाली जनसम्पर्क समिति अमेरिका, भर्जिनिया च्याप्टरका सभापति यामकुमार सिटौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा आरणले वीपी कोइरालाको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको विचारलाई वर्तमान सन्दर्भसँग जोड्दै विदेशमा रहेका नेपालीहरूले आफ्नो ज्ञान, सीप, अनुभव र क्षमतालाई नेपालको विकाससँग जोड्न सक्ने बताए।
उनका अनुसार अमेरिकामा रहेका नेपालीहरूले नेपालको भाषा, साहित्य, संस्कृति र संगीतको प्रवर्द्धन गर्न, नेपाल भ्रमणमार्फत पर्यटन विकासमा सहयोग गर्न, नेपाली उत्पादनको प्रवर्द्धन गर्न तथा आफ्नो सीप, पूँजी र अनुभवलाई नेपालसँग जोड्न सक्छन्।
कार्यक्रममा वीपी कोइरालाको राजनीतिक तथा साहित्यिक योगदानमाथि विभिन्न वक्ताहरूले चर्चा गरेका थिए।
वीपी कोइरालाका विचार र कृतिहरूका अध्येता डा. गोपी उप्रेतीले वीपीको ऐतिहासिक राजनीतिक व्यक्तित्व, प्रजातान्त्रिक समाजवाद, लोकतन्त्र, राष्ट्रियता र राष्ट्र निर्माणसम्बन्धी विचारबारे विश्लेषण प्रस्तुत गरे। उनले साहित्यिक यात्रा र समाजवादी राजनीतिक यात्रालाई समान रूपमा अघि बढाउन सक्ने अद्वितीय क्षमता वीपीमा रहेको बताए।
नेपालको राजनीतिक इतिहासका प्रमुख नेता सूर्यप्रसाद उपाध्यायका नातिनी ज्वाइँसमेत रहेका डा. चिन्तामणि लामिछानेले वीपी कोइराला, सुवर्णशमशेर र गणेशमान सिंहबीचको एकता र विश्वासकै आधारमा नेपाली कांग्रेसले जनताको पक्षमा परिवर्तनका आन्दोलन अघि बढाउन सफल भएको स्मरण गरे।
उनले ती नेताहरूको जीवनमा देशप्रेम, जनताको हित र राष्ट्रको सुरक्षाबाहेक अन्य स्वार्थ नरहेको उल्लेख गर्दै अहिलेको नेपाली कांग्रेसलाई सुधारका लागि गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताए।
गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाका निवर्तमान अध्यक्ष डा. अर्जुन बन्जाडेले नेपाली जनसम्पर्क समिति अमेरिकाको स्थापना, वर्तमान अवस्था र भविष्यका चुनौतीबारे धारणा राख्दै संस्थालाई सामाजिक चरित्रसहित अघि बढाउनुपर्ने बताए।
नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्वकेन्द्रीय उपसभापति केशव बरालले आफू अब प्रत्यक्ष राजनीतिमा नरही सामाजिक अभियन्ताका रूपमा मात्र रहने स्पष्ट पार्दै नेतृत्वमा पुग्न चाहने व्यक्तिले आफूलाई इमानदार, निष्कलंक र निस्वार्थ प्रमाणित गर्नुपर्ने बताए।
अमेरिका नेपाल सहयोगी संस्थाका बोर्ड अफ ट्रस्टी अध्यक्ष केदारप्रसाद तिम्सिनाले वीपी कोइरालाको विचारबाट प्रभावित भएर आफू राजनीतिमा लागेको स्मरण गरे।
कार्यक्रममा नेपाली कांग्रेस झापा जिल्लाका कोषाध्यक्ष तथा समाजसेवी जलकुमार गुरुङले वीपीको विचारलाई नेपाली जनताको हित र कल्याणका लागि प्रयोग गर्न आफू प्रतिबद्ध रहेको बताए।
यस्तै अधिवेशन तयारी समितिका स्थानीय संयोजक राम मिश्रलगायतले पनि वीपीको विचार र योगदानबारे धारणा राखेका थिए।
उनले आगामी अधिवेशनको तयारीबारे जानकारी दिँदै सबैलाई सहयोग र सहभागिताका लागि आग्रह गरे।
च्याप्टरका उपसभापति हरी प्रसाद लामिछानेले वीपी कोइरालाको जीवनका अन्तिम क्षणका बारेमा चर्चा गरेका थिए ।
उनले बहुमतको सरकारलाई अपदस्त गरि सुन्दरीजलमा जेल जीवन विताउन वाध्य पारिएको, क्यान्सर रोगवाट पिडीत कोइरालाले जति समय वाँच्न सक्छु त्यतिन्जेल देश र जनताका लागि काम गर्छु भन्दै चिकित्सकहरुलाई सुनाएका सन्दर्भ उल्लेख गरेका थिए ।
कार्यक्रमका सभापति यामकुमार सिटौलाले वीपी कोइराला राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रियस्तरमा परिचित नेता भएको बताए।
उनले चीनका नेता माओत्सेतुङ, भारतका नेता जवाहरलाल नेहरू तथा अमेरिकी नेतृत्वले समेत वीपीलाई सम्मान गर्ने गरेको उल्लेख गरे।
सिटौलाले सिक्किम भारतमा विलय भएपछि नेपालको राष्ट्रिय सुरक्षाप्रति चिन्तित हुँदै वीपीले २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएको ऐतिहासिक प्रसंग पनि स्मरण गरे।
कार्यक्रम सञ्चालन नेपाली जनसम्पर्क समितिका नेता मुक्तिनाथ पन्तले गरेका थिए।
अमेरिकाका लागि कार्यवाहक राजदूत आरणको मन्तव्यको पूर्णपाठ
वीपी जयन्तीका अवसरमा आयोजित यस विचार गोष्ठीका सभापति तथा नेपाली जनसम्पर्क समिति अमेरिकाका भर्जिनिया च्याप्टरका सभापति आदरणीय याम सिटौलाज्यू, यस कार्यक्रममा उपस्थित सम्पूर्ण श्रद्धेय व्यक्तित्वहरू।
नेपालका पूर्वप्रधानमन्त्री, वरिष्ठ साहित्यकार तथा राजनीतिक व्यक्तित्व स्वर्गीय विश्वेश्वरप्रसाद (वीपी) कोइरालाका बारेमा मभन्दा अघि आदरणीय डा. गोपी उप्रेतीज्यूलगायतका वक्ताहरूले धेरै कुरा स्पष्ट रूपमा राखिसक्नुभएको छ।
मैले मेरो जेनेरेसनले बुझ्ने कुरा मात्र भन्न चाहन्छु। मेरो आकलनमा, मेरो जेनेरेसन हजुरहरूको जेनेरेसनभन्दा अलि पछिल्लो हो। मलाई थाहा छैन, तर मेरो जेनेरेसनले वीपी कोइरालाबाट बुझ्ने मुख्य कुरा भनेको उहाँको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको विचार हो।
यसबीचमा नेपालमा धेरै राजनीतिक उतारचढाव, विभिन्न घटनाक्रम र परिवर्तनहरू हुँदै अहिलेको अवस्थासम्म आइपुगेको छ। अहिले राजनीतिक दृष्टिकोण र विचार एउटा पक्ष हो भने जनताको अपेक्षा अर्को महत्वपूर्ण पक्ष बनेको छ। अहिले जनता सबैभन्दा बढी कुन सरकारले कस्तो डेलिभरी गर्छ, कस्तो सुशासन दिन्छ, जनताको जीवनमा कस्तो परिवर्तन ल्याउँछ, आर्थिक रूपान्तरण हुन्छ कि हुँदैन भन्ने कुरालाई प्राथमिकताका साथ हेर्छन्।
यस हिसाबले हेर्दा, हिजो २०१७ सालमा दुईतिहाइ बहुमतको सरकार बन्नु ठूलो अवसर थियो। तर त्यतिबेलाको विभिन्न परिवेश र घटनाक्रमका कारण त्यस अवसरको सही सदुपयोग हुन सकेन। अहिले नेपालमा फेरि लगभग त्यस्तै संयोग बनेको छ। अहिले पनि दुईतिहाइ बहुमतको सरकार छ, जसले आर्थिक रूपान्तरण र सुशासनका कुरा गरिरहेको छ।
यस सन्दर्भमा, वीपीको राष्ट्रिय एकता र राष्ट्रिय मेलमिलापको सिद्धान्तलाई जोडेर हेर्दा पनि आज हामी सबै एकजुट भएर सकारात्मक सहयोग गर्नुपर्ने आवश्यकता देखिन्छ। त्यो सहयोग आर्थिक रूपान्तरणका लागि, जनताको समस्या समाधानका लागि र सुशासन कायम गर्नका लागि हुनुपर्छ।
यहाँहरू अमेरिका जस्तो देशमा रहनुभएको छ। यहाँहरूले लामो अनुभव हासिल गर्नुभएको छ। यहाँहरू अत्यन्तै विद्वत् वर्ग हुनुहुन्छ। आदरणीय डा. गोपी उप्रेतीज्यूको अनुभव सुन्दा म आफैं छक्क परें। उहाँले गर्नुभएको योगदान र संघर्षका कथाहरू सुन्दा मैले महसुस गरें—त्यो बेला त म सानो बच्चा मात्र थिएँ। यस्तो व्यक्तित्व अमेरिका जस्तो देशमा हुनुहुन्छ भन्ने कुरा हामी सबैका लागि गर्वको विषय हो।
वीपीले भन्नुभएको थियो—”देश वा राष्ट्र भनेको केवल भूगोल होइन, जनता हो।” यसको अर्थ आज झन् व्यापक भएको छ। अहिले नेपालीहरू विश्वभरि छरिएर रहेका छन्। त्यसैले अहिलेको नयाँ नेपालमा नेपाली जहाँ छन्, त्यही पनि नेपाल हो।
यस हिसाबले विदेशमा रहेका सम्पूर्ण नेपालीहरूको नेपाल निर्माणमा अझ ठूलो योगदान हुन सक्छ। यही नै आजको राष्ट्रको नयाँ परिभाषा पनि हो। यहाँहरूसँग अनुभव छ, क्षमता छ, देशका लागि केही गरौं भन्ने पूँजी छ। यहाँहरूले धेरै सिक्नुभएको छ, र राष्ट्रिय चिन्तनदेखि समग्र विकासका विषयमा पनि महत्वपूर्ण अनुभव हासिल गर्नुभएको छ।
त्यसैले अबको समयमा सकारात्मक तरिकाले नेपाल निर्माण गर्न, नेपालको विकास गर्न र समुन्नत नेपाल बनाउन सबैले सकारात्मक सहयोग गर्नुपर्छ भन्ने मलाई लाग्छ।
यहाँहरूले अमेरिका बसेर नेपाली साहित्य, संस्कृति र संगीतको संरक्षण तथा विस्तारका लागि काम गर्न सक्नुहुन्छ। हरेक वर्ष आफ्नो परिवारसहित नेपाल भ्रमण गरेर पर्यटन प्रवर्द्धन गर्न सक्नुहुन्छ। नेपालका उत्पादनहरू अमेरिकामा प्रवर्द्धन गरेर व्यापार विस्तार गर्न सक्नुहुन्छ। यहाँसँग भएको पूँजी, सीप र क्षमतालाई नेपालमा लगानीका रूपमा विस्तार गर्न सक्नुहुन्छ।
अर्को सबैभन्दा ठूलो कुरा भनेको सकारात्मक सन्देश र सकारात्मक वातावरण सिर्जना गर्नु पनि हो। आदरणीय अध्यक्षज्यूले पनि भन्नुभयो—आजको विचार गोष्ठीमा हामी केवल सकारात्मक कुरा गर्छौं। यो वास्तवमै राम्रो कुरा हो। यही नै आजको समयको माग हो। हामीले सबै कुरालाई सकारात्मक रूपमा हेर्नुपर्छ। त्यसपछि मात्र नेपालको विकास सम्भव हुन्छ, सम्पूर्ण नेपालीको गरिमा बढ्छ र हाम्रो राष्ट्रिय पहिचान अझ सुदृढ हुन्छ भन्ने मलाई लाग्दछ।
अन्त्यमा, वीपी स्मृति दिवसका अवसरमा आदरणीय विश्वेश्वरप्रसाद कोइरालाप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्दछु। साथै, आजको यस कार्यक्रमको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै आफ्नो भनाइ यहीँ समाप्त गर्दछु।
धन्यवाद। नमस्कार।















