१९ वर्ष शरणार्थी शिविरमा बिताएका मित्र सुवेदी अब अमेरिकाको नीति निर्माण तहमा
सहयात्री ढकाल,
कोलम्बस, ओहायो / कुनै समय आफ्नो भविष्यको टुङ्गो नलागेको अवस्थामा नेपालको शरणार्थी शिविरमा जीवन बिताएका मित्र सुवेदी अहिले अमेरिकी राज्यको नीति निर्माण गर्ने तहमा पुगेका छन् । भुटानबाट विस्थापित भएर नेपालमा १९ वर्ष शरणार्थी जीवन विताएका सुवेदी केन्टकी राज्यको प्रतिनिधिसभामा निर्वाचित भएका छन् । यो सफलता उनको व्यक्तिगत राजनीतिक यात्राको उपलब्धि मात्र नभई नेपालीभाषी भुटानी समुदायको अमेरिकी सार्वजनिक जीवनमा बढ्दो उपस्थितिको एउटा महत्त्वपूर्ण अध्याय बनेको छ।
नोभेम्बर ३, २०२६ मा सम्पन्न निर्वाचनमा केन्टकी राज्यको ३०औँ निर्वाचन क्षेत्रबाट विजयी भएका सुवेदी केन्टकीको पहिलो पूर्वशरणार्थी तथा पहिलो नेपालीभाषी भुटानी राज्य विधायक बनेका छन् ।
उनको विजयले शरणार्थी पहिचान बोकेर नयाँ देशमा स्थापित हुन खोजिरहेका हजारौँ मानिसका लागि सार्वजनिक नेतृत्वसम्म पुग्ने सम्भावनालाई उजागर गरेको छ।
विस्थापनको पीडाबाट नयाँ भविष्यको खोजी
सुवेदीको जीवनयात्रा भुटानको चिराङ जिल्लास्थित गोपेनि गाउँबाट सुरु हुन्छ। सन् १९९२ मा भुटानबाट विस्थापित भएपछि उनको परिवार नेपाल आइपुग्यो। त्यसपछि उनले नेपालको शरणार्थी शिविरमा १९ वर्ष बिताए।
शरणार्थी जीवन सहज थिएन। अनिश्चित भविष्य, सीमित अवसर र अनेकौँ चुनौतीबीच पनि उनले शिक्षालाई आफ्नो जीवन परिवर्तनको माध्यम बनाए । शिविरमै रहँदा अध्ययनलाई निरन्तरता दिएका सुवेदीले त्रिभुवन विश्वविद्यालयबाट सन् २००९ मा स्नातकोत्तर उपाधि हासिल गरे ।
लामो प्रतीक्षापछि सन् २०११ मा तेस्रो देश पुनर्वास कार्यक्रममार्फत उनी अमेरिका आइपुगे । नयाँ देशमा नयाँ जीवन सुरु गर्ने क्रममा उनले शिक्षणसम्बन्धी प्रमाणपत्र हासिल गरे र शिक्षकका रूपमा आफ्नो व्यावसायिक यात्रा अघि बढाए ।
उनी केन्टकी राज्यमा जेफरसन काउन्टी पब्लिक स्कुलअन्तर्गत फर्न क्रिक हाई स्कूलमा शिक्षक बने । शरणार्थी शिविरमा अध्ययन र भविष्यका लागि संघर्ष गरेको अनुभवले उनलाई शिक्षाको महत्त्व बुझाएको छ। त्यसैले शिक्षा उनको व्यावसायिक पहिचानसँगै सार्वजनिक सरोकारको विषय पनि बनेको देखिन्छ।
समुदायको सेवाबाट सार्वजनिक नेतृत्वसम्म
सुवेदीको सामाजिक सक्रियता शिक्षण पेसासँगै अघि बढ्यो। उनले भुट्नीज सोसाइटी अफ केन्टकी (बीएसके) को कार्यकारी निर्देशकका रूपमा जिम्मेवारी निर्वाह गरे । उक्त भूमिकाले उनीलाई नेपालीभाषी भुटानी समुदायको सामाजिक आवश्यकता, पुनर्वासपछिका चुनौती र सामुदायिक सशक्तीकरणका विषयसँग नजिक हुन झन मद्दत गर्यो ।
हाल उनी भुट्नीज अमेरिकन हिन्दु सोसाइटी अर्थात् सनातन हिन्दु मन्दिरको कार्यकारी निर्देशकका रूपमा कार्यरत छन् । सामुदायिक सेवा, सांस्कृतिक संरक्षण र सामाजिक एकताका क्षेत्रमा उनको संलग्नता निरन्तर रहँदै आएको छ।
शरणार्थी तथा आप्रवासी समुदायका समस्या नजिकबाट अनुभव गरेका सुवेदीको सार्वजनिक जीवनमा सामाजिक सेवाले महत्त्वपूर्ण स्थान ओगटेको छ। यही अनुभवलाई राजनीतिक प्रतिनिधित्वमार्फत व्यापक समुदायको हितमा उपयोग गर्ने अवसर अब उनी सामु आएको छ।
५० मतको अन्तरले रोकिएको पहिलो प्रयास, दोस्रो प्रयासमा सफलता
सुवेदीको निर्वाचन यात्रा सहज थिएन। सन् २०२४ मा उनले केन्टकी राज्य प्रतिनिधिसभाको जिल्ला ३० बाट डेमोक्रेटिक पार्टीको उम्मेदवारीका लागि प्रतिस्पर्धा गरे । तर पहिलो प्रयासमा उनी बाहालवाला विधायक ड्यानियल ग्रसबर्गसँग ५० मतले पछि परे ।
त्यसबेला ग्रसबर्गले १ हजार ६२९ मत प्राप्त गर्दा सुवेदीले १ हजार ५७९ मत ल्याएका थिए । थोरै मतको अन्तरले पराजित भए पनि उनले राजनीतिक यात्रालाई निरन्तरता दिए ।
सन् २०२६ मे १९ मा सम्पन्न डेमोक्रेटिक पार्टीको प्राइमरी निर्वाचनमा उनले २ हजार ९५ मत प्राप्त गर्दै पार्टीको उम्मेदवारी सुरक्षित गरे । प्रतिस्पर्धी क्यासी लाइल्सले १ हजार ४९५ र ड्यानियल ग्रसबर्गले १ हजार ९६ मत प्राप्त गरेका थिए।
यसपछि नोभेम्बर ३ मा सम्पन्न आम निर्वाचनमा सुवेदीले ८ हजार २३४ मत प्राप्त गर्दै विजय हासिल गरे । यसरी दुई वर्षअघि ५० मतले पछि परेका उनी दोस्रो प्रयासमा निर्वाचित प्रतिनिधि बन्न सफल भए । उनको कार्यकाल सन् २०२७ जनवरी देखि सुरु हुनेछ।
निर्वाचन अभियानमा शिक्षा, आवास र सुरक्षित समुदाय
सुवेदीले निर्वाचन अभियानका क्रममा स्थानीय नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका विषयलाई प्राथमिकतामा राखेका थिए । सुरक्षित छिमेक, सर्वसुलभ आवास, सार्वजनिक विद्यालयका लागि पर्याप्त बजेट र यातायात सेवाको विस्तार उनका प्रमुख चुनावी प्रतिबद्धता थिए।
शिक्षकका रूपमा काम गरिसकेका सुवेदीले सार्वजनिक शिक्षाको गुणस्तर र विद्यालयमा पर्याप्त स्रोतसाधनको आवश्यकतालाई महत्त्व दिए । विद्यार्थीले समान अवसर पाउनुपर्ने, विद्यालयहरूलाई आवश्यक बजेट उपलब्ध हुनुपर्ने र शिक्षाको पहुँच विस्तार हुनुपर्ने विषय उनका प्राथमिकतामा छन्।
त्यस्तै, आर्थिक रूपमा धान्न सकिने आवास, सुरक्षित समुदाय र प्रभावकारी यातायात सेवा पनि उनको निर्वाचन अभियानका प्रमुख मुद्दा थिए।
अब निर्वाचित प्रतिनिधिका रूपमा यी प्रतिबद्धतालाई राज्यको नीति, बजेट र कानुन निर्माण प्रक्रियासँग कसरी जोड्नुहुन्छ भन्ने विषय उनको आगामी कार्यकालको महत्त्वपूर्ण परीक्षण हुनेछ।
नेपालीभाषी भुटानी समुदायको प्रतिनिधित्वमा नयाँ अध्याय
अमेरिकामा पुनर्वास भएका नेपालीभाषी भुटानी समुदायले पछिल्ला वर्षहरूमा शिक्षा, व्यवसाय, साहित्य, कला, सामाजिक सेवा र सामुदायिक नेतृत्वका क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्दै आएका छन्। तर राज्यको विधायिकासम्म पुग्नु समुदायको सार्वजनिक प्रतिनिधित्वका दृष्टिले अर्को महत्त्वपूर्ण उपलब्धि हो।
नेपालका शरणार्थी शिविरमा जीवन बिताएको अनुभव भएका व्यक्ति अमेरिकी राज्यको नीति निर्माण गर्ने तहमा पुग्नुले विस्थापनको इतिहास बोकेको समुदायको बदलिँदो सामाजिक अवस्थालाई पनि देखाउँछ।
सुवेदीको निर्वाचनले नयाँ पुस्ताका लागि अर्को सन्देशसमेत दिएको छ—जन्मभूमिबाट विस्थापित हुनु जीवनको अन्तिम परिचय होइन। शिक्षा, निरन्तर प्रयास, सामाजिक सहभागिता र सार्वजनिक सेवाप्रतिको प्रतिबद्धताले नयाँ समाजमा जिम्मेवार भूमिका निर्माण गर्न सकिन्छ।
यद्यपि उनको जिम्मेवारी कुनै एउटा समुदायको प्रतिनिधित्वमा मात्र सीमित रहने छैन। केन्टकीको ३०औँ निर्वाचन क्षेत्रका सबै नागरिकको प्रतिनिधित्व गर्दै राज्यको कानुन निर्माण, बजेट विनियोजन र सार्वजनिक नीतिका विषयमा काम गर्नु उनको संवैधानिक तथा राजनीतिक दायित्व हुनेछ।
इतिहास बन्यो, अब परिणामको प्रतीक्षा
भुटानको चिराङ जिल्लाबाट सुरु भएको जीवनयात्रा, नेपालको शरणार्थी शिविरमा बितेका १९ वर्ष, अमेरिकामा पुनर्वासपछिको संघर्ष, शिक्षण पेसा र सामुदायिक नेतृत्व हुँदै सुवेदी अहिले केन्टकी राज्यको विधायक बनेका छन् ।
यो यात्रालाई केवल निर्वाचन जितेको घटनाका रूपमा मात्र हेर्न मिल्दैन। यसमा विस्थापनको पीडा, शिक्षाप्रतिको लगाव, समुदायप्रतिको जिम्मेवारी र सार्वजनिक जीवनमा सहभागी हुने दृढ इच्छाशक्ति जोडिएको छ।
तर ऐतिहासिक विजयसँगै अब उनीसामु ठूलो जिम्मेवारी पनि आएको छ। निर्वाचनका क्रममा व्यक्त गरिएका प्रतिबद्धतालाई व्यवहारमा उतार्नु, नागरिकका आवश्यकता सम्बोधन गर्नु र राज्यको नीति निर्माणमा प्रभावकारी भूमिका निर्वाह गर्नु उनको आगामी कार्यकालका मुख्य चुनौती हुनेछन्।
१९ वर्ष शरणार्थी शिविरमा बिताएको व्यक्तिले आज राज्यको कानुन निर्माण गर्ने जिम्मेवारी पाउनु एउटा असाधारण जीवनयात्राको परिणाम हो। मित्र सुवेदीको यो उपलब्धिले नेपालीभाषी भुटानी समुदायको इतिहासमा नयाँ राजनीतिक अध्याय थपेको छ। अब उनको काम र कार्यसम्पादनले यस ऐतिहासिक उपलब्धिको वास्तविक अर्थ स्थापित गर्नेछ।


















