पेन्सिलभेनियाका पूर्व सांसद जेसी ह्वाइट माथि बाल यौनदुराचारको मुद्दा, एफबीआइद्वारा घरमा छापा
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / पेन्सिल्भेनिया राज्य संसदका पूर्व सांसद जेसी ह्वाइट माथि बाल यौन दुराचारको आरोपमा मुद्दा दायर भएको छ ।
स्थानीय सञ्चार माध्यमका अनुसार मंगलवार एफबीआईले जेसी ह्वाइटको मेकानिसबर्ग स्थित घरमा छापा समेत मारेको छ ।
उनीमाथि नाबालिग किशोर-किशोरीहरूको यौनजन्य अश्लील सामग्री तस्बिर र भिडियोहरू राखेको आरोप लागेको छ।
जेसी ह्वाइटले सन् २००७ देखि २०१५ सम्म पेन्सिलभेनिया हाउस अफ रिप्रिजेन्टेटिभ्समा ४६औँ डिस्ट्रिकको प्रतिनिधि थिए ।
घटना कसरी बाहिरियो ?
पूर्व सांसदले अश्लील सामग्री आफ्नो निजी कम्युटरमा राखेका हुन् । यो कुरा ‘नेसनल सेन्टर फर मिसिङ एन्ड एक्स्प्लोइटेड चिल्ड्रेन’ (एनसीएमइसी ) लाई गत जुन १९ मा प्राप्त उजुरी पछि बाहिर आएको हो ।
उक्त उजुरीमा बाल पोर्नोग्राफीको ओसारपसार र भण्डारण भएको उल्लेख थियो।
अनुसन्धानबाट यो कार्यमा डेमोक्र्याटिक पूर्व राज्य प्रतिनिधि (सांसद) जेसी ह्वाइट संलग्न रहेको खुल्यो। मंगलबार एफबीआईले मेकानिक्सबर्गस्थित ह्वाइटको निवासमा सर्च वारेन्ट जारी गर्दै छापा मारेको थियो ।
एनसीएमइसी सँग इन्टरनेटमा बाल अश्लीलता सम्बन्धी फाइलहरू पहिचान गर्ने स्वचालित सफ्टवेयरहरू हुन्छन्। जब ह्वाइटले कुनै फाइल डाउनलोड वा अपलोड गरे, तब त्यो फाइलको डिजिटल कोड म्याच भयो र प्रणालीले उनीमाथि शंका गर्यो ।
यसरी एउटा अनलाइन अलर्टबाट सुरु भएको अनुसन्धान सिधै उनको घरको छापामारी र गिरफ्तारीसम्म पुगेर यो घटना पूर्ण रूपमा बाहिर आयो।
एफबीआई अधिकारीका अनुसार छापा मार्ने क्रममा अधिकारीहरूले उनको घरमा रहेको कम्प्युटर र हार्ड ड्राइभहरू जफत गरे। एउटा ल्यापटपमा ७ देखि १५ वर्ष उमेर समूहका नाबालिगहरूका थुप्रै अश्लील तस्बिर तथा फाइलहरू फेला परेका छन् ।
ह्वाइटले यी सामग्रीहरू हेर्न र डाउनलोड गर्नका लागि ‘टेलिग्राम’ र ‘टोर ब्राउजर’ प्रयोग गरेको कुरा एजेन्टहरू समक्ष स्वीकार गरेको जनाइएको छ । उनी माथि अहिले संघीय मुद्दा चलाइएको छ।
के हो एनसीएमइसी
‘नेसनल सेन्टर फर मिसिङ एन्ड एक्स्प्लोइटेड चिल्ड्रेन’ ( एनसीएमइसी) भनेको अमेरिकाको एक गैर-नाफामूलक तर अमेरिकी कंग्रेसद्वारा स्थापित आधिकारिक संस्था हो। यसको स्थापना सन् १९८४ मा भएको हो।
यसले अमेरिकी सरकार र प्रहरी प्रशासनसँग प्रत्यक्ष मिलेर काम गर्छ। यस संस्थाका मुख्य कामहरूमा अपहरणमा परेका वा हराएका बालबालिकाहरूको खोजी गर्न प्रहरी र परिवारलाई मद्दत गर्नु, इन्टरनेट वा समाजमा बालबालिकामाथि हुने यौन शोषण र दुर्व्यवहार रोक्न यसले केन्द्रिय भूमिका खेल्छ ।
यस्तै इन्टरनेटमा बालबालिका सम्बन्धी अश्लील सामग्री कतै देखिएमा सर्वसाधारण वा फेसबुक, गुगल जस्ता प्राविधिक कम्पनीहरूले यहाँ उजुरी गर्छन्। साथै प्राप्त भएका उजुरीहरू र डिजिटल प्रमाणहरू जाँच गरेर यसले तत्काल एफबीआइ वा स्थानीय प्रहरीलाई कारबाहीका लागि बुझाउँछ।
अर्को तर्फ बालबालिकालाई इन्टरनेटमा कसरी सुरक्षित राख्ने भन्नेबारे शिक्षामूलक कार्यक्रमहरू पनि चलाउँछ।
‘टेलिग्राम’ र ‘टोर ब्राउजर’ के हो ?
टेलिग्राम ह्वाट्सएप वा भाइबर जस्तै एउटा मेसेजिङ एप हो। तर, यसमा ठुला-ठूला गोप्य ग्रुप वा च्यानलहरू बनाउन मिल्छ र ‘इन्ड-टु-इन्ड इन्क्रिप्सन’ का कारण म्यासेजहरू निकै सुरक्षित र गोप्य रहन्छन्।
कतिपय अपराधीहरूले यसको गोपनीयताको फाइदा उठाएर अवैध सामग्रीहरू आदानप्रदान गर्न यसलाई माध्यम बनाउने गर्छन्।
टोर ब्राउजर गुगल क्रोम वा फायरफक्स जस्तै एउटा इन्टरनेट ब्राउजर हो। तर, यसले प्रयोगकर्ताको स्थान (आइपी ठेगान ) र पहिचानलाई पूर्ण रूपमा लुकाइदिन्छ ।
के हुँदा बाल यौन दुराचार मानिन्छ ?
कानुनी र सामाजिक रूपमा, १८ वर्षमुनिका बालबालिकालाई कुनै पनि प्रकारको यौनजन्य गतिविधिमा संलग्न गराउनु वा त्यसको प्रयोग गर्नु बाल यौन शोषण हो। यस अन्तर्गत निम्न कुराहरू पर्दछन् ।
बालबालिकाको नग्न वा यौनजन्य तस्बिर र भिडियोहरू खिच्नु, बनाउनु, वा आफ्नो मोबाइल, कम्प्युटरमा राख्नु पनि अपराध मानिन्छ । यस्तै त्यस्ता आपत्तिजनक सामग्रीहरू इन्टरनेट, सामाजिक सञ्जाल वा मेसेजिङ एपहरू मार्फत अरूलाई पठाउनु वा सेयर गर्नु पनि गैर कानुनी हो ।
इन्टरनेटमा फेक आइडी बनाएर वा फकाएर बालबालिकाहरूसँग सम्बन्ध बढाउनु र पछि उनीहरूलाई नग्न तस्बिरहरू पठाउन दबाब दिनु, बालबालिकालाई कुनै पनि बहानामा यौनजन्य कार्यमा प्रयोग गर्नु वा आर्थिक प्रलोभन देखाएर शोषण गर्नु अपराध हो ।














