पेन्सिल्भेनियामा आइसद्वारा भारतीय ट्रक चालक पक्राउ
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / पेन्सिल्भेनियाको न्यूबेरीस्थित तौल जाँच केन्द्रमा व्यावसायिक सवारीसाधन निरीक्षणका क्रममा युएस् इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) ले भारतका एक ट्रक चालकलाई पक्राउ गरेको छ।
न्यूयोर्क राज्यबाट जारी गरिएको कमर्सियल ड्राइभर लाइसेन्स (सीडीएल) बोकेका ती चालकविरुद्ध तारमार्फत ठगी (वायर फ्रड) सम्बन्धी पक्राउ पुर्जीसमेत रहेको अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरीटी (डीएचएस) ले सोमबार जारी गरको विज्ञप्तीमा जनाइएको छ ।
डीएचएसका अनुसार सेप्टेम्बर ४ मा आईसीईको इन्फोर्समेन्ट एन्ड रिमुभल अपरेसन्स (ईआरओ) फिलाडेल्फियाका एक अधिकारीले पेन्सिल्भेनियाको न्यूबेरीस्थित तौल जाँच केन्द्रमा व्यावसायिक सवारीसाधनको निरीक्षण गरिरहेका थिए। सो क्रममा एक चालकले आवश्यक जाँचका लागि आफ्नो सीडीएल प्रस्तुत गरेपछि उनको पहिचान सिमरनपाल सिंहका रूपमा खुलेको थियो।
सिंह भारतका नागरिक तथा अमेरिकामा गैरकानुनी रूपमा बसेका व्यक्ति रहेको निर्धारण गरेपछि उनलाई नियन्त्रणमा लिएको डीएचएसले जनाएको छ।
सिंहविरुद्ध पेन्सिल्भेनियाको मिडल डिस्ट्रिक्टमा वायर फ्रड र वायर फ्रड कन्स्पिरेसी सम्बन्धी पक्राउ पुर्जी रहेको बताइएको छ। उनलाई हाल आईसीईको हिरासतमा राखिएको छ र अमेरिकी मार्शल सर्भिसमा हस्तान्तरण गरिने डीएचएसले जनाएको छ।
आपराधिक मुद्दाको प्रक्रिया पूरा भएपछि आईसीईले पुनः हिरासतमा लिएर उनको निष्कासनसम्बन्धी प्रक्रिया अघि बढाउने बताइएको छ। डीएचएसका अनुसार यस क्रममा उनलाई कानुनी प्रक्रियाअनुसार आफ्नो पक्ष राख्ने अवसर दिइनेछ।
सिंह जुन २०२२ मा एरिजोनाबाट अमेरिका प्रवेश गरेको र त्यसपछि अमेरिकी सीमा गस्ती (बोर्डर पेट्रोल) ले पक्राउ गरेको डीएचएसको विज्ञप्तिमा उल्लेख छ। पछि उनलाई बाइडेन प्रशासनको समयमा अमेरिकामै रिहा गरिएको विभागको दाबी छ।
डीएचएस सचिव मार्कवेन मुलिनले सिंहसँग न्यूयोर्क राज्यबाट जारी गरिएको सीडीएल हुनुका साथै वायर फ्रडसम्बन्धी पक्राउ पुर्जीसमेत रहेको भन्दै न्यूयोर्कका आप्रवासन नीतिको आलोचना गरेका छन्।
मुलिनले न्यूयोर्कका गभर्नर क्याथी होकुल नेतृत्वको राज्य सरकारको नीतिलाई लक्षित गर्दै यस्ता नीतिका कारण अन्य राज्यमा समेत समस्या उत्पन्न भएको दाबी गरेका छन्। उनले आईसीईका अधिकारीले सिंहलाई पक्राउ गरेर सडकबाट हटाएको भन्दै यसले अमेरिकी जनताको सुरक्षा गर्न सहयोग पुगेको बताएका छन्।
डीएचएसले न्यूयोर्कबाट जारी सीडीएल बोकेका गैरकानुनी आप्रवासी ट्रक चालकसँग सम्बन्धित अन्य घटनासमेत उल्लेख गरेको छ। विभागका अनुसार मार्चमा भारतका नागरिक सुखदेव सिंहलाई इन्डियानापोलिसमा सेमी–ट्रक चलाउने क्रममा दुर्घटना गराई एक अमेरिकी नागरिकलाई गम्भीर घाइते बनाएको आरोपमा आईसीईले पक्राउ गरेको थियो। उनलाई पनि न्यूयोर्कबाट सीडीएल जारी गरिएको डीएचएसको दाबी छ।















