सोसल सेक्युरिटी एड्मिनिस्ट्रेशनद्वारा डिसेबिलिटीका लागि अनलाइन सुविधाको घोषणा
बाल्टिमोर,मेरिल्याण्ड / सोसल सेक्युरिटी एड्मिनिस्ट्रेशन (एसएसए) ले डिसेबिलिटी दाबीका लागि अनलाइन सुविधाको घोषणा गरेको छ ।
एसएसएद्वारा मंगलवार जारी गरिएको प्रेस विज्ञप्तिमा ‘माई सोसल सेक्युरिटी’ मा ठुला सुधारहरू गर्ने घोषणा गरेको छ, जसले अपाङ्गता दाबी र पुनरावेदन प्रक्रियामा रहेका व्यक्तिहरूका लागि स्व-सेवा विकल्पहरू र उपलब्ध सूचनाहरूलाई विस्तार गर्नेछ।
‘यी नयाँ उपकरणहरूले व्यक्तिहरूलाई अपाङ्गता दाबीको सम्पूर्ण थप स्पष्टता, जानकारीमा छिटो पहुँच, र बढी प्रभावकारी मुद्दा प्रक्रिया उपलब्ध गराउनेछन्।’ विज्ञप्तिमा भनिएको छ ।
कमिसनर फ्र्याङ्क जे. बिसिग्नानो सामाजिक सुरक्षा सुविधाहरू अझ सजिलो र आत्मविश्वासका साथ व्यवस्थापन गर्न सशक्त बनाइएको बताए ।
“हाम्रो डिजिटल-फर्स्ट सेवा दृष्टिकोण अब ‘क्लेम स्टेटस ट्र्याकर’, डिजिटल सूचनाहरूको विस्तार, र अनलाइन कागजात पेस गर्ने सुविधामार्फत अपाङ्गता सेवासम्म विस्तार हुँदैछ, जसले एसएसएलाई अमेरिकी जनताका लागि अझ राम्रो परिणामहरू प्रदान गर्न सक्षम बनाउँछ।” उनले भने,”अनलाइनमा थप उपकरणहरू उपलब्ध गराएर, हामी दाबीकर्ताहरूलाई सूचित रहन र आफ्नो सामाजिक सुरक्षा सुविधाहरू अझ सजिलो र आत्मविश्वासका साथ व्यवस्थापन गर्न सशक्त बनाउँदैछौं।”
अब अपाङ्गता न्यायिक फारमहरू अनलाइन पेस गर्न सकिने छ । व्यक्तिहरूले अब आफ्नो व्यक्तिगत ‘माई सोसल सेक्युरीटी’ खातामार्फत सिधै अपाङ्गता न्यायिक फारमहरू भर्न र पेस गर्न सक्छन् ।
जसमा हालैको चिकित्सा उपचार, औषधिको जानकारी, कामको पृष्ठभूमि चाहिने छ ।
अनलाइन पेस गर्ने सुविधाले निर्णयकर्ताहरूले जानकारी छिटो प्राप्त गर्ने कुरा सुनिश्चित गर्दछ र थप प्रभावकारी मुद्दा प्रक्रियालाई मद्दत गर्ने विश्वास एसएसआइले लिएको छ ।
डिसेबिलिटि बेनिफिट के हो र कसले पाउँछन् ?
सोसल सेक्युरिटी एड्मिनिस्ट्रेशनद्वारा शारीरिक वा मानसिक रूपमा काम गर्न नसक्ने व्यक्तिहरूलाई दिइने आर्थिक सहायता डिसेबिलिटी बेनिफिट हो ।
अमेरिकामा यस अन्तर्गत मुख्य दुईवटा कार्यक्रमहरू छन् । एसएसएले कुनै पनि व्यक्तिलाई तब मात्र अपाङ्ग मान्दछ, जसले आफ्नो स्वास्थ्य समस्याका कारण कुनै पनि प्रकारको काम गर्न सक्दैन र स्वास्थ्य समस्या कम्तीमा १ वर्ष सम्म रहने खालको हुनुपर्छ । अझ भनौँ त्यसले ज्यान जाने जोखिम हुनुपर्छ।
अमेरिकामा यो भत्ता पाउनका लागि मुख्य दुईवटा फरक कार्यक्रमहरू छन्। तपाईँ कुनमा योग्य हुनुहुन्छ भन्ने कुरा तपाईँको कामको इतिहास र आम्दानीमा भर पर्छ ।
“सोसल सेक्युरिटी डिसाबिलिटी इन्स्योरेन्स” जसलाई छोटकरीमा एसएसडीआइ भनिन्छ । यो कार्यक्रम ती व्यक्तिहरूका लागि हो जसले विगतमा काम गरेर ट्याक्स तिरेका छन्।
यो सुविधा पाउनका लागि तपाईँले अमेरिकामा कानुनी रूपमा काम गरेर ‘वर्क क्रेडिट’ कमाएको हुनुपर्छ । सामान्यतया १० वर्ष काम गरेको हुनुपर्छ, तर युवाहरूको हकमा कम समय भए पनि हुन्छ।
तपाईँको बैंक खातामा कति पैसा छ वा कति सम्पत्ति छ भन्ने कुराले यसमा फरक पार्दैन। यो तपाईँले पहिले कमाएको आधारमा दिइन्छ।
दोस्रो “सप्लिमेन्टल सेक्युरिटी इन्कम” एसएसआइ । यो कार्यक्रम कम आम्दानी र थोरै सम्पत्ति भएका व्यक्ति, वृद्धवृद्धा र अपाङ्गता भएका बालबालिकाहरूका लागि हो।
यसका लागि पहिले काम गरेर कर तिरेको हुनुपर्दैन। तर, तपाईँको आम्दानी र सम्पत्ति एकदमै कम हुनुपर्छ ।
पूर्ण अपाङ्गता भएका वा दृष्टिविहीन भएका वयस्क र बालबालिकाहरू। ६५ वर्ष वा सोभन्दा माथिका कम आम्दानी भएका वृद्धवृद्धाहरू जो अपाङ्गता नभए पनि योग्य हुन सक्छन्।
यसका लागि अमेरिकी नागरिक वा केही निश्चित सर्तहरू पूरा गरेका ग्रीन कार्डधारी हुनुपर्छ। कतिपय राज्यहरूले ग्रीनकार्ड दिएको पाँच वर्ष पुरा भएकाहरूलाई मात्र यस्तो सुविधा दिने गरेका छन्।
आवेदन दिन के-के चाहिन्छ?
यदि तपाईँ वा तपाईँको परिवारको कोही सदस्य यसका लागि योग्य हुनुहुन्छ र आवेदन दिन चाहनुहुन्छ भने मुख्यतया यी कुराहरू आवश्यक पर्छन्:
डाक्टरको रिपोर्ट, अस्पताल भर्ना भएको विवरण र खाँदै गरेको औषधिको सूची । तपाईँले पहिले गरेका कामहरूको विवरण । नागरिकता वा ग्रीन कार्डको प्रमाण।
तपाईँले www.ssa.gov मा गएर आवेदन प्रक्रिया सुरु गर्न सक्नुहुन्छ।
कति पैसा पाइन्छ
एसएसआइमा सरकारले तोकेको एउटा निश्चित रकम हुन्छ। यदि तपाईँको अन्य कुनै आम्दानी छैन भने, २०२६ मा पाइने अधिकतम रकम प्रति व्यक्ति अधिकतम ९९४ डलर प्रति महिना हुन्छ । यस्तै दम्पती दुवै योग्य भएमा अधिकतम १४ सय ९१ प्रति महिना पाइन्छ । तर यो रकम राज्य अनुसार फरक हुन सक्छ ।
यदि तपाईँको अन्य स्रोतबाट आम्दानी छ वा कसैले तपाईँलाई बस्ने,खाने खर्चमा (व्यक्तिगत चन्दा गोफण्ड)सहयोग गरेको छ भने यो रकम घट्न सक्छ।
एसएसआईडीमा सबैले बराबर पैसा पाउँदैनन्। तपाईँले बिरामी हुनुअघि कति वर्ष काम गर्नुभयो र कति कर तिर्नुभयो भन्ने आधारमा पैसा तय हुन्छ।
२०२६ को दर अनुसार औसत रकम सामान्यतया धेरैजसो व्यक्तिले महिनाको करिब १६ सय ३० डलर पाउँछन् । अधिकतम रकममा धेरै वर्षसम्म उच्च कमाइ गरेर धेरै कर तिर्नेहरूले महिनाको अधिकतम चार हजार भन्दा माथि सम्म पाउन सक्छन्।
कति रकम पाउने भन्ने राज्य अनुसार पनि फरक हुन सक्छ ।
















