कुकुर भुकेको निहुँमा विवाद, भाइले चक्कु प्रहार गरी दिदीको हत्या, अर्का भाइ घाइते
ल्यानक्यास्टर, पेन्सिलभेनिया / पेन्सिलभेनियाको ल्यानक्यास्टर काउन्टीको इस्ट हेम्पफिल्ड टाउनसिपमा एउटा बीभत्स घटना घटेको छ ।
स्थानीय प्रहरीले सार्वजनिक गरेको विवरणमा क्षणभरको आवेगमा एउटा परिवार तहस नहस हुन पुगेको छ ।
सोमवार बिहान ११०० ब्लक पर्सिमन ड्राइभमा कुकुर भुकेको सामान्य विषयलाई लिएर भएको घर भित्रको आन्तरिक विवादमा एक युवकले आफ्नै दिदीको चक्कु प्रहार गरी हत्या गरेका छन्।
दिदी माथि थुरा प्रहार रोक्न खोज्ने अर्का सानो भाइ समेत घाइते भएका छन्। घटना लगत्तै सोमवार नै प्रहरीले घटना स्थलमा कडा सुरक्षा दिएको थियो । हेलिकोप्टर समेत प्रयोग गरिएको थियो ।
स्थानीयका अनुसार घटनामा संलग्न तीनै जना एकै आमाबाबुका सन्तान हुन् । उनीहरूका आमाबुबा दुवै चिकित्सक भएको जनाइएको छ । त्यो घरमा सबै परिवार एक दशक भन्दा लामो समय देखि बस्दै आएका थिए ।
‘सोमबार बिहान आफ्नो घरमा भएको एउटा बीभत्स चक्कु आक्रमणमा आफ्नी दिदीको चक्कु प्रहार गरी हत्या गरेको र भाइलाई घाइते बनाएको अभियोगमा इस्ट हेम्पफिल्ड टाउनशिपका एक पुरुषमाथि मुद्दा दर्ता गरिएको छ।’ स्थानीय प्रहरीको रिपोर्टमा भनिएको छ ।
प्रहरीले सार्वजनिक गरेको रिपोर्ट अनुसार २६ वर्षीय संदिग्ध ब्रायन एडोल्फले कुकुर लगातार भुकेको विषयमा उनकी २८ वर्षीया दिदी एलिज एडोल्फ सँग विवाद भएको थियो ।
ब्रायनले धेरै भुकेको भन्दै कुकुरलाई मुक्का हानेपछि दिदी एलिजले त्यसको प्रतिवाद गरेकी थिइन्। विवाद बढ्दै जाँदा ब्रायनले भान्सा कोठाबाट चक्कु निकालेर दिदीमाथि अन्धाधुन्ध प्रहार गर्न थालेका थिए।
प्रहरीका अनुसार यो घटना सोमबार बिहान भएको हो । प्रहरी घटनास्थल पुग्दा एलिस घरभित्र रगतको आहालमा मृत अवस्थामा फेला परेकी थिइन् भने भाइ बाहिर छटपटाइरहेका थिए ।
संदिग्धले प्रहरी सँगको बयानमा करिब २० पटक सम्म छुरा प्रहार गरेको बताएका छन्।
‘उनले एउटा कुकुरको घाँटीको छाला समातेर नाकमा मुक्का हानेको र त्यो कुरा दिदीले सुनेको वा देखेपछि आफूसँग प्रतिवाद गर्न आएको बताए। त्यसपछि ब्रायन एडोल्फले भान्साको घर्राबाट केही साना चक्कुहरू निकालेर दिदीको घाँटीमा प्रहार गर्न थाले। ती चक्कुहरू भाँचेपछि उनले भान्साको करिब ६ इन्च लामो अर्को चक्कु लिएर लगातार प्रहार गरे। उनले आफूले दिदीलाई करिब २० पटक छुरा हानेको अनुमान गरेका छन्।’ प्रहरीको रिपोर्टमा भनिएको छ ।
दिदीलाई बचाउन प्रयास गर्दा उनका २४ वर्षीय अर्का भाइको हातमा चोट लागेको प्रहरीको विज्ञप्तीमा उल्लेख छ।
‘एडोल्फका २४ वर्षीय भाइले प्रहरीलाई बताएअनुसार, एडोल्फले घरभित्र उनी र एलिस दुवैलाई चक्कु प्रहार गरेका थिए, जसका कारण उनले आत्मरक्षार्थ ह्यान्डगन (बन्दुक) बोक्नुपरेको थियो। एडोल्फका भाइको पाखुरामा चक्कुले घोपेका थुप्रै घाउहरू देखिएका थिए र धेरै रगत बगिरहेको थियो।’
प्रहरीका अनुसार घाइते भाइलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ र हाल उनी त्यहाँ स्वास्थ्य लाभ गरिरहेका छन्।
प्रहरीका अनुसार आक्रमण लगत्तै संदिग्ध ब्रायन रगत पखाल्न १० सेकेन्ड जति नुहाएर घरबाट पैदलै भागेका थिए। घटनाको करिब डेढ घण्टापछि प्रहरीले उनलाई रुट ३० र गुड ड्राइभ नजिकैबाट नियन्त्रणमा लिएको थियो।
प्रहरीले ब्रायन एडोल्फमाथि आपराधिक हत्या, दुईवटा गम्भीर आक्रमण र अपराधका लागि हतियार प्रयोग गरेको अभियोग दर्ता गरेको छ।
मंगलबार बिहान भएको प्रारम्भिक सुनुवाइपछि न्यायाधीशले उनलाई धरौटी बिना नै ल्याक्यास्टर काउन्टी जेलमा चलान गर्न आदेश दिएका छन्।
यस मामिलाको अर्को सुनुवाइ आगामी अगस्ट ४ का लागि तोकिएको छ।














