विश्वकप फुटबल : अन्तिम क्षणको आत्मघाती गोलले अर्जेन्टिना अन्तिम १६ मा, केप भर्डे सम्मानका साथ बाहिरियो
गोबिन्द गुरुङ
कार्लाल, पेन्सिलभेनिया / साविक विजेता अर्जेन्टिना जारी विश्वकप फुटबलको प्रि-क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
विश्वकपको अन्तिम ३२ को रोमाञ्चक भिडन्तमा साविक विजेता अर्जेन्टिनाले अतिरिक्त समयको १११औँ मिनेटमा डाइने बोर्जेसको आत्मघाती गोलको मद्दतले विश्वकपमा पहिलो पटक सहभागी भएको केप भर्डेलाई ३–२ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो ।
फिफा विश्व वरीयतामा दोस्रो स्थानमा रहेको अर्जेन्टिनालाई ६४औँ स्थानको केप भर्डेले दुई पटक बराबरीमा फर्काउँदै ठुलो चुनौती दिएको थियो। निर्धारित ९० मिनेटसम्म खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो।
अतिरिक्त समयको दोस्रो मिनेटमै लिसान्द्रो मार्टिनेजले एलेक्सिस म्याक एलिस्टरको कर्नरबाट आएको बललाई शक्तिशाली प्रहार गर्दै अर्जेन्टिनालाई २–१ को अग्रता दिलाए।
११ मिनेटपछि सिड्नी लोपेस काब्रालले बायाँतर्फबाट उत्कृष्ट व्यक्तिगत कौशल देखाउँदै बक्सभित्रबाट घुमाउरो प्रहार गरे, जसले गोलकिपर एमिलियानो मार्टिनेजलाई झुक्याउँदै जाली चुम्यो। यो गोललाई विश्वकपकै उत्कृष्ट गोलमध्ये एक मानिएको छ।
खेलको अन्त्यतिर काब्रालले फेरि उत्कृष्ट अवसर सिर्जना गरे पनि एमिलियानो मार्टिनेजले शानदार बचाउ गर्दै अर्जेन्टिनालाई जोगाए। अन्ततः १११औँ मिनेटमा क्रिस्टियन रोमेरोको हेडर डाइने बोर्जेसबाट डिफ्लेक्ट हुँदै आत्मघाती गोलमा परिणत भएपछि अर्जेन्टिनाले ३–२ को कठिन जित निकाल्यो।
यसअघि खेलको २९औँ मिनेटमा कप्तान लियोनेल मेस्सीले लिसान्द्रो मार्टिनेजको लामो पासलाई सुन्दर ढङ्गले नियन्त्रणमा लिएर शानदार फिनिस गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। यो मेस्सीको विश्वकप करियरको २०औँ गोल थियो।
दोस्रो हाफमा डेरोय डुआर्टेले उत्कृष्ट रन बनाउँदै कठिन कोणबाट बललाई गोलकिपरको खुट्टामुनिबाट जालीमा पठाएर केप भर्डेलाई १–१ को बराबरीमा फर्काए। उक्त गोलपछि स्टेडियममा रहेका केप भर्डेका समर्थकहरू भावुक बनेका थिए।
मियामीमा हजारौँ अर्जेन्टिनी समर्थकको उपस्थितिमा खेलिएको यो खेलमा केप भर्डेले आफ्नो पहिलो विश्वकप नकआउट खेलमै ऐतिहासिक प्रदर्शन गर्दै विश्व फुटबलको ध्यान आकर्षित गर्यो।
केप भर्डेका ४० वर्षीय गोलकिपर भोजिन्हाले पनि उत्कृष्ट प्रदर्शन गरे। उनले मेस्सीसँगको एक–विरुद्ध–एक अवसरसहित आठ महत्त्वपूर्ण बचाउ गर्दै टोलीलाई लामो समयसम्म खेलमा कायम राखे।
खेलपछि अर्जेन्टिनाका खेलाडीहरू मेस्सी र एमिलियानो मार्टिनेज पराजित केप भर्डेका खेलाडीहरूलाई सान्त्वना दिएका थिए। यद्यपि केप भर्डे पराजित भएपनि उनीहरूको साहसी प्रदर्शनले विश्व फुटबलमा गहिरो छाप छोडेको छ।
तस्विर सौजन्य : फिफा

















