‘जुलाई फोर’ विकेन्डमा अत्यधिक गर्मी, विशेष सतर्कता अपनाउन अपिल
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / अमेरिकी स्वतन्त्रताको २५० औ वर्षगाँठ धूमधामले बनाउने तयारी भइरहँदा उखरमौलो गर्मीले सास्ती दिएको छ ।
सेन्टर पेन्सिल्भेनिया सहित अमेरिकाका उत्तर पूर्वी राज्यमा बिदाको सप्ताहान्तभरि लागु हुने गरी राष्ट्रिय मौसम सेवाले ‘अत्यधिक गर्मीको चेतावनी’ जारी गरेको छ।
जुलाई तीन तारिक शुक्रवार र जुलाई चार तारिक शनिवार यस क्षेत्रको तापक्रम र आर्द्रता खतरनाक स्तरमा पुग्ने भएकाले अधिकारीहरूले आपत्कालीन मौसमी अलर्ट जारी गरेका हुन्।
मौसम पूर्वानुमानका अनुसार शुक्रवार दिउँसो वास्तविक तापक्रम एक सय डिग्री फर्निहाइट (३८ डिग्री सेल्सियस) भन्दा माथि पुग्नेछ।
उकुसमुकुस गराउने बाफिलो गर्मी हुने भन्दै अधिकारीहरुले सकभर घर भित्रै रहन अपिल गरेका छन्।
मौषम विभागले सेन्टर पेन्सिल्भेनियामा १०५ देखि ११० डिग्री फर्निहाइट सम्म तापक्रम पुग्ने चेतावनी दिएका छन्।
मौसमविद्हरूका अनुसार यदि तापक्रम १०२ डिग्री पुगेमा, यो सन् १९९९ पछिको पहिलो ऐतिहासिक लगातार दुई दिनको गर्मी रेकर्ड हुनेछ। यसका साथै, शुक्रवार दिउँसो ३ बजेदेखि राति १० बजेको बीचमा छिटपुट चट्याङसहित ठुलो हावाहुरी चल्ने सम्भावना पनि रहेको छ।
शनिबार जुलाई ४ मा पनि गर्मीबाट राहत मिल्ने छैन। भोलि अधिकतम तापक्रम ९० डिग्रीको माथिल्लो अङ्कमा रहनेछ भने ‘हिट इन्डेक्स’ १०० देखि ११० डिग्रीको बीचमा रहनेछ। बेलुकी आतिशबाजीको समयमा आँधीबेहरी केही कमजोर भए पनि राति १० बजेसम्म तापक्रम ८६ डिग्री आसपास नै रहनेछ।
स्थानीय प्रशासनले तिर्खा नलागे पनि लगातार पर्याप्त पानी वा झोल पदार्थ पिउन अपिल गरेको छ । यस्तै दिउँसोको चर्को घाममा सकेसम्म बाहिर ननिस्कन भनेको छ।
अधिकारीहरुले पौडी पोखरी वा नदीनालामा विषेश सतर्कता अपनाउन पनि अपिल गरेको छ । आइतबारदेखि गर्मीको यो कडा रूप केही कम हुने र महसुस हुने तापक्रम ९४ देखि ९८ डिग्रीसम्म ओर्लिने अनुमान गरिएको छ।

















