‘नाम ठूलो कि नियम?’
त्रिविक्रम नेउपाने
फुटबल संसारको सबैभन्दा लोकप्रिय खेल हो। यसको आकर्षण केवल गोल, ट्रफी वा स्टार खेलाडीहरूमा सीमित छैन। फुटबलको वास्तविक शक्ति यसको भावनात्मक गहिराइ र निष्पक्ष प्रतिस्पर्धामा लुकेको हुन्छ। यही कारणले यो खेल संसारभर करोडौँ मानिसहरूको मनमा बसेको छ। तर यही खेलको सबैभन्दा महत्त्वपूर्ण आधार “निष्पक्ष निर्णय” जब प्रश्नको घेरामा पर्छ, तब खेलको सुन्दरता मात्र होइन, यसको विश्वसनीयता पनि कमजोर हुन थाल्छ।
आजको आधुनिक फुटबल प्रविधिसहित धेरै विकसित भएको छ। भीएआर जस्ता प्रणालीले गल्ती कम गर्ने, न्याय सुनिश्चित गर्ने र खेललाई अझ स्पष्ट बनाउने अपेक्षा गरिएको थियो। तर व्यवहारमा देखिने निर्णयहरूको असङ्गतताले समर्थकहरूको विश्वास फेरि एक पटक हल्लिएको छ।
हालै अन्तर्राष्ट्रिय खेलहरूमा देखिएका दुई घटनाले यही बहसलाई अझ तीव्र बनाएका छन्। पहिलो घटना अमेरिका र बोस्निया हर्जगोविना (नकआउट चरण राउण्ड ३२) को हो, जहाँ अमेरिकी स्ट्राइकर फोलारिन बालोगनले बोस्नियाका डिफेन्डर तारिक मुहरेमोभिच विरुद्ध गरेको चुनौती भीएआरद्वारा समीक्षा गरियो। त्यसपछि रेफ्रीले सिधै रातो कार्ड देखाउँदै उनलाई मैदानबाट बाहिर पठाए। त्यो निर्णय तत्काल, कठोर र खेलको दिशा बदल्ने खालको थियो। बालोगन स्वतः अर्को खेलका लागि निलम्बित भए।
त्यही समयमा देखिएको अर्को घटना अर्जेन्टिना विरुद्ध अल्जेरिया (समूह चरण) मा थियो, जहाँ लियोन मेसी संलग्न एक स्टड्स-अप च्यालेन्ज ( जुत्ताको तलतिर हुने फलाम वा प्लास्टिकको किलाहरू माथि उठाएर गरिने खतरनाक ट्याकल) मा खतरनाक सम्पर्क देखिएको थियो। तर त्यस घटनामा न त रातो कार्ड देखाइयो, न त भीएआर हस्तक्षेप गरियो। खेल सामान्य रूपमा अघि बढ्यो, र घटना लगभग कुनै ठूलो विवाद बिना नै समाप्त भयो।
यही दुई घटनाको तुलना अहिले विश्व फुटबल समर्थकहरूबिच गहिरो बहसको कारण बनेको छ। एउटै प्रकृतिको जस्तो देखिने दुई चुनौती, तर दुई बिल्कुल फरक निर्णय। यही असङ्गतताले फुटबलको न्याय प्रणालीमाथि प्रश्न उठाएको छ।
फुटबलको नियम सरल छ।
खेलाडीको नाम होइन, घटनाको गम्भीरता आधार हुनुपर्छ। तर जब एउटै प्रकारको चुनौतीमा एक खेलाडीलाई सिधै रातो कार्ड दिइन्छ र अर्को घटनामा कुनै कारबाही नै हुँदैन, तब समर्थकहरू स्वाभाविक रूपमा प्रश्न उठाउन बाध्य हुन्छन्। के निर्णय वास्तवमै घटनामा आधारित हुन्छ, वा खेलाडीको प्रतिष्ठा, नाम र प्रभावले पनि भूमिका खेल्छ?
बालोगनको घटना अहिले केवल एक व्यक्तिगत रातो कार्डको विषय मात्र होइन। यो घटना एक ठूलो प्रणालीगत बहसको प्रतीक बनेको छ। धेरै समर्थकहरूको दृष्टिमा उनको फ्लट खेलको तीव्र प्रतिस्पर्धात्मक क्षणको परिणाम थियो, जहाँ आशय स्पष्ट रूपमा हिंसात्मक देखिँदैनथ्यो। तर त्यसलाई अत्यधिक कठोर रूपमा व्याख्या गरियो।
अर्कोतर्फ, मेसी संलग्न घटनामा देखिएको समान प्रकारको जोखिमपूर्ण चुनौतीलाई पूर्ण रूपमा बेवास्ता गरिएको जस्तो देखियो। यही असमानताले समर्थकहरूको मनमा असन्तोष मात्र होइन, अविश्वास पनि पैदा गर्छ।
भीएआर प्रणाली ल्याइँदा यसको उद्देश्य स्पष्ट थियो कि मानवीय त्रुटि घटाउने, निर्णयलाई निष्पक्ष बनाउने र खेललाई विवादमुक्त बनाउने। तर अहिले धेरै अवस्थामा भीएआर स्वयं विवादको केन्द्र बन्न थालेको छ। किनभने समस्या प्रविधिमा होइन, त्यसको प्रयोग र व्याख्यामा देखिन्छ। कुन घटनामा भीएआर सक्रिय हुन्छ, कुनमा हुँदैन, र किन एउटै प्रकारका घटनामा फरक निर्णय आउँछ ? यी प्रश्नहरू अझै स्पष्ट छैनन्।
फुटबलमा रेफ्रीहरूको भूमिका अत्यन्त कठिन हुन्छ। उनीहरूले सेकेन्डमै निर्णय लिनुपर्छ, र प्रत्येक कोण, गति, सम्पर्क र खेलको अवस्थालाई मूल्याङ्कन गर्नुपर्छ। गल्ती सम्भव हुन्छ, र त्यो स्वाभाविक पनि हो। तर समर्थकहरूको अपेक्षा पूर्णता होइन निरन्तरता हो।
समस्या त्यहीँबाट सुरु हुन्छ जहाँ निर्णयहरू अनुमान गर्न नसकिने बन्छन्। आज कडा मापदण्ड, भोलि नरम मापदण्ड। एउटै प्रकारको चुनौतीमा फरक व्याख्या। यही असङ्गतताले खेलको न्यायमाथि प्रश्न उठाउँछ।
फुटबलको सबैभन्दा ठूलो शक्ति यसको विश्वसनीयता हो। समर्थकहरूले हार स्वीकार गर्छन्, खराब प्रदर्शन स्वीकार गर्छन्, तर अन्यायपूर्ण वा असंगत निर्णय स्वीकार गर्न सक्दैनन्। किनभने खेल केवल मैदानमा मात्र होइन, विश्वासमा पनि खेलिन्छ।
जब निर्णयमाथि विश्वास कमजोर हुन्छ तब खेलको कथा मैदानबाट हटेर रेफ्री र भीएआर तर्फ मोडिन्छ। अनि फुटबलको वास्तविक सौन्दर्य हराउन थाल्छ।
फोलारिन बालोगनको रातो कार्डले एउटा ठूलो बहस सुरु गरेको छ। के आधुनिक फुटबल साँच्चै समान न्यायमा आधारित छ? यदि एउटै प्रकारको चुनौतीमा फरक निर्णय भइरहन्छ भने समस्या खेलाडीमा होइन, प्रणालीमा हुन्छ।
फुटबलको इतिहास महान खेलाडीहरूले लेखेका हुन्, तर यसको भविष्य निष्पक्ष, पारदर्शी र समान निर्णय प्रणालीले मात्र सुरक्षित राख्न सक्छ। रेफ्रीहरू मानव हुन्, गल्ती हुन सक्छ तर खेलले माग्ने कुरा perfect निर्णय होइन, समान निर्णय हो।
अन्ततः फुटबल केवल गोल गरेर जितिँदैन ।यो विश्वासले जितिन्छ। र त्यो विश्वास हरायो भने, खेल जितेर पनि फुटबल हार्न सक्छ।
र यो पनि ….

















