अमेरिकामा नेपाली युवा वैज्ञानिकको प्रेरणादायी यात्रा
चार वर्षभन्दा कम समयमै भौतिकशास्त्रमा विद्यावारिधिदेखि नेपाली डायस्पोराको युवा नेतृत्वसम्म
“३३ हजार फिट आकाशमाथि बाट पनि आउँथ्यो कामको निर्देशन”
“प्रत्येक दिन, प्रत्येक मिनेट जिम्मेवारी, अनुसन्धान अनि एकदमै कडा समय तालिका हुन्थ्यो। उहाँ आफैंमा निकै मेहनती, कडा र कामप्रति गम्भीर हुनुहुन्थ्यो। एकपटक त उहाँले जहाजबाट ३३ हजार फिटको उचाइबाट समेत काम लगाउनुभएको थियो। उहाँ भन्नुहुन्थ्यो—‘किसान, म तिमीलाई ३३ हजार फिट माथिबाट लेखिरहेको छु।’ त्यसपछि पनि अनुसन्धान र कामसँग सम्बन्धित विभिन्न निर्देशनहरू आइरहन्थे।”
“मलाई लाग्छ, गौतम बुद्धले बुद्धत्व प्राप्त गर्न बसेको तपस्याजस्तै मेरो २६ वर्षको शैक्षिक यात्रा पनि एक किसिमको तपस्या नै थियो। तर मैले जिवनलाइ इन्जोए नै गरिरहेको छु। जिवनलाइ रङ्ग भर्न जान्नुपर्दछ । हुन त भगवान को कृपा पनि हो।”
झट्ट हेर्दा आकर्षक व्यक्तित्व झल्किने प्युठानको एउटा गाउँमा किसान परिवारमा जन्मिएका, बाबाका हलो–कोदालोसँग खेल्दै हुर्किएका एक बालक आज अमेरिकाको प्रतिष्ठित विश्वविद्यालयको प्रयोगशालामा कृत्रिम बौद्धिकता र मेसिन लर्निङको अत्याधुनिक प्रविधि प्रयोग गर्दै भौतिकशास्त्रअन्तर्गत बायोफिजिक्स र प्रोटिन विज्ञानमा अनुसन्धान गरेर विद्यावारिधि हासिल गरेका छन्।
प्युठानको एउटा गाउँको सरकारी विद्यालयबाट सुरु भएको डा. किसान खत्री को यात्रा अमेरिकाको टेम्पल यूनिभर्सिटिबाट भौतिकशास्त्रमा विद्यावारिधि पूरा गर्नेसम्म आइपुग्दा अनुसन्धान, शिक्षण र नेतृत्वसँग जोडिएको बहुआयामिक यात्रामा परिणत भएको छ।
डा. खत्रीले टेम्पल यूनिभर्सिटिबाट चार वर्षभन्दा कम समयमै भौतिकशास्त्रमा विद्यावारिधि पूरा गरेका छन्। सन् २०२२ को शरद् सत्रमा पूर्ण छात्रवृत्तिसहित टेम्पल विश्वविद्यालय प्रवेश गरेका उनले अगस्ट २२, २०२२ मा आफ्नो विद्दावारिधि अध्ययन सुरु गरेका थिए र जुलाई ९, २०२६ मा विद्यावारिधिको शोधप्रबन्ध प्रतिरक्षा पूरा गरे। विद्यावारिधिका क्रममा उनले पाँचवटा अनुसन्धान परियोजनामा काम गरे र दुईवटा अनुसन्धान लेख प्रतिष्ठित क्यू–१ अन्तर्राष्ट्रिय शोधपत्रिकामा प्रकाशित गरेका छन्। बाँकि २ वटा विद्दाबारिधि सोधपत्रमा समाबेश गरिएको र अर्को अनुसन्धान भने अझै प्रक्रियामा रहेको छ।
डा. खत्रीको कथा केवल छोटो समयमा विद्यावारिधि पूरा गर्ने विद्यार्थीको कथा मात्र मा सिमित नभै उहाँको को जिवनयात्रा नै नयाँ पुस्ताहरुको लागि सर्वाङ्गिण पक्षमा प्रेरणादायी छ। गाउँको सरकारी विद्यालयबाट सुरु भएको शैक्षिक यात्रा, अमेरिकामा वैज्ञानिक अनुसन्धानमा बनाएको पहिचान र नेपाली डायस्पोराका युवासँग जोडिएर नेतृत्व तथा स्वयंसेवामा गरेको योगदानको कथा पनि हो। हामिले उनको सफल एवम प्रेरणादायी जिवन यात्रालाइ यहाँ प्रस्तुत गरेका छौं ।
सरकारी विद्यालयदेखि अमेरिकि प्रतिष्ठित वैज्ञानिकहरुका अनुसन्धान ल्याबसम्म
प्युठानको गौमुखी गाउँपालिका–६ स्थित श्री भृकुटी माध्यमिक विद्यालयमा कक्षा १ देखि १० सम्म अध्ययन गरेका खत्री सानैदेखि पढाइमा अब्बल थिए। कक्षामा प्रथम हुनुका साथै विद्यालय प्रथम हुने उनी एसएलसीमा प्रथम श्रेणीमा उत्तीर्ण भए।
पढाइमा अब्बल व्यक्तित्व सङ्गै उनि सानैदेखि विद्रोहि स्वभावका थिए । वाककला, लेखन, सिर्जना, सङ्गित र सामाजिक तथा न्यायिक गतिविधिमा सक्रिय उनि सुसासन का खरो थिए । कक्षा ९ मा पढ्दा आफ्नो आसनमाथि हरियो रङले लेखेको एउटा वाक्य उनी आज पनि सम्झन्छन्—“जात छ तर छुवाछुत छैन।” अर्थात्, उनी सानैदेखि परिवर्तनकारी सोच भएका युवा थिए। हाजिरीजवाफदेखि विभिन्न अतिरिक्त क्रियाकलापसम्म उनी सक्रिय रहन्थे। एउटा कविता प्रतियोगितामा जिल्ला तहमा तेस्रो भएको सम्झना पनि उनीसँग छ।
एसएलसीपछि विज्ञान पढ्न सुझाव पाएपछि प्युठानको गाउँबाट उच्च शिक्षाका लागि बुटवल झरे। तिलोत्तमा कलेजमा अध्ययन गर्दा आर्थिक चुनौतीहरू भए पनि परिवारको सहयोग र आफ्नो मेहनतले उनको पढाइ अघि बढ्यो।
त्यतिबेलै भौतिकशास्त्रप्रति उनको रुचि गहिरिँदै गयो।
“मलाई भौतिकशास्त्रमा स्नातकोत्तर गर्छु र प्राध्यापक बन्छु भन्ने थियो,” उनी सम्झन्छन्।
तिलोत्तमाबाट उच्च माध्यमिक शिक्षा पूरा गरेपछि उनले बुटवल बहुमुखी क्याम्पसमा भौतिकशास्त्रमा स्नातक अध्ययन शुरु गरे। त्यसपछि त्रिचन्द्र क्याम्पस मा तेस्रो वर्ष स्थानान्तरण गर्दै ४ वर्षे स्नातक अध्ययन उत्कृष्ट आङ्कसाथ पुरा गरे । ४ वर्षे स्नातक प्राणालिको पहिलो ब्याच रहेको उनि सम्झन्छन । त्यसपछि त्रिभुवन विश्वविद्यालयको केन्द्रीय भौतिकशास्त्र विभागबाट भौतिकशास्त्रमा उच्च परिणाम सहित स्नातकोत्तर पूरा गरे। केहि समय क्यापिटल कलेज एन्ड रिसर्च सेन्टरमा भौतिकशास्त्र प्रशिक्षकका रूपमा काम गरेपछि उनले अमेरिकाका विभिन्न विश्वविद्यालयबाट पूर्ण छात्रवृत्तिमा भौतिकशास्त्रमा विद्यावारिधि गर्ने अवसर पाए।
अन्ततः उनले टेम्पल विश्वविद्यालय रोजे।
अनुसन्धान यात्रा, भौतिकशास्त्र मा विद्दावारिधि, कम्प्यूटेसनल बाओफिजिक्स र कृत्रिम बौद्धिकतासम्म
उनको अनुसन्धान को शुरुवात त्रीचन्द्र क्याम्पस मा स्नातक तेस्रो वर्षदेखि भएको हो जहाँ उनले सौर्य उर्जा बाट अनुसन्धान शुरु गरेका थिए। उक्त अनुसन्धान मा उनले लाखौं पर्ने सौर्य उर्जा मापन गर्ने उपकरण प्यारनोमिटर प्रयोग गर्नुपर्ने थियो । त्यति महङ्गो उपकरण किन्न नसकिने र नेपालको पुल्चोक क्याम्पस मा त्यो पनि अटाच्ड अवस्थामा रहेकोले उनलाइ सस्तो र जहाँ पनि बोल्क्न मिल्ने उपकरण चाहिएको थियो । तसर्थ विकल्पका रुपमा आफ्ना फिजिक्स का गुरु प्रध्यापक एम एन सिँह को सह्योग मा जम्मा १५०० नेपाली रुपैँया मा बनाएका थिए र सोहि उपकरण मार्फत काठमाडौं का केहि ठाउँ हरुका सौर्य उर्जा अध्ययन गरेका थिए ।
उनको अनुसन्धान लाखौं पर्ने उपकरणको रीजल्ट सङ्ग क्लोजलि मिलेको हुनाले उक्त उपकरण विद्दार्थी हरुका अनुसन्धानमा वैकल्पिक उपकरण को रुपमा महत्वपुर्ण योगदान थियो । ओरिजिनल प्यारनोमिटर को विकल्पमा बनाइएको उक्त उपकरण को नाम ” पुअर्स मेन प्यारनोमिटर” थियो अर्थात गरिबहरुको प्यारनोमिटर । पछि स्नातकोत्तर अध्ययन गर्दा उनले वातावरणिय विज्ञान मा अनुसन्धान गरे भने स्नातकोत्तर को सोधपत्रका रुपमा उनले कन्डेन्स म्याटर फिजिक्स मा अनुसन्धान गरे । त्यै बेला उनले पहिलोपटक सुपरकम्प्युटर प्रयोग गरेका थिए ।
उनका ति क्षेत्रमा गरिएका अनुसन्धान कृती हरु विभिन्न जर्नलहरुमा प्रकाशित भएका छन । पछि उनले भौतिकशास्त्रमा विद्यावारिधि गर्दा उनको अनुसन्धान परम्परागत भौतिकशास्त्रको सीमाभित्र मात्र रहेन। उनले तथ्याङ्किय भौतिकशास्त्र, कम्प्यूटेसनल बाओफिजिक्स , बाओइन्फर्मेटिक्स, प्रोटिन विज्ञान, कृत्रिम बौद्धिकता र मस्ज्न लर्निङ्ग विधिहरु प्रयोग गरि प्रोटिनको विकास, संरचना, कार्य तथा प्रोटिन मा हुने उत्परिवर्तन का कारण ब्लड क्यान्सर को उपचार मा हुने अबरोध सम्बन्धि अध्ययन गरे।
प्रोटिनको भाषा बुझ्न कृत्रिम बौद्धिकता एवम मसिन लर्निङ्गको प्रयोग
प्रोटिनहरू जीवनका आधारभूत जैविक अणु हुन्। प्रोटिनले गर्ने काम, यसको संरचना, स्वरुप र स्थायित्व मुख्यतः यसलाई बनाउने अमिनो एसिड का प्याटर्न तथा तिनबीचका सम्बन्धमा निर्भर हुन्छन्। त्यसैले प्रोटिनका क्रमहरूमा रहेका अमिनो एसिडका प्याटर्न र तिनबीचका सम्बन्धहरूको अध्ययन गर्दा प्रोटिनले कसरी संरचना बनाउँछ, कसरी काम गर्छ र उत्परिवर्तन हुँदा त्यसको कार्य तथा जैविक क्षमतामा कस्तो परिवर्तन आउन सक्छ भन्ने बुझ्न महत्वपूर्ण हुन्छ। उनको अध्ययन काइनेज प्रोटिन मा रहेको छ जुन कैँयौ कोषिय कामहरुका प्रमुख रेगुलेटर हुन ।
यही आधारभूत प्रश्नलाई कृत्रिम बौद्धिकता ( ए आइ) र मसिन लर्निङ्ग सिकाइका विधिमार्फत अध्ययन गर्नु उनको विद्यावारिधि अनुसन्धानको प्रमुख केन्द्रमध्ये एक थियो। उनले केहि ए आइ मोडेल हरु प्रयोग गरि ठूलो संख्यामा उपलब्ध विकासक्रमसँग सम्बन्धित प्रोटिनहरुका एमिनो एसिड हरुको ढाँचा र तिनिहरुको इन्ट्र्याक्सन सम्बन्धि बुझ्न अध्ययन गरे जसको प्रतक्ष्य सम्बन्ध मेडिसिन र जैविक विज्ञान को एडभान्समेन्ट्स सङ्ग रहन्छ । त्यस्तो अध्ययन ले प्रोटिन जैविक कार्य बुझ्न अनि ति महत्वपुर्ण एमिनो एसिड र तिनको भुमिका बुझ्न मदत गर्दछ । डा. खत्रीले सोहि अध्ययनमार्फत केहि महत्वपुर्ण प्रोटिनको जैविक क्षमताको परिदृश्य बुझ्ने र त्यसबाट प्रोटिनको कार्य तथा उत्परिवर्तनका प्रभावहरू अध्ययन गर्ने प्रयास गरे।
भौतिक विज्ञान मा आधारित पट्स मोडेल र एआइ मा आधारित एड्भान्स्ड ट्रान्स्फर्मर मोडेलहरुको तुलनात्मक अध्ययन
उनको पहिलो प्रमुख अनुसन्धानमा भौतिकशास्त्रमा आधारित सन २००९ मा बनाइएको पट्स मोडेल र सन २०२१ मा बनाइएको एकदमै एडभान्स्ड डिप लर्निङ मोडेल, एमएसए ट्रान्सफर्मर मोडेल प्रयोग छन । पहिलो पुरानो मोडेल र दोश्रो एकदमै नयाँ एआइ मोडेल, दुबैले प्रोटिन को प्याटर्न कसरि बुझ्छन र कुन मोडेल ले एमिनो एसिड प्याटर्न वा ढाचा राम्रो सङ्ग बुझ्दछ भन्ने यसमा उनको अध्ययन छ । उनको यहीँ अनुसन्धान ले महत्वपुर्ण नतिजा सार्वजनिक गरि बायोफिजिक्स जगतमा उल्लेखनिय सन्देश दिएको छ।
प्रोटिन डेटाबेसहरुमा एउटै प्रोटिन परिवारका धेरै विकासक्रमीय रूपमा सम्बन्धित प्रोटिनहरु उपलब्ध हुन्छन्। तर ती क्रमहरू एकअर्कासँग विकासक्रमीय रूपमा सम्बन्धित भएकाले तिनलाई उउल्लेखित ए आइ तथा मसिन लर्निङ्ग मोडेलहरुमार्फत अध्ययन गर्दा जैविक कारणले मात्र नभै वंशविकासीय सम्बन्धका कारण पनि देखिने सहसम्बन्ध ति मोडेलहरुले सिक्न सक्छ। तसर्थ उनको यस अध्ययनले त्यस्ता एआइ मोडेलहरुले उक्त प्रोटिनहरुको वास्तविक जैविक सुचना मात्र बुझ्न के गर्नुपर्छ भनेर अध्ययन गरे।
त्यसमा उनले त्यस्ता वंशविकासीय सम्बन्धका कारण देखिएका प्रोटिनहरुलाइ फिल्टर गरेर फ्याल्नुपर्दछ र तबमात्र हमिले वास्तविक जैविक सुचना बुझ्न सक्छौं र भौतिक विज्ञान मा आधारित पट्स मोडेल ले अन्य उल्लेखित मोडेल ले भन्दा एमिनो एसिड इन्ट्र्यार्याक्सन प्राभावकारि ढङ्गले सिक्न सक्दछ भन्ने महत्वपुर्ण रीजल्ट विश्वजगतलाइ आफ्नो पहिलो अनुसन्धान कृती मार्फत बताइदिए । त्यतिमात्र होइन उनले अध्ययन गरेका मोडेल हरु मध्य पट्स मोडेल द्वारा निकालिएका प्रोटिन सिक्वेन्सहरु अल्फाफोल्ड मोडेल बाट हेर्दा समेत एकुरेट्लि फोल्ड भएको पाइयो । अल्फाफोल्ड आफैमा प्रोटिन को स्वरुप बुझ्न सक्ने आधुनिक सफल मोडेल हो जुन नोबेल पुरस्कार बाट सम्मानित मोडेल पनि हो ।
यस प्रोजेक्टलाइ उनको पहिलो प्रमुख अनुसन्धानले विशेष रूपमा अध्ययन गरेको थियो। अनुसन्धानले प्रोटिनको वंशविकासीय सम्बन्धलाई फिल्टर गरेर सुधार गर्दा पोट्स पटस मोडेल ले एमएसए ट्रान्सफर्मरभन्दा प्रोटिनका अमिनो एसिड क्रमभित्र रहेका जैवभौतिक उत्पत्तिका जटिल अन्तर्क्रिया तथा उच्चस्तरीय क्रमगत कनेक्सन पहिचान गर्न राम्रो प्रदर्शन गरेको देखाएको थियो। साथै, दुवै मोडेलबाट तयार गरिएका क्रमलाई अल्फाफोल्डमार्फत परीक्षण गर्दा ती प्राकृतिक प्रोटिनसँग मिल्दोजुल्दो संरचनामा तह लाग्न सक्ने देखिएको थियो। उनको यो अनुसन्धान विश्वकै प्रतिष्ठित जर्नल ” फिजिकल रीभ्यू रीसर्च ” मा प्रकासित छ जुन अमेरिकन फिजिकल सोसाइटिले प्रकाशन गर्दछ भने कुनै भौतिकविज्ञान का अनुसन्धानकर्ताको सपना यसका जर्नलहरुमा प्रकाशन गर्ने हुन्छ ।
यस अनुसन्धानको अर्को महत्वपूर्ण पक्ष यसको पछिल्लो वैज्ञानिक प्रभाव हो। यस अनुसन्धान पश्चात् प्रकाशित भएको एउटा कृत्रिम बौद्धिकतामा आधारित प्रोटिन डिजाइनसम्बन्धी अनुसन्धानले आफ्नो विधिगत दृष्टिकोणमा पट्स मोडेल समावेश गर्ने वैज्ञानिक आधार प्रस्तुत गर्दा डा. खत्रीको पहिलो लेखकका रूपमा प्रकाशित अनुसन्धानका निष्कर्षलाई प्रत्यक्ष रूपमा उद्धृत गरेको छ । उक्त वैज्ञानिक हरुको समुहले ” एफिडेस” नामक प्रोटिन डिजाइन मोडेल नै निर्माण गरिएको छ । उक्त अध्ययनमा पोट्स मोडेल ले विभिन्न डिप लर्निङ्गमा आधारित प्रोटिन मोडेलहरुको तुलनामा प्रोटिन विज्ञान र इन्ट्र्याक्सन राम्रोसँग बुझ्न सक्दछ भन्ने पूर्वअनुसन्धानका निष्कर्षलाई पोट्स मोडेल रोज्नुको आधारका रूपमा उल्लेख गरिएको छ।
यसरी, उनको पहिलो लेखकका रूपमा प्रकाशित विद्यावारिधि अनुसन्धान पछिल्लो कृत्रिम बौद्धिकतामा आधारित प्रोटिन डिजाइन अनुसन्धानमा केवल पृष्ठभूमि सन्दर्भका रूपमा मात्र उद्धृत भएको होइन, पोट्स मोडेललाई विधिगत दृष्टिकोणमा समावेश गर्ने वैज्ञानिक आधारमध्ये एकका रूपमा प्रयोग भएको छ।
डा. खत्री भन्छन, “मेरो विद्यावारिधि अनुसन्धानमा प्राप्त एउटा निष्कर्षलाई पछिल्लो कृत्रिम बौद्धिकतामा आधारित प्रोटिन डिजाइनसम्बन्धी अनुसन्धानमा उद्धृत गर्दै उहाँहरुको मोडेल मा पोट्स मोडेल इन्टृगेट गर्नुको वैज्ञानिक आधारका रूपमा प्रयोग गरिएको देख्दा निकै खुसी लाग्यो। आफ्नो अनुसन्धानको निष्कर्ष पछिल्लो अनुसन्धानको विधिगत विकासमा उपयोग भएको देख्नु मेरो वैज्ञानिक यात्राको महत्वपूर्ण अनुभव हो,” ।
काइनेज प्रोटिन उत्परिवर्तन ( म्यूटेसन), प्रोटिन संरचना र त्यस्तो म्युटेसनले क्यान्सर देखाउने औषधि प्रतिरोधात्मक प्रभाव सम्बन्धि अध्ययन
विद्यावारिधिका क्रममा उनको अर्को अनुसन्धानले पोट्स मोडेल बाट पत्ता लगाइएका स्ट्रङ्गलि कोअपेरेटिभ म्युटेसनल पेअर्सहरुको संरचनात्मक स्वरुप अल्फाफोल्डजस्ता आधुनिक प्रोटिन संरचना पूर्वानुमान गर्ने ए आइ मोडेल द्वारा प्रमाणित गरिएको थियो । उक्त अनुसन्धान प्रोटिन उत्परिवर्तनले प्रोटिनको संरचना, सहकार्यात्मकता र जैविक क्षमतामा पार्ने प्रभाव बुझ्ने दिशामा केन्द्रित थियो। यस क्रममा काइनेज प्रोटिनमा हुने सहकार्यात्मक उत्परिवर्तनको अध्ययन गर्दै पटस मोडेल र अल्फाफोल्डलाई एउटै पाइपलाइन मा प्रयोग गरिएको थियो।
उनको अर्को महत्वपुर्ण अनुसन्धान मार्फत विशेषगरी ब्लड क्यान्सरसँग सम्बन्धित औषधि–प्रतिरोधी उत्परिवर्तन (म्यूटेसन) को पहिचान गरि त्यस्ता म्युटेसन ले केहि काइनेज प्रोटिनको जैविक कार्य तथा संरचनागत अवस्था लाइ कसरी प्रभाव पार्छन् भन्ने अध्ययन गरे। पोट्स मोडेल प्रयोग गरेर ब्लड क्यान्सर औषधिविरुद्ध प्रतिरोध भुमिका देखाउने त्यस्ता म्युटेसन र तिनिहरुको संयोजनको अध्ययन गरिएको थियो।
यस अनुसन्धानले केही औषधि–प्रतिरोधी म्युटेसन ले काइनेजलाई यस्तो संरचनागत अवस्थातर्फ धकेल्न सक्ने देखाएको थियो, जसको कारण प्रोटिन को स्वरुप मा फरक भुमिका खेल्दछ र औषधिको प्रभावकारीता घट्दछ र रोग निको नहुने वा फेरि दोहोरिने गर्दछ भन्ने देखाएको छ। यस प्रकारको अनुसन्धानले क्यान्सरसँग सम्बन्धित उत्परिवर्तन, प्रोटिनको विकास, औषधि प्रतिरोध र प्रोटिनको जैविक क्षमताबीचको जटिल सम्बन्ध बुझ्न सह्योग प्रदान गर्छ।
समग्रमा, उनका अनुसन्धानहरूले भौतिकशास्त्रबाट विकसित स्टाटिस्टिकल अप्रोच, ए आइ तथा मसिन लर्निङ्ग र आधुनिक संरचनागत पूर्वानुमान विधिलाई जोडेर प्रोटिनको क्रमदेखि संरचना, कार्य र रोगसँग सम्बन्धित उत्परिवर्तनसम्मको सम्बन्ध बुझ्ने प्रयास गरेका छन्।
उनका विद्यावारिधि सल्लाहकार प्राध्यापक रोनाल्ड एम. लेभी हुन्। प्राध्यापक लेभीको समूहले प्रोटिन डिजाइन , कृत्रिम बौद्धिकता तथा यान्त्रिक सिकाइ र मोलेकुलर डाइनामिक सिमुलेसन का क्षेत्रमा लामो समयदेखि अनुसन्धान गर्दै आएको छ।
“३३ हजार फिट माथिबाट पनि आउँथ्यो कामको निर्देशन”
उच्चस्तरीय अनुसन्धानको उपलब्धिपछाडि उनको दिनचर्या भने अत्यन्तै कठोर थियो। प्राध्यापक रोनाल्ड एम लेभि सङ्ग करिब दुई वर्ष १० महिना प्रयोगशालामा काम गरेका खत्री आफ्नो विद्यावारिधिको समयलाई कठोर वैज्ञानिक प्रशिक्षणका रूपमा सम्झन्छन्।
“प्रत्येक दिन, प्रत्येक मिनेट जिम्मेवारी, अनुसन्धान अनि एकदमै कडा समयतालिका हुन्थ्यो। उहाँ आफैंमा निकै मेहनती, कडा र कामप्रति गम्भीर हुनुहुन्थ्यो।”
उनको सबैभन्दा स्मरणीय प्रसंगमध्ये एक हो—प्रोफेसरले जहाजबाटै काम पठाएको घटना।
“एकपटक त उहाँले जहाजबाट ३३ हजार फिटको उचाइबाट समेत काम लगाउनुभएको थियो। उहाँ भन्नुहुन्थ्यो—‘किसान, म तिमीलाई ३३ हजार फिट माथिबाट लेखिरहेको छु।’ त्यसपछि पनि अनुसन्धान र कामसँग सम्बन्धित विभिन्न निर्देशनहरू आइरहन्थे।”
यस्ता अनुभवले उनलाई वैज्ञानिक रूपमा आलोचनात्मक सोच राख्न, समस्या पहिचान गर्न र समाधान खोज्न सिकाएको उनी बताउँछन्।
विद्यावारिधिका क्रममा उनको अधिकांश समय अनुसन्धान का सम्पुर्ण काम, एनालाइसिस, पेपर लेखन, नतिजा विश्लेषण, शोधपत्र लेखन र प्राध्यापकसँगको निरन्तर छलफलमा बित्यो।
“मलाई लाग्छ, गौतम बुद्धले बुद्धत्व प्राप्त गर्न बसेको तपस्याजस्तै मेरो २६ वर्षको शैक्षिक यात्रा पनि एक किसिमको तपस्या नै थियो। तर मैले जिवनलाइ इन्जोए नै गरिरहेको छु। जिवनलाइ रङ्ग भर्न जान्नुपर्दछ । हुन त भगवान को कृपा पनि हो।”
उनका लागि विद्यावारिधिको महत्वपूर्ण उपलब्धि केवल उपाधि प्राप्त गर्नु होइन, कठिन अनुसन्धान समस्यासँग निरन्तर जुध्दै समाधान खोज्न सक्ने वैज्ञानिक क्षमता विकास गर्नु पनि हो।
अनुसन्धानसँगै शिक्षण र नेतृत्व
अमेरिकामा उनको सक्रियता प्रयोगशाला र कक्षाकोठामा मात्र सीमित रहेन।
टेम्पल विश्वविद्यालयमा स्नातक तहका विद्यार्थीलाई शिक्षण सहयोग गर्ने क्रममा उनले स्नातक तहका विद्दार्थीहरुलाइ भौतिकशास्त्र अध्यापन गराउने अवसर पनि पाए। सन् २०२३ मा उनले टेम्पल विश्वविद्यालयको ग्राजुएट स्कुलमार्फत भौतिकशास्त्र विभागबाट उत्कृष्ट शिक्षण सहायक पुरस्कार समेत प्राप्त गरे।
विश्वविद्यालयका विभिन्न एकेडेमिक प्लाटफर्म मा सहभागिता, विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितसम्बन्धी अनुसन्धानत्मक प्रतियोगितामा स्टेम निर्णायकको भूमिका तथा अन्तर्राष्ट्रिय सम्मेलनमा अनुसन्धान प्रस्तुतीकरण र प्राप्त सम्मान तथा पुरस्कारले उनको शैक्षिक र व्यावसायिक यात्रालाई थप विस्तार गरेको छ।
यससँगै उनी नेपाली डायस्पोरासँग पनि सक्रिय रूपमा जोडिएका छन्।
नेपाली डायस्पोराका युवासँग नेतृत्व
अमेरिकामा रहेर डा. खत्रीले नेपाली समुदायसँग जोडिएका विभिन्न गतिविधिमा स्वेच्छिक समेत महत्वपुर्ण योगदान गर्दै आएका छन्। उनी गैर आवासिय नेपाली सङ्ग ( एन आर एन ए ) अमेरिका का युवा अध्यक्षका रूपमा नेपाली युवाहरूको नेतृत्व र सहभागितासँग सम्बन्धित गतिविधिमा सक्रिय छन्।
यस भूमिकामार्फत उनले अमेरिकाभर रहेका नेपाली युवाहरूलाई शैक्षिक तथा सामाजिक सचेतनाका विभिन्न कार्यक्रमसँग जोड्ने, नेतृत्व र शिक्षाप्रतिको रुचि बढाउने तथा अमेरिकामा रहेका नेपाली युवाहरूबीच सहकार्य र सहभागिताको वातावरण निर्माण गर्न योगदान गर्दै आएका छन्। यस सङगै उनले एन आर एन ए अमेरिका का विभिन्न प्लाटफर्म मा सहोग र योगदान गर्दै नेपाली कम्युनिटि मार्फत विश्व समुदायलाइ सह्योग, सद्भाव, मानवता र भातृत्व सम्बन्धि सन्देश दिन खोजिरहेका छन ।
उनका लागि युवा नेतृत्व भनेको पद धारण गर्नु मात्र होइन।
उनको विश्वासमा अमेरिकामा अध्ययन र करिअर निर्माण गरिरहेका नेपाली युवाहरूले व्यक्तिगत सफलता हासिल गर्नुका साथै समुदाय र भावी पुस्ताका लागि पनि योगदान गर्नुपर्छ। उनि युवा पुस्ताको खस्किदो चेतना प्रति दुखि व्यक्त गर्दछन र भन्दछन ” हामिले युवा हरुको सिभिक सेन्स र कमन सेन्स मा लगानि गरेनौ भने आउने पुस्ता निकै अनुत्तरदायि हुने र निकट भविषयमा सुन्दर पृथ्वी र मानवता नै शङ्कटमा पर्ने खतरा देखिरहेको छु । तसर्थ मेरो योगदान युवाहरुको व्यक्तित्व विकासमा पनि चासो छ । आखिर हामि एक अर्कोलाइ केहि दिन र लिन अनि सहकार्य गर्दै जिउँन जन्मिएकात हौँ ।”
“अमेरिकामा हामीले पाएको अवसरलाई आफ्नो व्यक्तिगत सफलतामा मात्र सीमित राख्नु हुँदैन। हामीले सिकेको ज्ञान, सीप र अनुभव समुदाय र आगामी पुस्तासँग पनि बाँड्नुपर्छ,” उनी भन्छन्।
विद्यावारिधिले सिकाएको कुरा
डा. खत्रीका लागि अमेरिकी विद्यावारिधि केवल उपाधि हासिल गर्ने प्रक्रिया थिएन। यो व्यक्तित्व र वैज्ञानिक सोच निर्माण गर्ने प्रक्रिया पनि थियो। अझ भन्दा यो त परिपक्व मान्छे बन्ने निकै अप्ठ्यारो ट्रेइनिङ्ग रैछ ।
उनका अनुसार भौतिकशास्त्रमा विद्यावारिधि पूरा गर्नु निरन्तरता, अनुशासन, समय व्यवस्थापन, मानसिक दबाब व्यवस्थापन र अनुसन्धानमा गहिरो समर्पणको अभ्यास हो।
“विद्यावारिधिको प्रशिक्षण शैक्षिक प्रदर्शन मात्र होइन। यो जीवनका हरेक कुराको तनाव व्यवस्थापन गर्दै दृढता, विनम्रता र धैर्यवान व्यक्तित्व निर्माण गर्ने प्रशिक्षण हो।”
योग्यता परीक्षा, अनुसन्धानको नयाँ क्षेत्र पहिचान गर्ने, पेपर लेखन र सम्पुर्ण अनुसन्धान का काम गर्ने, नतिजा विश्लेषण गर्ने, प्राध्यापकसँग छलफल गर्ने, शोधपत्र लेख्ने र प्रकाशनसम्मको सम्पूर्ण प्रक्रिया उनले अनुभव गरे।
“यी सबै गर्न धैर्यता, निरन्तरता एवं कडा मेहनत चाहिन्छ। कयौँ रातहरू सुतिएन , कथा त के के छन छन ।”
उनका लागि यही नै विद्यावारिधिको सबैभन्दा ठूलो उपलब्धि हो—उपाधिभन्दा पर गएर कठिन परिस्थितिमा पनि समाधान खोज्न सक्ने व्यक्ति बन्नु।
किसान परिवारदेखि वैज्ञानिक पहिचानसम्म
उनको कथा आफैंमा एउटा परिवर्तनको प्रतीकजस्तो देखिन्छ।
प्युठानको गाउँमा खेतबारी र बस्तुभाउ सङ्ग हुर्किएको बालक आज प्रोटिनको विकासक्रम, कृत्रिम बौद्धिकता, यान्त्रिक सिकाइ र गणनात्मक जैवभौतिकीजस्ता अत्याधुनिक विषयमा अनुसन्धान गरिरहेका छन्।
उनी आफैं भन्छन्,
“आज आफैंलाई हेर्दा लाग्छ—प्युठानको एउटा गाउँमा जन्मिएको किसानको छोरा, जुन हलो–कोदालोसँगै खेल्यो, आज संसारकै उत्कृष्ट प्रविधि कृत्रिम बौद्धिकता र यान्त्रिक सिकाइसँग खेल्ने भयो। अर्थात्, एक किसानको छोरा वैज्ञानिक बन्यो। अलिअलि भाग्य पनि हो तर जिवन का चुनौति र अप्ठ्यारा सम्झदा कन्सिस्टेन्सि र डेडिकेशन मुख्य हो भन्ने लाग्छ । “
तर आफ्नो सफलतालाई उनी केवल व्यक्तिगत उपलब्धिका रूपमा हेर्दैनन्।
“जीवन एउटा अनुभव हो र सबैका आफ्नै अनुभव हुन्छन्। ब्रह्माण्डीय दृष्टिले यो सानो पृथ्वीमा ८.३ अर्ब मानिस छन् र सबैका रुचि, क्षमता, सोच र विचार भिन्न–भिन्न छन्। त्यसैले हामीले एकअर्काको सम्मान गर्दै समग्र मानवजातिकै सेवा गर्नुपर्दछ।”
अमेरिकामा सफलता, मन भने आफ्नै गाउँमा
अमेरिकाको व्यस्त अनुसन्धान जीवनका बीच पनि उनको मन भने पटक–पटक प्युठान अनि नेपाल मै पुग्छ।
केही समय गाउँ फर्केर हलो समाउन, आमालाई भान्सामा सघाउन, बाल्यकालका साथीभाइ र आफन्त भेट्न तथा आफू हुर्किएको माटोसँग फेरि जोडिन उनी आतुर छन्। दहखोला र झिम्रुकमा फेरि पौडी खेल्ने, आफूले कुलो लगाउन जाने खेतबारीमा पुग्ने, पातलको जंगलमा डुल्ने र बाल्यकालका सम्झनाहरू एकपटक रेकल गर्ने उनको इच्छा छ।
“सानोमा काम नगरेकोमा अहिले पछुतो लाग्छ। त्यसैले केही समय गाउँ गएर हलो समाएर बारी जोत्न मन छ। जसमा फलेको खाएर म हुर्किएँ, ती प्रिय गोरुहरूप्रति अहिले माया लागेर आउँछ,” उनी भन्छन्।
आमालाई भाँडा माझ्न सघाउने, घरमा सबैलाई पकाएर खुवाउने र आफूलाई बाल्यकालमा सहयोग गर्ने आफन्तहरूलाई भेटेर धन्यवाद दिने उनको चाहना छ।
बाल्यकालका साथीहरूसँग गुच्चा खेलेका दिन, गाईबस्तु हेर्न गएका समय, गाउँभरि हिँडेका क्षण र झिम्रुकमा माछासँग खेलेका सम्झनाहरू आज पनि उनको मनमा ताजा छन्।
देशभरिबाट निम्तो आएको बताउँदै उनी भन्छन्,
“नेपाल आएपछि सबैको निम्तो स्वीकार गरेर सबैकहाँ पुग्छु।”
अमेरिकामा बसेर पनि नेपालको सपना
नेपाली समाज, नेपालको समृद्धि र नेपाली युवाका विषय उनका लागि सधैं चासोका विषय हुन्।
उनले जीवनमा अनेकौँ चुनौती भोगे, लामो समय मेहनत गरे र धेरैपटक एक्लै संघर्ष गरे। तर उनी भन्छन्—
“मैले कहिल्यै हार मानिनँ। सधैं लडेँ, अझ भन्दा एक्लै लडेँ र सधैं जितेँ।”
आफ्नो सफलताको पछाडि परिवारको त्यागलाई उनी सधैं सम्झन्छन्।
“मेरो परिवारले धेरै दुःख र त्याग गरेर आर्थिक रूपमा कहिल्यै कमी हुन दिनुभएन।”
त्यसैले आफ्नो उपलब्धिलाई उनी परिवार, शिक्षक, साथीभाइ र सम्पूर्ण नेपाली समाजप्रति कृतज्ञताका साथ हेर्छन्।
अब उनको सपना के हो?
उत्तर स्पष्ट छ।
“म आफ्नो अनुसन्धानलाई निरन्तरता दिनेछु र वैज्ञानिकका रूपमा आफूलाई अझ राम्रो बनाउने प्रयास गर्नेछु। अब देशका लागि केही गर्न सक्छु भन्ने आत्मविश्वास छ। देशले खोजे र अवसर दिए, आफ्नो ज्ञान, सीप र अनुभवमार्फत देशलाई योगदान गर्न चाहन्छु । १३ वर्षको उमेरदेखि राजनितिक र सामाजिक जिवन पनि बाचेको हुनाले आफुलाइ नेपाल कै नेतृत्व गर्न सक्छु भन्ने आत्मविस्वास एकदमै छ । नेपाल को सर्वाङ्गिण विकास गर्न सक्छु भन्ने एकदमि उच्च विस्वास छ । जेन जि आन्दोलनका बेला भाद्र २३ र २४मा म भको भए देश पनि जल्थेन र युवाहरु पनि मर्थेनन। त्यो बेला ४ दिन सुतिन रोए देशको मायाले । बिध्वस रोक्न अमेरिकाबाटै सक्ने यिगदान गरे । देशकै लालपुर्जा र महत्वपुर्ण कागजात हरु जोगाउन , सिहदरबार नजलाउन अनि पशुपतिनाथ जोगाउन भिडियो मार्फत अपिल गरे जसलाइ करिब ५० लाख ले हेर्नुभो। म यता देशको चिन्ताले खान नखाइ, रुदै हिदे उता नेपाल मा भने युवा, कलाकार , देश बनाउछु भन्नेहरुले देश जलाइरहेका थिए । त्यसको सबै कुरा बुझेको छु तर अहिले केहि भन्दिन । समय आउछ । “
उनको अर्को भनाइ अझ गहिरो छ—
“मलाइ म आफैले सारा नेपाल बनाइदिएर मर्न मन चाहिँ छ। केही योजनाहरू छन्। युवाहरूको मस्तिष्क अनि अहिले देखिएका विविध परिदृश्यप्रति मेरो चिन्तन र चासो छ। सुधार गर्नुपर्ने कुरा अत्यधिक धेरै छन्। सबै गर्न सकिन्छ। सबै समय आउँछ भन्ने लाग्छ।”
नयाँ पुस्ताका लागि सम्भावनाको कथा
डा. किसान खत्रीको यात्रा अमेरिकामा रहेका नेपाली युवाहरूका लागि पनि विशेष अर्थ राख्छ। उनको कथा एउटा कुरा देखाउँछ—सुरुवात कहाँबाट भयो भन्नेभन्दा पनि यात्रा कसरी अघि बढाइयो भन्ने महत्वपूर्ण हुन्छ।
सरकारी विद्यालयमा पढेको एउटा गाउँले बालकले अमेरिकामा पूर्ण छात्रवृत्तिमा भौतिकशास्त्रमा विद्यावारिधि गर्न सक्छ। अत्याधुनिक वैज्ञानिक क्षेत्रमा अनुसन्धान गर्न सक्छ। विश्वविद्यालयबाट शिक्षण पुरस्कार प्राप्त गर्न सक्छ। अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनमा आफ्नो अनुसन्धान प्रस्तुत गर्न सक्छ। नेपाली डायस्पोरामा नेतृत्व गर्न सक्छ। र सफलता पाएपछि पनि आफ्नो गाउँ, परिवार र देशलाई सम्झेर फर्केर केही गर्ने सपना देख्न सक्छ।
उनका लागि जीवनको असली यात्रा अझै सुरु भएको छ।
“इच्छाशक्ति, लगनशीलता र निरन्तरताले मात्र सफलता प्राप्त हुन्छ भन्ने विश्वास गर्दछु। जीवनको असली यात्रा त अब सुरु भएको छ। केही योजनाहरू छन् र सबै पूरा गर्छु भन्ने दृढ विश्वास पनि छ।”
उनको एउटा अत्यन्त भावुक अभिव्यक्ति छ—
“मेरी आमा, तपाईंकी आमा र नेपाल आमा—यी तीन आमालाई हँसाएर मर्न मन छ।”
सायद यही वाक्यले उनको सम्पूर्ण यात्राको भाव समेट्छ।
एउटी आमाले गाउँमा हुर्काएको छोरा आज अमेरिकामा वैज्ञानिक बनेको छ। अर्को अर्थमा, एउटा कृषक परिवारको सपना विस्तार भएर एउटा वैज्ञानिक र समुदायसँग जोडिएको युवा नेतृत्वको यात्रामा परिणत भएको छ।
उनि भन्छन, “मेरो नाम किसान पनि मेरो बाबाले राखिदिनुभएको । उहाँ चाहनुहुन्थ्यो बाबाले आफुले दुख पाएको र छोरालाइ जसरि पनि सबै पढाएर सकाउने उदेश्य रहेको थियो । सायद अब मैले पुरा गरे । बा आमा खुशी हुनुन्छ । म पनि भाग्यमानि नै छु आफ्नो पढाइ सकेर , प्ज्र्ण आर्थिक सह्योग पाएर परिपक्व हुदासम्म बा आमा स्वस्थ भैदिनु भगवान को कृपा नै हो ।”
प्युठानको गाउँदेखि अमेरिकाको अनुसन्धानशालासम्म आइपुगेको डा. किसान खत्रीको यात्रा विद्यावारिधिको कथा मात्र होइन—विज्ञान, निरन्तरता, नेतृत्व, सेवा र आफ्नो माटोप्रतिको प्रेमको कथा पनि हो।
पारिवारिक, प्रेम र अन्य केहि प्रशङ्ग मा प्रश्ण गर्दा उनले ठट्ठट्यौलि पारामा भने , ” मैले इकोसिस्टम बुझेको छु । जिवन इन्द्रेणि जस्तै हो । सातै रङ्गले भरिएको हुन्छ , नभरिए भर्नुपर्छ । सबै चाहिन्छ । जिवन का अन्य रसिला मसिला कुरा अर्को भागमा गरौँला ।”
अन्तमा पाठकहरुका लागि उनको भनाइ :
तपाईं हरु सबैलाइ धन्यबाद । समस्या सङ्ग नडाराउनुहोला । समस्या तपाईं लाइ तपाईं को योग्यताअनुसार नै आउने हुन । अएथात तपाईं आफ्ना समस्याहरु समाधान गर्न सक्नुहुन्छ । तर धैर्यता भने अवश्य चाहिन्छ । सपना देख्नका लागि ठूलो सहरमा जन्मिनुपर्दैन। आफ्नो सुरुवात सानो भए पनि गन्तव्य ठूलो हुन सक्छ। र सफलता पाएपछि आफ्नो समुदायलाई दिन सक्नु नै सफलताको अर्को अर्थ हो। आफ्नो गोल के हो सेट गर्नुस, हरेस नखानुस । मेरा नभनिएका र नदेखिएका सयौँ कठिन र च्यालेन्जिङ्ग कथाहरु छन । तपाईं का पनि होलान । दुइ कुरा ध्यान दिनु: पहिलो, समयभन्दा अघि केहि पनि पाइँदैन अनि मेहेनत बिना केहिपनि प्राप्त हुदैन । दोश्रो, गलत मान्छे भेटिन्छन जिवनमा, सकेसम्म छिटो सङ्गत छोड्नु र आफ्नो यात्रामा एक्लै रमाउनु , समस्या सङ्ग पनि एक्लै जुध्नु। एक्लै लडेर सधै जित्नुको मज्जा बेग्लै हुन्छ । त्यसपछि तपाईं जत्ति बलियो र उच्च शिर अनि आत्मविस्वास ले भरिएको अर्को मान्न्छे भेट्न मुस्किल पर्छ । यि सबै भोगाइ र अनुभव ले सिकाएका कुरा हुन । धेरै कुरा गर्नुछ, मानव जगतमा सङ्गै हिड्नु छ । समयले हामिलाइ विभिन्न परिवेशमा पक्कै भेट गराउनेछ । म सङ्ग कुनै प्रत्यक्ष प्रश्न , जिज्ञाशा वा सुझाव भए कृपया म आभारि हुनेछु ।
उहाँको को सफलताको र सङसङ्घर्षको कथा प्रस्तुत गर्दा हामिलाइ पनि खुशी लाग्यो । डा. किसान खत्रीलाई आगामी वैज्ञानिक, अनुसन्धान , व्यावसायिक तथा सामाजिक यात्राका लागि हार्दिक शुभकामना।














