खुसीको गाउँ: विस्थापन, प्रेम र पहिचानको गहिरो कथा
त्रिविक्रम नेउपाने
“यो किताब केवल कथा होइन, एउटा जीवनको अनुभूति हो…”
म यो पुस्तक हातमा लिँदा यसले यति गहिरो यात्रा गराउँछ भन्ने कल्पना गरेको थिइनँ। यसकी लेखिका खगिन्द्रा खुसी मेरा छोराहरूलाई नेपाली भाषा सिकाउने शिक्षक हुनुहुन्छ भन्ने तथ्यले यस कृतिलाई अझ व्यक्तिगत, नजिक र भावनात्मक बनाएको छ।
सुरुमा यो सामान्य कथाजस्तो लागे पनि पटक–पटक पढ्दै जाँदा यसले भुटानबाट विस्थापित भएर झापाको खुदुनाबारीजस्ता क्षेत्रमा पुगेका शरणार्थीहरूको जीवन, उनीहरूको संघर्ष, पीडा र अनिश्चित भविष्यलाई अत्यन्त संवेदनशील रूपमा उजागर गरेको महसुस हुन्छ। झापा अब केवल एउटा भूगोल होइन, हजारौँ विस्थापित जीवनहरूको अस्थायी आश्रय जस्तो लाग्न थाल्छ। शिविरहरूको संरचना बाहिरबाट हेर्दा व्यवस्थित देखिए पनि भित्रभित्रै त्यो जीवन स्थायित्वभन्दा बढी प्रतीक्षा र पहिचान खोजीको कथा हो।
संयुक्त राष्ट्रसंघको सहयोगले आधारभूत सुविधा उपलब्ध भए पनि त्यो जीवन पूर्ण स्वतन्त्रता होइन रहेछ भन्ने अनुभूति बारम्बार हुन्छ। बाँच्ने आधार छ, तर आफ्नो भन्न सकिने स्थायी ठाउँ छैन।
उपन्यासको अर्को महत्त्वपूर्ण पक्ष स्थानीय समुदाय र शरणार्थीबिचको सम्बन्ध हो। स्थानीयहरूले वन, दाउरा र स्रोतबाट जीविका चलाउँछन् भने शरणार्थीहरूले सस्तो श्रममार्फत कृषि र अन्य काममा योगदान दिन्छन्। एकअर्कामा निर्भर भए पनि सामाजिक दूरी र भावनात्मक विभाजन भने स्पष्ट रूपमा देखिन्छ। यो सम्बन्ध केवल आर्थिक होइन, बाध्यताले बनेको सहअस्तित्व हो।
कथाको भावनात्मक केन्द्र राजेन्द्र र राधाको प्रेमकथा हो। बाल्यकालदेखि सुरु भएको उनीहरूको सम्बन्ध समयसँगै गहिरो हुँदै जान्छ, तर समाजको दृष्टि, पहिचानको समस्या र परिस्थितिको कठोरताले उनीहरूलाई एकै जीवनमा बाँधिन दिँदैन। उनीहरू छुटिन्छन्, तर भावना हराउँदैन। जीवन अघि बढ्छ, तर मन कतै अड्किरहन्छ।
राधाको फूलखेती मार्फत आत्मनिर्भर बन्ने यात्रा भने अत्यन्त प्रेरणादायी छ। दुःखलाई कमजोरी होइन, शक्तिमा बदल्ने उनको प्रयासले यो उपन्यासलाई केवल पीडाको कथा होइन, सम्भावनाको कथा पनि बनाएको छ।
उपन्यासमा केही विषयहरू जानाजानी खुला छोडिएका छन्, जस्तै राधाको सन्तान नहुनु। यसले पाठकलाई एकै उत्तरमा बाँध्दैन, बरु सोच्न, अनुमान गर्न र जीवनलाई फरक कोणबाट हेर्न प्रेरित गर्छ।
समग्रमा “खुसीको गाउँ” केवल एउटा उपन्यास होइन—यो विस्थापन, प्रेम, संघर्ष, सामाजिक विभाजन र आत्मनिर्भरताको बहुआयामिक दस्ताबेज हो।
एक अभिभावकको रूपमा भन्नुपर्दा, यस्ता कृतिहरूले भाषा मात्र होइन, जीवन बुझ्ने दृष्टिकोण पनि दिन्छन्।
एक अभिभावक तथा पाठकको समग्र अनुभूत ।
र यो पनि …

















