सुशासनका लागि सूचनाको हक अपरिहार्य: पूर्व प्रमुख आयुक्त गुरुङ
गोदावरी, ललितपुर / सूचनाको हकका लागि राष्ट्रिय महासंघ नेपालको बाग्मती प्रदेशको दोस्रो सम्मेलन तथा “प्रमाणमा आधारित पत्रकारिताका लागि सूचनाको हक” विषयक प्रादेशिक अन्तरक्रिया कार्यक्रम आजदेखि ललितपुरको गोदावरीमा सुरु भएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, युरोपेली युनियन र इन्टरनेसनल आइडियाको सहयोगमा आयोजित उक्त दुई दिने कार्यक्रमको भव्य उद्घाटन गरिएको हो।
कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख आयुक्त महेन्द्र मान गुरुङले मुलुकमा सुशासन प्रवर्द्धन गर्न र भ्रष्टाचार अन्त्यका लागि सूचनाको हक अपरिहार्य औजार भएको बताए ।
उनले राज्यका हरेक निकायलाई पारदर्शी र उत्तरदायी बनाउन नागरिक तहबाट सूचनाको माग र प्रयोग व्यापक हुनुपर्नेमा जोड दिए । ‘सूचना मागौँ, भ्रष्टाचारको अन्त्य गरौँ’ भन्ने मूल नारालाई आत्मसात् गर्दै अघि बढे मात्रै लोकतन्त्र बलियो हुने उनको भनाइ थियो।
सोही अवसरमा वरिष्ठ पत्रकार रामकृष्ण रेग्मीले “प्रमाणमा आधारित पत्रकारिताका लागि सूचनाको हकको प्रयोग” विषयमा केन्द्रित रहेर सहभागी सञ्चारकर्मी तथा सूचनाका अभियन्ताहरूलाई विशेष प्रशिक्षण प्रदान गरे । उनले सतही कुराका पछि लाग्नुभन्दा तथ्य र प्रमाण जुटाएर गरिने पत्रकारिता बढी विश्वसनीय, वजनदार र प्रभावकारी हुने चर्चा गरे ।
मिडिया ट्रायलको मारमा परेको पूर्व आयुक्त भण्डारीको गुनासो

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सहभागी राष्ट्रिय सूचना आयोगकी पूर्व आयुक्त सविता भण्डारीले आफू नियोजित ‘मिडिया ट्रायल’ को सिकार भएको भन्दै गम्भीर गुनासो पोखिन ।
सञ्चारमाध्यम र पत्रकारहरूले यथार्थ र सत्यतथ्य नबुझी, एकपक्षीय रूपमा आफू विरुद्ध समाचार सम्प्रेषण गरेको आरोप उनले लगाइन । यद्यपि, आफूमाथि लागेका आरोप वा विवादको वास्तविक सत्य के हो भन्नेबारे भने भण्डारीले कार्यक्रममा विस्तृत रूपमा खुलाउन चाहिनन् ।
बाग्मती प्रदेशका विभिन्न जिल्लाबाट आएका सूचनाका अभियन्ता, नागरिक समाजका प्रतिनिधि र पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको यो प्रादेशिक सम्मेलन तथा अन्तरक्रिया कार्यक्रम भोलि असार १८ गतेसम्म सञ्चालन हुने अध्यक्ष उमिद बागचनले जनाए ।
कार्यक्रममा सूचनाको हकको कार्यान्वयनको अवस्था, विद्यमान चुनौती र आगामी कार्यदिशाबारे गहन छलफल हुने छ।

















