५२ वर्षपछि विश्वकपमा फर्किएको कङ्गोको पोर्चुगलमाथि रवाफ, विश्व कपमा ऐतिहासिक पहिलो गोल
गोबिन्द गुरुङ
कार्लाल, पेन्सिलभेनिया / फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को आफ्नो पहिलो खेलमा डीआर कङ्गोले पोर्चुगलसँग १–१ को बराबरी खेल्दै विश्व फुटबल मञ्चमा सशक्त पुनरागमन गरेको छ।
५२ वर्षपछि विश्वकपमा फर्किएको अफ्रिकी टोलीले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिताको बलियो दाबेदार मानिएको पोर्चुगललाई अङ्क बाँड्न बाध्य बनायो।
ह्युस्टन स्टेडियममा भएको खेलमा पोर्चुगलले सुरुवातमै अग्रता लिएको थियो। खेलको छैटौँ मिनेटमा जोआँ नेभेसले पेड्रो नेटोको उत्कृष्ट क्रसलाई हेडमार्फत गोलमा परिणत गर्दै पोर्चुगललाई १–० को अग्रता दिलाए। प्रारम्भिक दबाब कायम राखेको पोर्चुगलले थप अवसर सिर्जना गरे पनि गोलको अन्तर बढाउन सकेन।
डीआर कङ्गो दबाबमा नझुकी निरन्तर सङ्घर्षरत रह्यो। पहिलो हाफको इन्जुरी समयमा, ४५ औँ मिनेटमा योआने विस्साले कर्नरबाट आएको बललाई शानदार हेडमार्फत गोलमा परिणत गर्दै खेल १–१ को बराबरीमा ल्याए। यो गोल डीआर कङ्गोको विश्वकप इतिहासकै पहिलो गोलका रूपमा दर्ता भएको छ।

डीआर कङ्गोले सन् १९७४ मा पहिलो पटक विश्वकप खेलेको थियो। त्यति बेला उनीहरू स्कटल्यान्ड, युगोस्लाभिया र ब्राजिलसँग पराजित भएका थिए। तीन खेलमा १४ गोल खाँदा एक गोल पनि गर्न नसकेको टोली त्यसपछि लगातार १२ संस्करणमा छनोट हुन असफल रह्यो। ५२ वर्षपछि विश्वकपमा फर्किएको टोलीले पहिलो खेलमै पोर्चुगलसँग बराबरी खेल्दै नयाँ इतिहास रचेको छ।
दोस्रो हाफमा डीआर कङ्गोले केही खतरनाक अवसर सिर्जना गर्यो। सेड्रिक बाकाम्बुको प्रहार पोस्टमा लागेर फर्किएको थियो, जसले पोर्चुगललाई ठुलो राहत दिएको थियो। त्यस्तै, क्रिस्टियानो रोनाल्डोले पनि दुई उत्कृष्ट अवसर सदुपयोग गर्न सकेनन्। पोर्चुगलसँग बल नियन्त्रण बढी भए पनि डीआर कङ्गोको सङ्गठित रक्षापंक्ति तथा तीव्र प्रतिआक्रमणले खेललाई सन्तुलित बनायो।

यो नतिजाले समूह ‘के’ को प्रतिस्पर्धालाई अझ रोमाञ्चक बनाएको छ। पोर्चुगललाई अब आगामी खेलहरूमा जित निकाल्न दबाब बढेको छ । यता डीआर कङ्गोले विश्वकपमा आफ्नो उपस्थितिलाई बलियो रूपमा दर्ता गराएको छ। ५२ वर्षको प्रतीक्षापछि फर्किएको टोलीका लागि यो बराबरी जितसरह मानिएको छ । जसले विश्व फुटबलमा उनीहरूको नयाँ अध्यायको सङ्केत दिएको छ।
तस्विर सौजन्य: फिफा

















