ह्यारिसबर्गमा हुने ‘पानीमा सुरक्षा’ तालिममा सहभागिताका लागि दर्ता उत्साहजनक
ह्यारिसबर्ग, पेन्सिलभेनिया / क्रियामण फाउन्डेशनले पेन्सल्भेनियाको ह्यारिसबर्गमा ‘पानीमा सुरक्षा’ सम्बन्धी प्रशिक्षण दिने भएको छ ।
फाउन्डेशन अन्तर्गत ‘पेरेन्ट्स फर प्रोग्रेस’ ले पानीमा सुरक्षा सम्बन्धी प्रशिक्षण दिन लागेको छ ।
परियोजनाका व्यवस्थापक पातलो अन्तरेका अनुसार जुनको अन्तिम साता प्रशिक्षण आयोजना हुने छ । जुन १४ तारिख सम्मका लागि दर्ता समय तोकिएको छ। अन्तरेका अनुसार हाल सम्म ६० परिवारले आफ्ना बालबालिकाको नाम दर्ता गरेका छन्।
‘हामी अभिवाकको समन्वयमा उहाँहरूकै लागि कार्यक्रम गर्दै आएका छौ, गर्मी मौसम सुरु भएसँगै पौडी पोखरी, नदी, ताल तथा पानीसँग सम्बन्धित गतिविधिहरू बढिरहेका हुन्छन्,’ अन्तरेले भने, ‘गर्मीमा पानीको आनन्द लिँदा लिँदै कतिपय अवस्थामा असावधीवस दुर्घटनाहरू पनि बढी रहेका छन् त्यसलाई न्यूनीकरण गर्न हामीले प्रशिक्षणको व्यवस्था गरेका हौ ।’
‘पानीजन्य दुर्घटनाहरू अझै पनि बालबालिकाको सुरक्षासँग जोडिएको गम्भीर चिन्ताको विषय बनेको छ।’ उनले भने ।
अन्तरेका अनुसार प्रशिक्षणमा सहभागि हुन दर्ता अनिवार्य गरिएको छ ।
‘दर्ता गर्दा एक जनाको पाँच डलर शुल्क लाग्छ’ अन्तरेले भने,’हामी पानीमा र बाहिर पनि मान्यताप्राप्त प्रशिक्षकद्वारा प्रशिक्षण गराउँछौ ।’
‘अमेरिकामा प्रत्येक वर्ष सयौँ बालबालिकाले डुबेर ज्यान गुमाउने वा गम्भीर दुर्घटनामा पर्ने घटनाहरू सार्वजनिक भइरहेका बेला समुदाय स्तरमै सचेतना र प्रशिक्षणको आवश्यकता झन् बढेको छ।’ उनले भने।
अन्तरेका अनुसार अहिले सम्मको दर्ता उत्साहजनक रहेको र अन्तिम दिन पछि सहभागीको संख्या हेरेर त्यसै अनुसारको प्रशिक्षण स्थल तय गरिने छ ।
यो विशेष प्रशिक्षण कार्यक्रम १६ वर्षमुनिका बालबालिका तथा किशोर–किशोरीहरूलाई लक्षित गरी तयार गरिएको हो।
कार्यक्रममा ३० मिनेटका ८ वटा व्यवस्थित सत्रहरू समावेश गरिएको छ, जसमा सहभागीहरूले पानी वरिपरिको आधारभूत सुरक्षा, आकस्मिक अवस्थामा आफूलाई कसरी सुरक्षित राख्ने, अरूलाई सुरक्षित रूपमा सहयोग गर्ने, जोखिम पहिचान गर्ने, तथा पानीप्रति आत्मविश्वास विकास गर्ने जीवनोपयोगी सीपहरू सिक्नेछन्।
‘आजको समयमा बालबालिकालाई केवल शैक्षिक रूपमा सफल बनाउनु मात्र पर्याप्त छैन। उनीहरूलाई जीवन बचाउन सक्ने आधारभूत सीप सिकाउनु पनि उत्तिकै आवश्यक छ ।’ अन्तरेले भने, ‘पानीमा सुरक्षा भनेको केवल पौडी खेल्न सिक्नु होइन; यो जोखिम बुझ्ने, सही निर्णय लिन सक्ने र आकस्मिक परिस्थितिमा संयमित रहने सीप विकास गर्ने प्रक्रिया हो।’
पेरेन्ट्स फर प्रोग्रेस कार्यक्रमले अभिभावकहरूलाई केवल दर्शक होइन, सक्रिय सहयात्रीको रूपमा जोड्ने प्रयास गरिरहेको उनले बनाए ।
‘यो एउटा खुला सामुदायिक मञ्च हो, जहाँ अभिभावकहरू आपसमा जोडिन्छन्, अनुभव र विचार आदानप्रदान गर्छन्, तथा आफ्ना बालबालिकाको समग्र विकासका लागि अर्थपूर्ण सिकाइ वातावरण कसरी निर्माण गर्न सकिन्छ भन्ने विषयमा सहकार्य गर्छन्।’ अन्तरेले भने।
उनले समुदायमा बढ्दो सहभागिताले एउटा सकारात्मक सन्देश दिएको बताए ।
‘अभिभावकहरू आफ्ना बालबालिकाको सुरक्षाप्रति सचेत र जिम्मेवार बन्दै गइरहेका छन्। अहिले सम्म ६० भन्दा बढी परिवारहरूले यो अवसरको महत्त्व बुझेर आफ्ना बालबालिका सहभागी गराइसकेका छन् । अन्य परिवारहरूले पनि यसलाई गम्भीर रूपमा लिनुपर्ने आवश्यकता देखिन्छ।’ अन्तरेले भने, ‘आजको सानो निर्णयले भोलिको ठूलो दुर्घटना रोक्न सक्छ।’
उनले पोस्टरको वारकोर्ड मार्फत दर्ता गर्न सकिने बताए ।

















