पेन्सिल्भेनिया ह्यारिसबर्गमा एआरयु र बीसीसीपीएको संयुक्त कार्यक्रम ‘वेलनेस डे’ (भिडियो रिपोर्ट)
ह्यारिसबर्ग, पेन्सिल्भेनिया / पेन्सिल्भेनियाको ह्यारिसवर्गमा बसोबास गर्ने नेपाली भाषी भूटानी समुदायमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या न्यूनीकरण गर्न र आपसी भाइचारा बढाउन एक विशेष कार्यक्रम सम्पन्न भएको छ।
एशियन रिफ्युजी युनाइटेड (एआरयु) अन्तर्गत प्रोजेक्ट पाथवे टु होप र भूटनीज कम्युनिटी अफ सेन्ट्रल पेन्सिल्भेनिया (बीसीसीपीए) को संयुक्त आयोजनामा आइतबार ‘वेलनेस डे’ मनाइएको हो।
बसीसीपीएकी अनुसन्धान सहायक रुविना थापाका अनुसार समुदायमा शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्यलाई राम्रो बनाउन, तनाव कम गर्न, र जीवनशैलीमा सुधार ल्याउनका कार्यक्रमा आयोजना गरिएको हो।
ह्यारिसबर्गको सेन्ट्रल डल्फिन इष्ट मिडिल स्कुलमा आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले मानसिक र शारीरिक स्वास्थ्यलाई सन्तुलनमा राख्ने विभिन्न उपायहरू सिक्ने अवसर पाए।
झण्डै तीन घण्टा आयोजित कार्यक्रममा मानसिक स्वास्थ्य सम्बन्धी परामर्श, कार्यशाला र मनोरञ्जनात्मक खेलहरू समेत समावेश थिए। आयोजक र सहभागी दुवै पक्षले कार्यक्रम सोचेभन्दा बढी प्रभावकारी र सफल भएको प्रतिक्रिया दिएका छन्।
कार्यक्रममा सहभागीले यस प्रकारको सामूहिक जमघटले मनको बोझ हलुका बनाउन र नयाँ ऊर्जा प्राप्त गर्न ठूलो मद्दत पुर्याएको बताए।
मानसिक स्वास्थ्य जस्तो संवेदनशील विषयमा खुलेर बहस गर्न र समुदायलाई स्वस्थ राख्न यस्ता कार्यक्रमहरू कोसेढुङ्गा सावित हुन सक्छन्। ह्यारिसवर्गमा सम्पन्न यो ‘वेलनेस डे’ ले आगामी दिनमा समुदायभित्र मानसिक स्वास्थ्य सम्बन्धी मौनता तोड्न ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।

















