भूटानी अमेरिकी समुदाय र शंकाको घेरा
त्रिविक्रम नेउपाने
कहिलेकाहीँ अमेरिकी समाजमा देखिने एउटा गहिरो र दोहोरिरहने समस्या के हो भने—जब केही व्यक्तिहरूले गल्ती गर्छन्, वा उनीहरूमाथि फ्रड (धोखाधडी, जालसाजी, ठगी) जस्ता गम्भीर आरोपहरू लाग्छन्, त्यस घटनालाई आधार बनाएर विस्तारै त्यो कुरा केवल व्यक्तिगत स्तरमा सीमित रहँदैन। त्यो कथालाई बढाएर, मिडिया, सामाजिक सञ्जाल वा अफवाहमार्फत फराकिलो बनाइन्छ, र अन्ततः त्यो कुरा पूरै समुदायसँग जोड्ने प्रवृत्ति सुरु हुन्छ। यहीँबाट सबैभन्दा ठूलो अन्यायको सुरुवात हुन्छ।
अमेरिकाको कानुनी प्रणालीको आधार नै “ड्यू प्रोसेस” हो—अर्थात् निष्पक्ष अनुसन्धान, प्रमाण, र अदालतको निर्णय बिना कसैलाई दोषी मान्न मिल्दैन। यही प्रणालीले अमेरिकालाई अन्य धेरै देशहरूभन्दा फरक बनाउने दाबी गरिन्छ। यहाँ हरेक व्यक्तिलाई “इनिसेन्ट अन्टिल प्रुभन गिल्टी” दोष प्रमाणित नभएसम्म निर्दोष मानिने सिद्धान्त मानिन्छ, चाहे उसको पृष्ठभूमि, जातीयता, धर्म वा आप्रवासी स्थिति जे भए पनि। यदि कसैले मेडिकल फ्रड वा कुनै अन्य आर्थिक अपराध गरेको आरोप लाग्छ भने, त्यो व्यक्तिको केस व्यक्तिगत रूपमा हेर्नुपर्छ, प्रमाणका आधारमा निर्णय हुनुपर्छ, र कानुनी प्रक्रिया पूरा हुनुपर्छ।
तर व्यवहारमा समस्या के देखिन्छ भने, केही घटनाहरूलाई मिडिया वा सामाजिक बहसले छिटो नै समुदायसँग जोडिदिन्छ। विशेषगरी आप्रवासी वा अल्पसंख्यक समुदायहरूको सन्दर्भमा यस्तो हुने सम्भावना अझ बढी हुन्छ। यही कारणले भूटानी–अमेरिकी समुदाय जस्ता समूहहरू कहिलेकाहीँ अनावश्यक रूपमा शंकाको घेरामा पर्छन्।
पहिलो कुरा स्पष्ट रूपमा बुझ्नुपर्छ, हरेक व्यक्ति आफ्ना निर्णय, व्यवहार र कामका लागि आफैं जिम्मेवार हुन्छ। कुनै पनि आपराधिक गतिविधि व्यक्तिगत स्तरमा मात्र मूल्याङ्कन हुनुपर्छ। यदि कसैले कानुनविपरीत काम गरेको छ भने, उसलाई अनुसन्धान गरिनुपर्छ, प्रमाण संकलन हुनुपर्छ, निष्पक्ष सुनुवाइ हुनुपर्छ, र अदालतले मात्र अन्तिम निर्णय गर्नुपर्छ। कुनै पनि व्यक्ति आरोपका आधारमा दोषी हुँदैन। प्रमाण, तथ्य र प्रक्रिया बिना दोषी ठहर गर्नु न्याय होइन, त्यो अनुमान हो।
तर समस्या त्यतिबेला सुरु हुन्छ जब हामी व्यक्तिगत जिम्मेवारीको सट्टा सामूहिक पहिचानलाई दोष दिन थाल्छौं। केही व्यक्तिको गल्तीलाई लिएर पूरै समुदायलाई एउटै नजरले हेर्न थालिन्छ। अमेरिकामा यो समस्या ऐतिहासिक रूपमा पनि देखिएको छ। विभिन्न आप्रवासी समूहहरू, जातीय समुदायहरू वा धार्मिक समूहहरूलाई समय समयमा केही व्यक्तिका घटनाका आधारमा गलत रूपमा सामान्यीकरण गरिएको छ। यो प्रवृत्ति केवल वर्तमान होइन, अमेरिकाको सामाजिक इतिहासमा पनि दोहोरिएको विषय हो।
भूटानी अमेरिकी समुदायलाई उदाहरणका रूपमा हेर्दा, यो समुदाय कुनै एउटै सोच, एउटै व्यवहार वा एउटै जीवनशैली भएको समूह होइन। यो समुदाय शरणार्थी पुनर्वास कार्यक्रममार्फत अमेरिका आएको हो, जहाँ उनीहरूले दशकौंसम्म शिविर जीवन, विस्थापन र असुरक्षित अवस्थाबाट गुज्रिएका छन्। अमेरिकामा आएपछि उनीहरूले नयाँ भाषा सिक्नुपरेको छ, नयाँ कानुनी प्रणाली बुझ्नुपरेको छ, रोजगारी र शिक्षा प्रणालीसँग आफूलाई अनुकूल बनाउनुपरेको छ।
यस्तो जटिल र कठिन पृष्ठभूमिबाट आएको समुदायलाई केही व्यक्तिको आरोपित कार्यसँग जोडेर सम्पूर्ण रूपमा शंकाको नजरले हेर्नु न केवल तथ्यात्मक रूपमा गलत हो, तर अमेरिकाको आफ्नै मूल मूल्य— समानता र निष्पक्षता, न्यायसंगतता सँग पनि विरोधाभास हुन्छ।
अमेरिकामा “अल मेन आर क्रिएटेड इक्वल ” भन्ने सिद्धान्त केवल शब्द मात्र होइन, यो कानुनी र सामाजिक आदर्श हो। तर यदि केही व्यक्तिका कार्यका आधारमा सम्पूर्ण समुदायलाई दोष दिन थालियो भने, त्यो सिद्धान्त कमजोर हुन्छ। किनभने त्यसपछि न्याय व्यक्तिगत नभई सामूहिक पूर्वाग्रहमा आधारित हुन थाल्छ।
अझ गहिरो रूपमा हेर्दा, यस्तो सामान्यीकरणले निर्दोष मानिसहरूलाई सीधा असर गर्छ। उनीहरूलाई शंका, प्रोफाइलिङ, डिस्क्रिमिनेसन वा गलत धारणा को सामना गर्नुपर्छ। उनीहरूको मेहनत, योगदान र इमान्दारी ओझेलमा पर्छ, किनभने उनीहरूको पहिचान एउटा नकारात्मक घटनासँग जोडिन्छ। अमेरिकामा आप्रवासी समुदायहरूले लामो समयदेखि यस्ता चुनौतीहरु सामना गर्दै आएका छन्।
अमेरिकी न्याय प्रणालीको अर्को महत्वपूर्ण पक्ष भनेको प्रिजम्प्सन अफ इनिसेन्स हो। अर्थात् कुनै पनि व्यक्तिलाई दोषी मान्न मिल्दैन जबसम्म प्रमाणले त्यसलाई पुष्टि गर्दैन। यदि मेडिकल फ्रड जस्तो आरोप प्रमाणित हुन सकेन भने, त्यो व्यक्ति कानुनी रूपमा निर्दोष हुन्छ। यस्तो अवस्थामा उसलाई तुरुन्त रिहा गर्नु मात्र होइन, उसको अधिकार, प्रतिष्ठा र भविष्यमा परेको असरलाई पनि सम्बोधन गर्नुपर्छ।
तर यहाँ एउटा अझ ठूलो सामाजिक समस्या छ— सञ्चारमाध्यमको प्रस्तुति र जनधारणा । अमेरिकामा कहिलेकाहीँ केही घटनाहरू सेन्सेसनलाइज (सनसनीपूर्ण बनाउनु) गरिन्छ, जसले गर्दा व्यक्तिगत केसहरूलाई समुदायसँग जोड्ने वातावरण बनाइन्छ। यो कुरा विशेषगरी आप्रवासी समुदायका लागि संवेदनशील हुन्छ, किनभने उनीहरू पहिले नै सोसल इन्टिग्रेसन (समाजका विभिन्न वर्ग, जातजाति, र समुदायहरू एकसाथ मिलेर बस्ने प्रक्रिया) को प्रक्रियामा हुन्छन्।
त्यसैले न्याय केवल अदालतको भित्र मात्र सीमित विषय होइन। यो समाजको सोच, संचार माध्यमको प्रस्तुति, र सार्वजनिक बहस सँग पनि जोडिएको हुन्छ। यदि समाजले व्यक्तिगत घटनाबाट सामूहिक निष्कर्ष निकाल्न थाल्यो भने, कुनै पनि अल्पसंख्यक वा आप्रवासी समुदाय सधैं शंकाको घेरामा रहनेछ। यसले अमेरिकी समाजको विविधता र समावेशीकरण को मूल भावनालाई कमजोर बनाउँछ।
त्यसैले न्याय त्यतिबेला मात्र पूर्ण हुन्छ जब हामी प्रत्येक व्यक्तिलाई उसको आफ्नै काम, आफ्नै प्रमाण र आफ्नै व्यवहारका आधारमा मूल्याङ्कन गर्छौं। न कि उसको समुदाय, जातीयता, वा आप्रवासी पृष्ठभूमिका आधारमा।
भूटानी–अमेरिकी समुदाय जस्तो समूहको सन्दर्भमा यो कुरा अझ महत्वपूर्ण हुन्छ, किनभने उनीहरूको पहिचान नै संघर्ष, पुनर्निर्माण र अमेरिकी समाजमा योगदानसँग जोडिएको छ। केही व्यक्तिको गल्तीले हजारौं निर्दोष मानिसहरूको जीवन परिभाषित गर्न सक्दैन।
अन्ततः, अमेरिकी न्यायीक मूल्यहरूको वास्तविक अर्थ यही हो, प्रत्येक व्यक्तिलाई व्यक्तिगत रूपमा जिम्मेवार ठहर गर्नु, प्रमाणलाई सर्वोच्च मान्नु, निर्दोषलाई संरक्षण गर्नु, र कुनै पनि समुदायलाई केही व्यक्तिको गल्तीको आधारमा कहिल्यै पनि दोषी नठहराउनु। यही सोचले मात्र समाजलाई निष्पक्ष, सुरक्षित, विविधतापूर्ण र एकताबद्ध बनाउन सक्छ।
(पेन्सिल्भेनियाको ल्यानक्यास्टर निवासी नेउपाने साहित्यकार हुन् ।)
र यो पनि ….

















