पेन्सिल्भेनिया डेमोक्र्याटिक प्राइमरी : ड्रिस्ट्रिक १० मा जनिल स्टेलसनको सानदार जित
ह्यारिसबर्ग, पेन्सिल्भेनिया / पेन्सिल्भेनियाको १० औं कङ्ग्रेशनल डिस्ट्रिक्टको बहुप्रतीक्षित डेमोक्र्याटिक प्राइमरी चुनावमा जनिल स्टेलन भारी मत अन्तरले विजयी भएकी छिन्।
मंगलवार भएको चुनावमा पूर्व टेलिभिजन न्युज एंकर जनिलले ६९.२ प्रतिशत मत प्राप्त गरेकी छिन् । जेनिलले डाउपीन काउन्टीका कमिस्नर बोर्ड अध्यक्ष जस्टिन डगलसलाई हराएकी हुन् । डगलसले ३०.८ प्रतिशत मत मात्र प्राप्त गरे।
जनिलले अब नोभेम्बरमा हुने आम चुनावमा रिपब्लिकन सांसद स्कट पेरी सँग फेरि भिड्ने छिन्। यस अगाडिको चुनावमा जनिल पेरी सँगै एक प्रतिशत मतले पराजित भएकी थिइन्।
राष्ट्रपति डोनाल्ड ट्रम निकट पेरी आठौँ कार्यकालका लागि चुनावी मैदानमा हुने छन्। पेरी यस पटक रिपब्लिकन प्राइमरीमा निर्विरोध निर्वाचित भएका हुन्।
डाउपीन काउन्टीको सम्पूर्ण भाग तथा कम्बरल्यान्ड र योर्क काउन्टीका केही क्षेत्रहरू यो १० औं डिस्ट्रिक्टमा पर्दछ । यो क्षेत्रमा नेपाली भाषी भूटानी समुदायको बाक्लो बसोबास छ।
यस पटकको प्राइमरीमा नेपाली भाषी समूह दुवै उम्मेदवारको पक्षमा बाँडिएका थिए।
चुनाव जितेपछि आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै जनिलले देशमा बढ्दो दैनिक जीवनयापनको लागत घटाउने, महिलाको गर्भपतन सम्बन्धी अधिकारलाई कानुनी रूपमै सुनिश्चित गर्ने र कंग्रेस सदस्यहरूलाई व्यक्तिगत स्टक ट्रेडिङ गर्न प्रतिबन्ध लगाउने जस्ता जन पक्षीय मुद्दाहरूलाई नोभेम्बरको चुनावमा मुख्य एजेन्डा बनाउने प्रतिबद्धता व्यक्त गरिन्।
यस्तै पराजय स्वीकार गर्दै डगलसले ह्यारिसबर्गमा आफ्ना समर्थकहरूलाई सम्बोधन गरे। उनले चुनाव हारे पनि आफ्नो अभियानले समुदायमा ठूलो प्रभाव छाडेको दाबी गरे।
प्राइमरी चुनाव अघि जनिलसँग वैचारिक मतभेद राखेका डगलसले नोभेम्बरमा उनलाई समर्थन गर्ने वा नगर्ने भन्नेबारे भने तत्कालै स्पष्ट पारेका छैनन्।




















