नेपाल राष्ट्र बैंकको आग्रह: परिपक्व बचत पत्रको साँवा–ब्याज तुरुन्त बुझ्न आग्रह
काठमाडौं । नेपाल राष्ट्र बैंकले परिपक्व भइसकेका बचत पत्रको साँवा तथा ब्याज रकम अझै नलिएको पाइएपछि सम्बन्धित बचतपत्रधनीलाई यथाशीघ्र भुक्तानी लिन आह्वान गरेको छ ।
राष्ट्र बैंक अन्तर्गतको मौद्रिक व्यवस्थापन विभागले नागरिक बचत पत्र र वैदेशिक रोजगारी बचत पत्रका धनीहरूलाई लक्षित गर्दै सूचना जारी गर्दै २०८१ जेठ मसान्तसम्म परिपक्व भएका तर भुक्तानी लिन बाँकी रहेका रकम तुरुन्त बुझ्न आग्रह गरेको हो ।
विभागद्वारा जारी सूचनामा भनिएको छ, “नेपाल सरकारका तर्फबाट राष्ट्र बैंकमार्फत जारी भएका नागरिक बचत पत्र र वैदेशिक रोजगार बचत पत्रका कतिपय धनीले परिपक्व भएको साँवा तथा आर्जित ब्याज रकम भुक्तानी लिन बाँकी रहेको देखिएकाले यथाशीघ्र सम्पर्क गरी भुक्तानी लिनुहुन अनुरोध छ ।”
राष्ट्र बैंकले लामो समयसम्म परिपक्व रकम दाबी नगरी राख्नु उपयुक्त नहुने उल्लेख गर्दै सम्बन्धित बचतपत्रधनी वा उनीहरूका आधिकारिक प्रतिनिधिलाई आवश्यक कागजातसहित मौद्रिक व्यवस्थापन विभागमा सम्पर्क गर्न आग्रह गरेको छ ।
नागरिक बचत पत्र र वैदेशिक रोजगारी बचत पत्र नेपाल सरकारद्वारा जारी गरिने सरकारी ऋण उपकरण हुन्, जसमार्फत सर्वसाधारण तथा विदेशमा कार्यरत नेपालीबाट आन्तरिक स्रोत परिचालन गरी विकासका कार्यक्रम सञ्चालन गरिँदै आएको छ ।














