‘एनआरएनएमा एकता जोगाउनेकी विवाद दोहोर्याउने’ : सञ्जय थापा
हामी गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को १२औँ अधिवेशनको संघारमा छौँ। कार्यतालिका अनुसार अबको करिब ५ दिनपछि काठमाडौँमा अधिवेशन सुरु हुँदैछ। तर यहाँसम्म आइपुग्दा पनि अझै धेरै अन्यौलता विद्यमान देखिनु संस्थाका लागि सुखद संकेत भने होइन।
राष्ट्रिय समन्वय परिषद्हरूले पठाउनुपर्ने सदस्यता शुल्क तथा अधिवेशन प्रतिनिधि सम्बन्धी प्रक्रिया कतिपय देशहरूबाट पठाएको नामावली अझै अन्तिम भइसकेको छैन। त्यसमाथि मध्यपूर्व क्षेत्रमा बढेको तनावका कारण त्यहाँबाट प्रतिनिधिहरू नेपाल पुग्न सक्ने अवस्था पनि सहज देखिएको छैन।
केही उडान मार्गहरू बन्द भएका कारण अन्य रुटहरूको हवाई भाडा दोब्बरभन्दा बढी पुगेको छ, जसले धेरै प्रतिनिधिहरूको सहभागितामा थप कठिनाइ सिर्जना गरेको छ। यस्तो परिस्थितिमा अधिवेशनमा व्यापक र समान सहभागिता सुनिश्चित गर्न चुनौती देखिनु स्वाभाविक पनि हो।
सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको “एकता” को नाममा हुन लागेको अधिवेशन भए पनि प्रतिनिधि चयन र निर्वाचन विधिका कारण सबै पक्ष सहभागी हुन पाउने वातावरणमा अझै पनि शङ्का देखिनु हो। अधिवेशन नजिकिँदै गर्दा पनि यस्ता प्रश्नहरू समाधान नहुनु संस्थाको दीर्घकालीन हितका लागि चिन्ताजनक विषय हो।
त्यसैले यो संवेदनशील घडीमा हाम्रो पहिलो प्राथमिकता भनेकै संस्थाको एकता जोगाउने हुनुपर्छ। यदि हामी एकताबद्ध अधिवेशन गर्न सक्दैनौँ र फेरि विभाजनतर्फ जाने वा त्यस्तो अवस्था सिर्जना हुने हो भने, स्पष्ट रूपमा भन्नुपर्दा त्यसपछि यस संस्थाको औचित्यबारे नै गम्भीर प्रश्न उठ्न सक्छ। संस्था रहोस् भन्ने चाहना छ भने एकता कायम राख्ने जिम्मेवारी सबैको हो।
यसका लागि अहिलेको सबैभन्दा उचित निकास भनेको सबै पक्षका नेतृत्व एकै ठाउँमा बसेर, विधानको मर्मलाई आधार मानेर, व्यक्तिगत स्वार्थभन्दा माथि उठ्दै सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गर्नु हो। अधिवेशन सफल बनाउनु मात्र होइन, संस्थाको विश्वसनीयता जोगाउनु पनि आजको प्रमुख दायित्व हो।
साथै अधिवेशनपछि सधैँ दोहोरिइरहने प्रतिनिधि चयन र मतदान प्रक्रियासम्बन्धी विवादलाई स्थायी समाधान गर्ने दिशामा ठोस निर्णय लिनु जरुरी छ। भविष्यमा सबै पञ्जीकृत सदस्यहरूले अनलाइन वा भौतिक उपस्थितिमार्फत मतदान गर्न पाउने व्यवस्था मिलाउने, र उम्मेदवार तथा कम्तीमा प्रस्तावक–समर्थकहरू नेपालमै उपस्थित भएर मतदान गर्ने स्पष्ट, पारदर्शी र विश्वसनीय प्रणाली विकास गर्न सकेमा यस्ता धेरै विवादहरू स्वतः अन्त्य हुन सक्छन्।
अन्यथा हरेक अधिवेशनमा यही विषयलाई लिएर विवाद, आरोप–प्रत्यारोप, विभाजन र समय तथा पुँजीको अनावश्यक खर्च दोहोरिइरहनेछ। त्यसैले अहिलेको आवश्यकता प्रतिस्पर्धा भन्दा पनि समझदारी हो, स्वार्थभन्दा पनि संस्थाको हित हो, र पदको लडाइँभन्दा पनि एकता जोगाउने सामूहिक प्रतिबद्धता हो। यही भावनासहित आगामी अधिवेशन सबैको साझा सहभागिता र सहमतिबाट सफल होस् भन्ने अपेक्षा गरौँ ।
(अमेरिकाको न्यू योर्क निवासी थापा एनआरएनए आइसीसीका सल्लाहकार हुन् । सं. )















