क्यानडामा रोजगारी घट्यो, बेरोजगारी दर १६ महिनाकै न्यून स्तरमा
कार्लाल, पेन्सिलभेनिया / क्यानडामा जनवरी महिनामा अपेक्षा विपरीत २४ हजार ८ सय रोजगारी गुमेका छन् ।
क्यानडाको तथ्याङ्क विभाग (स्टाटिस्टिक्स क्यानडा) ले काम खोज्नेको सङ्ख्या घटेकाले बेरोजगारी दर घटेर १६ महिनाकै न्यूनतम ६ दशमलव ५ प्रतिशतमा झरेको तथ्याङ्क शुक्रवार सार्वजनिक गरेको हो ।
विश्लेषकहरूले ७ हजार नयाँ रोजगारी थपिने र बेरोजगारी दर ६ दशमलव ८ प्रतिशतमै रहने अनुमान गरेका थिए । जनवरीमा पूर्णकालीन रोजगारी ४४ हजार ९ सयले बढे पनि अंशकालीन रोजगारी ६९ हजार ७ सयले घटेको छ ।
बेरोजगारी दर सन् २०२४ को सेप्टेम्बरमा देखिएको ६ दशमलव ५ प्रतिशतपछि यताकै न्यून स्तर हो । यो दर अधिकांश प्रमुख जनसाङ्ख्यिक समूहमा घटेको छ । जसको मुख्य कारण रोजगारी खोज्ने व्यक्तिको सङ्ख्या कम हुनु हो ।
क्यानडाको केन्द्रीय बैङ्क (बैङ्क अफ क्यानडा) का अनुसार श्रम बजार बिस्तारै कमजोर हुँदै गएको छ । सेप्टेम्बरदेखि नोभेम्बरसम्म अर्थतन्त्रमा कुल १ लाख ८१ हजार नयाँ रोजगारी थपिएको थियो। त्यस्तै डिसेम्बरमा मात्र १० हजार १ सय रोजगारी सिर्जना भएका थिए ।
जनवरीमा उत्पादन क्षेत्रमा २७ हजार ५ सय रोजगारी गुमेका छन् । जसको ठुलो हिस्सा औद्योगिक केन्द्र ओन्टारियोमा परेको छ । अमेरिकाले लगाएका भन्सार शुल्क का कारण त्यहाँका केही प्रमुख उद्योगहरू प्रभावित भएका छन् ।
फिच रेटिङ्सका निर्देशक जोशुवा ग्रुन्डलेगरले भने, “यी प्रवृत्तिहरू सम्भवतः जारी रहनेछन्, किनकि अमेरिकी व्यापारसँग जोडिएका उद्योगमा कार्यरत कर्मचारीहरूले अन्य क्षेत्रका कर्मचारीहरूको तुलनामा उच्च दरमा रोजगारी छाड्न थाल्नेछन्।”
उत्पादन, शैक्षिक सेवा तथा सार्वजनिक प्रशासन क्षेत्रमा देखिएको रोजगारी घटावटले सूचना, व्यवसाय, कृषि र उपयोगिता क्षेत्रमा भएको वृद्धि ओझेलमा परेको छ ।
जनवरीमा रोजगारी दर शून्य दशमलव १ प्रतिशत अङ्कले घटेर ६० दशमलव ८ प्रतिशतमा पुगेको छ । यो सन् २०२५ को अगस्टयता देखिएको पहिलो गिरावट हो ।
स्थायी कर्मचारीहरूको औसत प्रतिघण्टा ज्याला-मुद्रास्फीति प्रवृत्ति मापन गर्न बैङ्क अफ क्यानडाले नजिकबाट नियाल्ने सूचक-डिसेम्बरको ३ दशमलव ७ प्रतिशतबाट घटेर ३ दशमलव ३ प्रतिशतमा झरेको छ । जुन सात महिनाकै न्यून स्तर हो ।
केन्द्रीय बैङ्कले गत साता आफ्नो प्रमुख नीतिगत ब्याजदर २ दशमलव २५ प्रतिशतमा यथावत् राख्दै मुद्रास्फीति २ प्रतिशतको लक्ष्य नजिक राख्नका लागि यो स्तर उपयुक्त रहेको जनाएको थियो । मुद्रा बजारहरूले यो वर्षभर ब्याजदर यथावत् रहने अपेक्षा गरेका छन् ।
टीडी इकोनोमिक्सका वरिष्ठ अर्थशास्त्री एन्ड्र्यु हेन्सिकले भने, “एउटा प्रतिवेदनले मात्र बैङ्क अफ क्यानडाको नीतिमा ठुलो परिवर्तन ल्याउने सम्भावना छैन। बेरोजगारी दरले श्रम बजार अपेक्षाभन्दा राम्रो देखिए पनि यो अनिवार्य रूपमा कडा भएको सङ्केत होइन।”
यसैबिच, क्यानेडेली डलर अमेरिकी डलरको तुलनामा थोरै बलियो बन्दै १.१३६५७ क्यानेडेली डलर (७३.२२ अमेरिकी सेन्ट) मा पुगेको छ ।

















