जेन–जी शहीदको सम्झनामा क्षमायाचना पूजा
काठमाडौं / जेन–जी आन्दोलनका शहीदको सम्झनामा क्षमायाचना पूजा गरिएको छ ।
मंगलवार नयाँ बानेश्वर संसद भवन अगाडी क्षमायाचना पूजासहित होम धूप–धूमार आत्म शान्ति सत्याग्रह पुण्य कार्यक्रम गरिएको हो ।
जेन–जी सुशासन योद्धा परिवारले उक्त कार्यक्रम आयोजना गरेको हो ।
भदौ २३ गते भ्रष्टाचारको विरुद्धमा आन्दोलन गर्दा संसद भवन अगाडी प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए ।
भदौ २३ गते संसद भवन अगाडी युवाहरूमाथि गोली प्रहार भएपछि भदौ २४ गते संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत लगायत देशभरका सार्वजनिक तथा निजी भवनमाथि आगजनी भएको थियो ।
भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनमा ७६ जनाको मृत्यु भएको थियो । मृत्यु भएकामध्ये ४५ जनालाई सरकारले शहीद घोषणा गरेको छ । सुशासनको मुख्य माग राखेर युवाहरूले आन्दोलन गरे पनि आन्दोलनपछि गठित सरकारले उनीहरूको माग सम्बोधन गर्न ठोस कदम भने चाल्न सकेको छैन ।
– न्युज एजेन्सी नेपाल

















