मन्त्रीपरिषद् बैठक : प्रहरीको रासन स्केल वृद्धि, राष्ट्रपतिको जापान भ्रमण स्वीकृत
काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ । गृहमन्त्री एवम् सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले बैठकका निर्णयहरू सार्वजनिक गर्दै विभिन्न महत्त्वपूर्ण निर्णय गरिएको जानकारी दिए ।
प्रवक्ता अर्यालका अनुसार नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठको अवसरमा आगामी ०८२ साल माघ १८ देखि २१ गतेसम्म जापानमा आयोजना हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा जाने प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरिएको छ ।
त्यस्तै, नेपाल स्टक एक्सचेन्ज लिमिटेडको पुनर्संरचना सम्बन्धी सुझाव समिति–०८२ ले पेस गरेको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । बैठकले ०८२ साल फागुन १ गतेदेखि लागू हुने गरी नेपाल प्रहरीको रासन स्केल तथा रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय पनि गरेको प्रवक्ता अर्यालले जानकारी दिए ।
यस्ता छन् निर्णयहरू :
१. नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठको उपलक्ष्यमा २०८२ साल माघ १८ देखी २१ गतेसम्म जापानमा आयोजना हुने कार्यक्रममा सहभागी हुन सम्मानिय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूको नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृत दिने निर्णय गरियो ।
२. नेपाल स्टक एक्सचेन्ज लिमिटेडको पूर्नसंरचना सम्बन्धी सुझाव समिति २०८२ ले पेस गरेको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरियो ।
३. मिति २०८२ फागुन १ देखी लागू हुने गरी नेपाल प्रहरीको रासन स्केल र रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरियो ।














