आईसीसीद्वारा अमेरिकी क्रिकेटर आरोन जोन्समाथि भ्रष्टाचार आरोप, अस्थायी निलम्बन
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अमेरिकाका क्रिकेटर आरोन जोन्समाथि भ्रष्टाचारसम्बन्धी पाँच वटा आरोप लगाउँदै सबै किसिमको क्रिकेट गतिविधिबाट अस्थायी रूपमा निलम्बन गरेको छ।
आईसीसीले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार जोन्समाथि लागेका अधिकांश आरोप २०२३–२४ सिजनमा भएको बिम १० क्रिकेट प्रतियोगितासँग सम्बन्धित छन्, जुन क्रिकेट वेस्ट इन्डिजको भ्रष्टाचार विरोधी संहिताअन्तर्गत पर्छ।
यसबाहेक दुईवटा आरोप अन्तर्राष्ट्रिय खेलसँग सम्बन्धित रहेकाले ती आईसीसीको भ्रष्टाचार विरोधी संहिताअन्तर्गत दर्ता गरिएको जनाइएको छ।
आईसीसी तथा क्रिकेट वेस्ट इन्डिजले जोन्समाथि बिम१० प्रतियोगितामा खेलको नतिजा, प्रगति वा खेल सञ्चालनमा अनुचित प्रभाव पार्ने, मिलेमतो गर्ने वा त्यसका लागि प्रयास गरेको आरोप लगाइएको छ।
यस्तै भ्रष्टाचारसम्बन्धी प्रस्ताव वा सम्पर्कबारे क्रिकेट वेस्ट इन्डिजलाई जानकारी नदिएको, छानबिनका क्रममा तोकिएको भ्रष्टाचार विरोधी अधिकारीसँग सहकार्य नगरेको र अन्तर्राष्ट्रिय खेलसँग सम्बन्धित भ्रष्टाचारको प्रस्तावबारे आईसीसी एन्टी–करप्सन युनिटलाई पूर्ण विवरण नदिएको आरोप लगाएको छ।
साथै छानबिनमा अवरोध पुर्याउने, प्रमाण लुकाउने वा नष्ट गर्ने प्रयास गरेको आरोप पनि लगाइएको छ।
आईसीसीका अनुसार यी आरोपहरू एक व्यापक अनुसन्धानको हिस्सा हुन् र आगामी दिनमा अन्य खेलाडी वा सम्बन्धित व्यक्तिहरूमाथि पनि थप आरोप लाग्न सक्ने संकेत गरिएको छ।
आरोन जोन्सलाई तत्काल लागु हुने गरि सबै किसिमको क्रिकेट गतिविधिबाट अस्थायी रूपमा निलम्बन गरिएको छ। उनले २८ जनवरी २०२६ देखि १४ दिनभित्र आफू विरुद्ध लगाइएका आरोपबारे लिखित जवाफ पेश गर्नुपर्नेछ।
आईसीसीले अनुशासनात्मक प्रक्रिया सम्पन्न नहुँदासम्म यस विषयमा थप कुनै टिप्पणी नगर्ने स्पष्ट पारेको छ।
आरोन जोन्स २०२४ को आईसीसी पुरुष टी२० विश्वकपमा खेलेको अमेरिकाको टोलीका सदस्य थिए।
फोटो : आइसीसी

















