आईसीसी महिला टी–२० विश्वकप छनोट : अमेरिका सुपर सिक्समा
काठमाडौं / अमेरिकाले पपुवा न्यू गिनी (पीएनजी) लाई पाँच विकेटले पराजित गर्दै आईसीसी महिला टी–२० विश्वकप छनोट २०२६ को सुपर सिक्स चरणमा अन्तिम स्थान सुरक्षित गरेको छ।
निर्णायक खेलअघि दुवै टोलीको दुई–दुई अंक थियो। जित्ने टोली सुपर सिक्समा पुग्ने र हार्ने टोली बाहिरिने अवस्थाको खेलमा अमेरिकाले सन्तुलित प्रदर्शन गर्दै बाजी मारेको हो।
पीएनजीले दिएको एक सय १० रनको लक्ष्य अमेरिकाले सहजै भेट्टायो ।
पहिले ब्याटिङ गरेको पपुवा न्यू गिनीले २० ओभरमा पाँच विकेट गुमाउँदै ११० रन बनायो। कोनियो ओआलाले ४० बलमा दुई छक्कासहित ४१ रनको योगदान दिइन् भने पाउके सिआकाले अन्त्यतिर २६ रन जोडिन्।
अमेरिकाका बलरहरू निकै किफायती देखिए। तारा नोरिसले चार ओभरमा मात्र १२ रन खर्चिइन् भने इसानी वाघेलाले १४ रन मात्र दिइन्। लेखा शेट्टीले ३ विकेट लिएर पीएनजीको रनगति नियन्त्रणमा राखिन्।
जवाफमा अमेरिकाले चेतना पाग्यड्याला (३२) र गर्गी भोगले (३५) को उत्कृष्ट सुरुवातमा पहिलो विकेटका लागि ६९ रनको साझेदारी गर्यो। मध्यक्रममा केही विकेट गुमे पनि ऋतु सिंहको अविजित १३ रनको सहयोगमा अमेरिका १८ ओभरमै लक्ष्यमा पुग्यो।
आयरल्याण्डको लगातार तेस्रो जित, नामिबिया विजयरहित बाहिरियो
ग्रुप ‘ए’ अन्तर्गतको खेलमा आयरल्याण्डले नामिबियालाई सात विकेटले हराउँदै सुपर सिक्समा स्थान बनायो। नामिबियाका दुवै ओपनर शून्यमै आउट भए पनि कायलिन ग्रिन (३२) र विल्का म्वाटिले (२८) ले केही प्रतिरोध गरे। तर लारा म्याकब्राइड (३/१७) र जेन मागुइर (३/३१) को बलिङअघि नामिबिया १०७/८ मै सीमित रह्यो।
जवाफमा आयरल्याण्डका ओरला प्रेन्डरगास्टले २८ बलमा ३९ रन बनाएर प्रभाव जमाइन्। कप्तान गाबी लुइस (३३) र लेआ पॉल (अविजित २७) को सहयोगमा आयरल्याण्डले १४.२ ओभरमै लक्ष्य भेट्टायो।
स्कटल्यान्डको दबदबा, घरेलु टोली नेपालको यात्रा समाप्त
घरेलु मैदान किर्तिपुरमा स्कटल्यान्डले नेपाललाई ७२ रनले पराजित गर्दै सुपर सिक्सको दौडबाट बाहिर्यायो।
पहिले ब्याटिङ गरेको स्कटल्यान्ड सुरुवातमै दबाबमा परे पनि प्रियानाज च्याटर्जीको अविजित ४५ रनको मद्दतमा १४० रनसम्म पुग्यो। नेपालका लागि मनिषा उपाध्यायले ४/१७ र रुबिना क्षेत्रीले ३/२३ विकेट लिइन्।
जवाफमा नेपालको ब्याटिङ कमजोर रह्यो। टोली १३.५ ओभरमै ६८ रनमा अलआउट भयो। स्कटल्यान्डकी अबताहा मकसुदले ३/१४ विकेट लिँदै निर्णायक भूमिका खेलिन्।
नेदरल्यान्ड्स अपराजित शीर्षस्थानमा, थाइल्यान्ड पनि सुपर सिक्समा
ग्रुप ‘बी’ मा नेदरल्यान्ड्सले थाइल्यान्डलाई १७ रनले हराउँदै अपराजित रूपमा शीर्ष स्थानमा रह्यो। बाबेट डे लिडेले ४७ रन बनाएर टोलीलाई १०७/८ को स्कोरमा पुर्याइन्।
बलिङतर्फ आइरिस ज्विलिङ (३/९) र इसाबेल भान डर वोइनिङ (४/१४) को घातक स्पेलमा थाइल्यान्ड ९० रनमै समेटियो। हार बेहोरे पनि थाइल्यान्ड सुपर सिक्समा प्रवेश गर्न सफल भयो।
फोटो आइसीसी

















