आधा अमेरिका हिम आँधीको चपेटामा, पेन्सिलभेनियामा आपतकालीन तयारी
हिम आँधीका बीच गभर्नर सापिरोको आश्वासन, राज्य सरकार नागरिक सुरक्षामा प्रतिबद्ध
गोबिन्द गुरुङ
कार्लाल, पेन्सिलभेनिया / मौसमविद्हरूले अमेरिकाको करिब आधा भाग ओगट्ने ठूलो हिम आँधीले पेन्सिलभेनियाका धेरै क्षेत्रमा एक फिटभन्दा बढी हिउँ पर्ने सम्भावना रहेकोे बताएका छन् ।
राष्ट्रिय मौसम विभागका अनुसार सेन्ट्रल पेन्सिलभेनियामा १० इन्चभन्दा बढी हिमपात हुने जनाइएको छ ।
मौसम विभागले सार्वजनिक गरेको नक्साअनुसार राज्यको मध्य भागमा पर्ने प्रायः सबै क्षेत्रमा १२ देखि १८ इन्चसम्म हिउँ पर्न सक्ने बताइएको छ ।
यो क्षेत्र दक्षिणमा समरसेट काउन्टीदेखि ल्यान्कास्टर काउन्टीसम्म र उत्तरमा एल्क काउन्टी तथा टाइगा काउन्टीसम्म फैलिएको छ ।
मौसम विभागले पिट्सबर्ग क्षेत्रमा करिब १२ इन्च हिउँ पर्ने अनुमान गरेको छ । त्यस्तै फिलाडेल्फियामा १० देखि ११ इन्चसम्म तथा उत्तर–पूर्वी पेन्सिलभेनियामा अझै केही इन्च थपिने सम्भावना रहेको छ ।
यो हिम आँधी दक्षिण–पश्चिमी अमेरिकाबाट उत्तर–पूर्वतर्फ सर्ने भएकाले सबैभन्दा पहिले पश्चिमी पेन्सिलभेनियामा हिउँ देखिने छ ।
मौसम विभागका अनुसार पिट्सबर्ग क्षेत्रमा शनिवार साँझ करिब ६ बजेबाट नै हिउँ पर्न सुरु हुन सक्ने बताइएको छ । शुक्रवार बिहान ७ बजे अपडेट गरिएको प्रक्षेपणले सेन्ट्रल पेन्सिलभेनियामा शनिवार साँझ ७ बजेतिर हल्का हिउँ पर्न सक्ने सम्भावना देखाएको छ । ह्यारिसबर्ग क्षेत्रमा आइतबार बिहान १ वा २ बजेदेखि मुख्य रूपमा हिउँ पर्न थाल्ने र बिहानभरि जारी रहने अपेक्षा गरिएको छ ।
इरी शहरमा पनि बिहान १ बजेतिर हिउँ सुरु हुने अनुमान छ । पेन्सिलभेनिया राज्यको उत्तर–पश्चिमी भागमा कुल हिमपात अपेक्षाकृत कम रहने छ । त्यस्तै फिलाडेल्फियामा आइतबार बिहान करिब २ बजेदेखि निरन्तर हिउँ पर्न थाल्ने छ । ह्यारिसबर्गमा आइतबार बिहान ७ बजेसम्म करिब ४ इन्च हिउँ जमिसक्ने अनुमान गरिएको छ ।
सेन्ट्रल पेन्सिलभेनियामा सबैभन्दा भारी हिमपात आइतबार बिहान ७ बजेदेखि दिउँसो ४ बजेसम्म हुने अनुमान छ । केही समय हिउँ प्रतिघण्टा करिब १ इन्चको दरले पर्न सक्छ ।
दिउँसो १ बजेसम्म थप ५ इन्च हिउँ पर्ने र कुल मात्रा करिब ९ इन्च पुग्ने अनुमान गरिएको छ ।
मौसम विभागले हिम आँधीले बरफ जम्ने सम्भावना हुदा बिजुली अवरुद्ध हुने र रूखहरू भाँचिने जोखिम रहेको जनाएको छ । त्यस्तै यात्रा लगभग असम्भव हुन सक्ने चेतावनी दिइएको छ । खतरनाक मौसमका कारण सोमबार सवारी साधन आवत जावतमा गम्भीर असर पार्न सक्नेछ ।
मौसम विभागले भनेको छ, “यस अवस्थासम्बन्धी नवीनतम पूर्वानुमानहरू निरन्तर हेर्नुहोस्।”
हिम आँधीको समयमा सवारी चलाउन निकै जोखिमपूर्ण मानिन्छ । हरेक वर्ष मौसमसम्बन्धी सवारी दुर्घटनाबाट ६ हजारभन्दा बढीको मृत्यु हुने गरेको पाइएको छ । त्यस्तै ४ लाख ८० हजार भन्दा बढी घाइते भएको तथ्यांक रहेको छ ।
हिउँ वा फ्रिजिङ रेनको समयमा यात्रा गर्दा गति घटाएर सवारीचलाउनु सबैभन्दा सुरक्षित उपाय हो । त्यस्तै बिजुलीका तार र रूखका हाँगामा बरफ जम्दा ती भाँचिएर खस्ने खतरा हुन्छ, त्यसप्रति सतर्क रहन समेत मौसम विभागले अनुरोध गरेको छ ।
मौसम विभाले भनेको छ, “सम्भव भएमा यस्तो अवस्थामा ड्राइभ नगर्नुहोस् । अत्यावश्यक भएमा कम रूख र कम बिजुलीका तार भएका बाटोहरू रोज्नुहोस् । कहिल्यै पनि झरेको बिजुलीको तार नछुनुहोस्, यदि यस्तो देख्नुभयो भने तुरुन्तै ९११ मा फोन गर्नुहोस् ।”
यता गर्भनर जोस सापिरोले सप्ताहान्तसम्म चल्ने हिम आँधीको तयारीका लागि निरन्तर काम गरिरहेको बताएका छन् ।
सापिरोले भने, “मेरो प्रशासनले यस सप्ताहान्तमा आउने हिम आँधीको तयारीका लागि दिनरात निरन्तर रूपमा काम गरिरहेको छ, पेन्सिलभेनियाका नागरिकहरूको सुरक्षाका लागि सबै निकाय पूर्ण रूपमा सक्रिय छन् ।”
“पेन्सिलभेनिया आपतकालीन व्यवस्थापन एजेन्सी, पेन्सिलभेनिया राज्य प्रहरी र पेन्सिलभेनिया यातायात विभागका टोलीहरूले सप्ताहन्तका लागि अतिरिक्त कर्मचारीहरू परिचालन गरिसकेका छन् । स्थानीय अधिकारीहरूसँगको समन्वय पनि सुरु भइसकेको छ, ताकि आवश्यक उपकरण, नुन र अन्य स्रोतसाधन उपलब्ध गराएर नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न सकियोस् ।”, गर्भनर सापिरोले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

















