काठमान्डुलाई पराजित गर्दै रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी क्वालिफायर ‘टु’ मा
काठमाडौं/ राष्ट्रिय टिमका कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्स सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।
बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको इलिमिनेटको खेलमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी दोस्रो क्वालिफायरमा पुगेको हो।
अब दोस्रो क्वालिफायरमा लुम्बिनीले बिहीबार विराटनगर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ। यो खेलको विजेताले शनिबार हुने फाइनलमा सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ।
बुधबार काठमान्डुले दिएको ११२ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो।
लुम्बिनीका लागि ओपनर डार्शी सर्टले ३३ रनको योगदान गरे। ओपनिङमा मौका पाएका दिनेश अधिकारी ४ रनमै आउट भए। कप्तान रोहित कुमार पौडेलले २५ बल खेलेर १ चौका र १ छक्काको मद्दतमा १८ रन बनाउन सके। सन्दीप जोरा २३ रन जोडेर आउट भए।
बलिङमा काठमन्डुका सन्तोष यादवले २ विकेट लिए। करण केसी, सनी पटेल, शाहब आलाम र रशिद खानले १-१ विकेट हात पारे।
टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डु खराब ब्याटिङ गर्दा १९.१ ओभरमा १११ रनमा अलआउट भएको थियो। काठमान्डुको सुरूवाती ब्याटिङ लाइनअप कोल्याप्स्ड पारेको लुम्बिनीले पावरप्लेभित्र चार विकेट लिएको थियो।
काठमान्डुका शीर्ष चार ब्याटर दोहोरो अंक जोड्न नपाइ आउट हुँदा टोली संकटमा पारेको थियो। पिचमा बल टर्न भइरहदा ब्याटरले संघर्ष गरेका थिए।
काठमाण्डुका लागि सन्तोष यादवले सर्वाधिक २३ रन बनाए । जोन सिम्पसन र मोहम्मद आदिल आलम १८–१८, वेन चाल्र्सवर्थ ४, आकाश त्रिपाठी १, सन्नी पटेल ७, मिलिन्द कुमार २, भीम सार्की १४, कप्तान करण केसी ९ र रसिद खान २ रनमा आउट भए ।
शाहव आलम ४ रनमा अविजित रहे । बलिङमा लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्लले ३–३ तथा रुवेन ट्रम्पलम्यानले दुई र अभिषेश गौतमले एक विकेट लिए ।















