किसुनजीको आश्रम पुगेका निधिको अपिल : ‘शान्ति र धैर्य कायम राखौँ’
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले बिहीबार ललितपुरको बाँडेगाउँमा रहेको पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराई(किसुनजी)को आश्रमको निरीक्षण गरेका छन् ।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगलागी भई पूर्ण रूपमा क्षति पुगेको आश्रमको अवस्था प्रत्यक्ष अवलोकन गर्न नेता निधि, नेता प्रकाशमान सिंहलगायतका नेता घटनास्थल पुगेका हुन् ।
निरीक्षणपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै नेता निधिले आश्रममा भएको क्षति गम्भीर विषय भएको उल्लेख गरे । उनले भने, ‘नेपाली कांग्रेसको आधिकारिक धारणा अझै आइसकेको छैन । तर यो व्यक्ति प्रतिको आक्रोश मात्र होइन राज्यका आधारभूत संरचनामाथि हमला गर्ने घुसपैठ पनि देखिन्छ ।’
उनले संसद् भवन, राष्ट्रपति भवन, सर्वोच्च अदालत जस्ता संस्थामाथि आक्रमण हुनु सामान्य कुरा नभएको भन्दै चिन्ता व्यक्त गरे ।
उनले भने, ‘यो व्यक्तिप्रतिको आक्रोश भन्दा पनि जेनजी दाबी गर्ने नेताहरूले पनि यसमा घुसपैठ भएको छ भन्छन् । यस कारण घुसपैठको सीमा कहाँसम्म भयो भन्दाखेरि जुन संसद् भवन, राष्ट्रपति भवन, सर्वोच्च अदालत जुन देशको र राज्यको आधारभूत संरचनाहरू हुन् त्यसलाई भत्काउने काम गरियो यो साधारण कुरा होइन ।’
नेता निधिले पार्टीभित्र र देशभर रहेका कांग्रेस कार्यकर्तासँग सल्लाह गरेर अगाडि बढ्ने बताउँदै शान्ति र धैर्य कायम राख्न आग्रह गरे । ‘देशभरका साथीहरूलाई म शान्ति र धैर्य राख्न अपिल गर्दछु,’ उनले भने।
कृष्णप्रसाद भट्टराईको आश्रमलाई लामो समयदेखि नेपाली कांग्रेसको निष्ठा र आदर्शको प्रतीकका रूपमा हेरिँदै आएको छ । उक्त आश्रममा आगलागी हुँदा ऐतिहासिक महत्त्व बोकेको संरचनासहित महत्त्वपूर्ण कागजात र सामग्रीहरू नष्ट भएका थिए ।












