नवराज लम्सालको चौथो महाकाव्य ‘कल्प’ सार्वजनिक
काठमाडौं। साहित्यकार तथा रेडियोकर्मी डा. नवराज लम्सालको चौथो महाकाव्य ‘कल्प’ सार्वजनिक भएको छ। काठमाडौँमा आयोजित एक कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरूले संयुक्त रूपमा उक्त महाकाव्यको लोकार्पण गरेका हुन्।
कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापा, नेकपा एमालेकी नेतृ तथा पूर्व शिक्षामन्त्री विद्या भट्टराई, माओवादी केन्द्रका नेता सुदन राई र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनीष झा लगायतको उपस्थिति थियो।
वक्ताहरूले महाकाव्य ‘कल्प’ ले मानव सभ्यता, संस्कृति, प्रकृति र सम्पदाको संरक्षणबारे कलात्मक रूपमा चित्रण गरेको बताए।
महाकाव्यले रचनात्मक समाज निर्माणका लागि महत्त्वपूर्ण सन्देश दिएको उनीहरूको भनाइ थियो। कार्यक्रममा बोल्दै लेखक डा. लम्सालले आफू सक्रिय राजनीतिमा नरहे पनि राजनीति नै देशको मुख्य नीति भएकोले यसले अन्य नीतिहरूलाई मार्गदर्शन गर्ने बताए।
उनले राजनीतिप्रति आफ्नो ठूलो सम्मान रहेको जनाउँदै समाजमा व्याप्त नकारात्मकतालाई सकारात्मक ऊर्जामा बदल्न राजनीति नै सक्षम रहेको धारणा व्यक्त गरे।
डा. लम्सालले नेपालको राजनीतिमा युवा पुस्ताले ठूलो आशा र भरोसा जगाएको कुरा पनि आफ्नो महाकाव्यमा समेटिएको जानकारी दिए।















