महिला फोटो पत्रकारको अनुभव : महिनावारी र हिंसा हुँदा समेत फिल्डमा खटिनुपर्छ

मनिषा बस्नेत /
काठमाडौं । नेपालको कुल जनसंख्याको आधाभन्दा बढी जनसङ्ख्या ओगटेका महिलाहरू राज्यको अन्य निकायमा जस्तै पत्रकारितामा पनि एकदमै न्यून संख्यामा सक्रिय छन् । त्यसमध्ये फोटो पत्रकारितामा औँला गणना गर्न सकिने छन् । नेपालमा महिला फोटो पत्रकारहरूको एकीन तथ्याङ्क भेटाउन पनि सकिँदैन ।
नेपाल पत्रकार महासंघका अनुसार नेपालमा महिला फोटो पत्रकारहरूको विशिष्ट संख्या उपलब्ध छैन । अन्य पेशाभन्दा चुनौतीपूर्ण रहेको फोटो पत्रकारितामा महिलाले आफ्नो सीपलाई देखाउन अलि बढिनै मिहेनत गर्नुपर्ने महिला फोटो पत्रकारहरू बताउँछन् ।
नेपाल न्यूज बैंकसँग कुरा गर्दै गोरखापत्र दैनिकको पहिलो महिला फोटो पत्रकार कविता थापाले आफ्नो अनुभव सुनाउँदै उनले गोरखापत्रमा जागिर सुरु गरेदेखि नै फिल्डमा फोटो पत्रकारहरू भेट्न मुस्किल पर्ने गरेको सुनाउँछिन् ।
फोटो पत्रकारलाई मिडिया हाउसले क्यामेरा उपलब्ध नगराउँदा आर्थिक चुनौतीका कारण पनि महिलाहरू पलायन भएको उनको बुझाइ छ । उनले गोरखापत्रमा १२ वर्ष करारमा काम गर्दा आफूले पाएको तलबबाट क्यामेरा खरिद गरेर काम गरेको बताइन् ।
‘गोरखापत्रमा १२ वर्ष करार काम गरेँ । क्यामेरा थिएन । मैले आफैले क्यामेरा किन्नुपर्यो । जति तलब पाउँथे त्यसबाटै फिल्डमा दौडिन्थे । क्यामेरा आफै जोहो पर्दथ्यो । गोरखापत्र मात्र नभई अधिकांश मिडिया हाउसले क्यामेरा नदिने रहेछन् । क्यामेरा मात्रै उपलब्ध गराउँदा पनि पत्रकारलाई आर्थिक चुनौती कम हुने रहेछ,’ उनले भनिन् ।
फोटो पत्रकार थापा काम गर्दै गर्दा फिल्डमा सामान्य मानिने साना कुराले पनि अप्ठ्यारोमा परेको अनुभव सुनाउँछिन् । महिनावारीको समयमा कार्यक्रम खिच्न जाँदा आयोजकले बस्ने सिटको व्यवस्था पनि नगर्ने गरेको गुनासो गरिन् ।
उनले भनिन्, ‘क्यामेरा पर्सन साथीहरू कतिपय महिला हुनुहुन्छ । उभिँदा जोसुकैको पनि खुट्टा गल्छ, महिलालाई त झन् थप मेन्सुरेसनको समस्या हुन्छ । ब्लिडिङको समस्या हुन्छ । बस्नुपर्ने हुन्छ । मेन्सुरेसन भएको छ अथवा हेभी मेन्सुरेसन भएको, बिल्डिङ भएको छ भनेर बिदा पाइँदैन,’ उनले थप भनिन्, ‘अब यो टेक्निकल काम पनि भएर होला, यस्ता कुरामा कसैले सामान्य पनि सोच्छन् । म छक्क पर्छु ।’
हक्की स्वभावकी थापा काम गर्ने स्थलमा हुने दुर्व्यवहारका विरुद्ध प्रतिक्रिया दिनुपर्ने बताउँछिन् । प्रधानमन्त्रीकै कार्यक्रम महिला हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटनका दिन नराम्रो स्पर्शका कारण मन्त्रीकै सुरक्षाकर्मीसँग विवाद परेको घटना पनि सुनाइन् ।
‘एकचोटी मैले प्रधानमन्त्रीकै कार्यक्रममा १६ दिने अभियानको भर्खर सुरुवातको दिन थियो । हामी आफ्नै पोजिसनमा बसिराखेका थियौँ । म अलि अगाडि गएर खिच्न पुगेँ । यसपछि मलाई सुरक्षाकर्मीले तान्नुभयो । मैले त एक झापड दिइहालेछु । मलाई किन छोइस् भनेर भन्न आइहालेछ । महिला हिंसाविरुद्धको १६ दिने अभियान तपाईँले मलाई हिंसा गर्न पाउनुहुन्छ ? चाहे तपाईँ प्रधानमन्त्रीकै होस् अथवा मन्त्रीकै सुरक्षाकर्मी जिउमा छुने अधिकार कसैलाई छैन भनिदिए,’उनले स्मरण गरिन् ।
थापाले खिचेका धेरै फोटोहरूले सम्मान र पुरस्कार प्राप्त गर्न सफल भएका छन् । उनले खिचेका फोटो पाकिस्तानको प्रदर्शनीमा समेत राखिएको थियो । उनी सकारात्मक सन्देश दिने फोटो खिच्न रुचाउने भएकाले मानिसलाई प्रेरणा दिने फोटोहरूले आफूलाई चिनाएको बताइन् ।
उनको पहिलो पुरस्कार पाएको फोटो थियो, एक जना महिला ग्यासको सिलिन्डरमाथि बच्चा बोकेर हिँड्दै गरेको फोटोले पुरस्कार २५ हजारसहित लैगिक महिला, लैगिक उत्तरदायी पुरस्कार पाएको थियो ।
उनले भनिन्, ‘बबरमहलमा एक जना महिला ग्यासको सिलिन्डरमाथि बच्चा बोकेर जाँदै हुनुहुँदो रहेछ । मैँले हतारमा क्यामेरा झोलामा रहेकाले मोबाइलले खिचेँ । अब त्यो फोटो मैँले गोरखापत्रको अनलाइनमा राखेँ । त्यो फोटोले पहिलो पटक पुरस्कार पायो ।’
थापालाई मन पर्ने उनले खिचेको अर्को फोटो हो, जाजरकोट भूकम्पको समयमा हस्पिटलमा ठाउँ नभएर सुत्केरी हुनेबितिकै डिस्चार्ज भएर बाटोमा हिँडिरहेकी सुत्केरी महिलाको । उनले त्यस फोटोमार्फत राष्ट्रिय फोटो पत्रकार समूहबाट उत्कृष्ट महिला फोटो पुरस्कार समेत पाएकी छन् ।
यस्तै नेपाल न्यूज बैंकसँग कुरा गर्दै लामो समय फोटो पत्रकारिता गरिरहेकी वर्षा साहले आफू सानैदेखि फोटो खिच्न मन पराउने स्वभावको भएकाले यही पेशा रोजेको सुनाइन् ।
राजनीतिक कार्यक्रमदेखि सामाजिक घटनाहरूको फोटो खिच्न रुचाउने वर्षा घरपरिवारको राम्रो साथ पाए महिलाहरूको राम्रो अवसर पाउने बताउँछिन् ।
सीमित समय नतोकिने भएकाले यस क्षेत्रमा काम गर्न गाह्रो भए पनि सम्भावना बोकेको उनले बताइन्।
‘महिलाहरूलाई बाहिरको कामदेखिका धेरै जिम्मेवारीहरू हुन्छन् । चुनौती धेरै हुन्छन् । बालबच्चा भयो भने अझ धेरै चुनौतीहरू हुने रहेछन् । सबैका परिवारले पनि साथ दिँदैनन्,’ उनले भनिन्, ‘कुनै घटना वा चुनावको समयमा काउन्टिङ हुन्छ । हामीहरू वेट गरेर बस्छौँ रात भरी । त्यस्तो बेला परिवारको सर्पोट चाहिने रहेछ ।’
उनले खिचेको फोटोमा उनीलाई मन पर्ने फोटो एक जना पत्रकार महिलाले आमाको क्रिया गरेको कथाको लागि खिचेको फोटोमा धेरै जनाको सकारात्मक प्रतिक्रिया पाएको बताइन् ।
‘एक जना पत्रकार बहिनीले आफ्नो आमाको किरिया गरेको स्टोरी एउटा गरेको थिएँ, त्यस फोटोको कारण धेरै जनाले मलाई म्यासेज गरेर राम्रो प्रतिक्रिया दिनुभएको थियो,’ उनले भनिन् ‘ती लगायतका थुप्रै त्यस्ता घटनाहरू त छन्, जुन मैले खिचेको छु ।’
नेपाल न्यूज बैंक