हाँस्य कलाकारहरूको व्यङ्ग्य : ‘ओलीलाई सबै मिलेर बाँधौँ, गणतन्त्रको भत्ता खाएर सदनभित्र राजा खोज्ने देश’

काठमाडौँ । गाईजात्रा पर्वको अवसरमा रिपोर्टर क्लब नेपालले हाँस्य कलाकारहरूसँग साक्षात्कार कार्यक्रम गरेको छ ।
साक्षात्कार कार्यक्रममा हाँस्यकलाकारहरु सन्तोष खनाल, सुयशा खनाल, सुबोध गौतम, दमन रुपाखेती, दिनेश काफ्ले, प्रभात लामा, सुन्दर खनाल, हिमेश पन्त, लगायतले आ–आफ्नो प्रस्तुति राखेका थिए ।
हाँस्यकलाकार रुपाखेतीले तीन शीर्ष नेताहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को बारेमा व्यङ्ग्य गरे । उनले आफ्नो कमेडीमार्फत वृद्ध नेताहरूले अब राजनीतिबाट संन्यास लिनुपर्ने सन्देश दिए ।
‘ओलीको बोलीले देश र जनतालाई भयो झेली । आफू मात्रै ठिक, अरू बेठीक ठान्ने । आफूलाई मान्नेलाई कार्यकर्ता मान्ने, आफूलाई नमान्नेलाई पार्टीबाटै हटाउने । कम्युनिस्टको नाममा कमाउनिष्ट भएर जनतालाई ट्वाँ पार्ने गाईजात्रे ओलीलाई सबै मिलेर बाँधौँ,’ जोगीले फेरि लगाउने शैलीमा उनले प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीप्रति व्यङ्ग्य गरे ।
अर्का हाँस्य कलाकार शिवशङ्कर रिजाल ‘जोगिन्दर’ देशमा भइरहेको भ्रष्टाचारबारे आफ्नो व्यङ्ग्य प्रस्तुत गरे । उनले कवितात्मक शैलीमा आफ्नो प्रस्तुति यसरी राखे, ‘राम्रा मान्छे पनि बिग्रिन्छन् रे सदनभित्र छिरेपछि । भ्रष्टाचारको त बोरै निस्किँदोरहेछ मन्त्री र सांसदको भुँडी चिरेपछि ।’
उनले आफूले प्रत्येक २२ वर्षदेखि गाईजात्रा गर्दै आइरहेको बताए । यस पटक पनि ओएसआर डिजिटलमार्फत मिसन नौटङ्की भन्ने गाईजात्रै प्रस्तुति दिएको उनले बताए ।
त्यस्तै, अर्का हाँस्यकलाकार श्रीकृष्ण सिम्खडाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति देउवालगायतको क्यारिकेचर गरेका थिए । उनले आफ्नो रचना रहेको गीतसमेत सुनाएका थिए ।
कलाकार राजा राजेन्द्रले देशमा नकारात्मकता मात्रै देख्न नहुने धारणा राखे । देश पहिला के थियो र अहिले के भइरहेको छ भन्ने कुरा पढेलेखेका मान्छेहरूलाई थाहा हुनुपर्ने उनको भनाइ थियो । ‘पहिला ऋणको अनुपात के थियो, अहिले के छ, पहिला विद्युतीकरण के थियो, अहिले कति छ ? पढेलेखेका मान्छेहरूलाई थाहा होस्, उनले भने ।
वरिष्ठ हाँस्य कलाकार शैलेन्द्र सिम्खडाले २०३७ सालदेखि आफू निरन्तर गाई जात्रामा रहेको बताए । आफ्नो मुख्य उद्देश्य भनेको हाँस्य–व्यङ्ग्यको माध्यमबाट समाजमा सकारात्मक सन्देश फैलाउनु रहेको उनले बताए ।
अहिले गाईजात्रा दैनिक रुपमा सडकमै भइरहेको बताए । उनले आफ्नो प्रस्तुतिलाई यसरी कवितात्मक शैलीमा प्रस्तुत गरे ।