गाईजात्रा ‘प्राइड परेड’मा नाजिर हुसेनदेखि मन्त्रीसम्म

काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले आइतबार आयोजना गरेको गाईजात्रा ‘प्राइड परेड’मा अभिनेता नाजिर हुसेनसहितको टोलीको उपस्थितिले धेरैको ध्यान तानेको छ ।
अधिकार र पहिचान स्थापित गराउने उद्देश्यले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका क्षेत्रमा क्रियाशील संस्था ब्लु डाइमन्ड सोसाइटीले आयोजना गरेको परेडमा नाजिरले आफ्नो आउँदै गरेको नयाँ चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’ को बारेमा उक्त समुदायका व्यक्तिहरूलाई जानकारी समेत गराएका थिए ।
काठमाडौँको नक्साल नारायणचौरमा भेला भएका समुदायका व्यक्तिहरुले विभिन्न जातजातिका पोशाक र पश्चिमा फेसनमा सजिएर प्राइड परेडमा सहभागिता जनाएका थिए । उनीहरुले नाजिरसँग सेल्फी एवम् तस्बिरहरू खिचेर रमाइलो गरेका थिए ।
चलचित्र ‘गुन्यु चोलो : ःद ड्रेस’ तेस्रोलिंगी महिलाले आफ्नो पहिचान खुलाउन गरेको संघर्षमा बनेको फिल्म भएको नाजिरले सुनाएका थिए।
समुदायका व्यक्तिहरूसँग कुरा गर्दै उनले भने, ‘यो एकदमै मेरो लागि इमोसनल जर्नी हो । सुनौलो अवसर पनि हो । धेरैले मायालाग्दो भन्छन् तर यो एकदमै स्ट्रङ ईस्यू हो भन्छु । ‘गुन्यु चोलो ःद ड्रेस’ ले उठाउन खाजेको एउटै कुरा भनेको समुदायका व्यक्तिहरू सबै जना राम्रो हुनुहुन्छ, स्ट्रङ छन् भन्ने देखाएका छौँ ।’
फिल्ममा नाजिरसँगै सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीको महत्त्वपूर्ण भूमिका छ ।
यसै गरी ब्लु डायमन्ड सोसाइटीका अध्यक्ष उमेश पाण्डे(उमिसा)ले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायहरू पिछडिएको जानकारी दिए । ‘समुदायका व्यक्तिहरूलाई आफ्नो आमाले त बुझ्दैन भने समाज र राष्ट्र त कति धेरै टाढा छ । जसको कारण अपमानित भएर धेरै जनाले आत्महत्या गर्नुपरेको छ । उनीहरूको चिर शान्तिको लागि गाईजात्रा निकालेका हौँ,’ उनको भनाइ थियो ।
उनले भने, ‘यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरूको अधिकारका लागि लडिरहेका छौँ । गाईजात्रा २००१ देखि नै मनाउन थालेका हौँ ।’
आइतबारको प्रदर्शनमा वर्षभरि दिवगत भएका आफ्ना समुदायका व्यक्तिहरूको स्मृतिमा श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
विभिन्न दातृ निकायहरूको सहयोगमा आयोजना गरिएको प्राइड परेड यात्रा काठमाडौँका नारायण चौरबाट सुरु भएर दरबारमार्ग, ठमेल, ज्याँठा, ठहिटी हुँदै वसन्तपुरमा पुगेर दीप प्रज्वलन र मौन धारण गरी समापन भएको थियो ।
कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले समुदायका मुद्दा सम्बोधन गर्ने प्रतिबद्धता जनाए । जात्राका क्रममा समुदायका व्यक्तिहरुले गरेको प्रदर्शनको उनले चाखपूर्वक हेरेका थिए ।