प्रधानमन्त्री राहत कोषमा एनआरएनए केसी समूहबाट सहयोग
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) डा वद्री केसी समूहले अन्तर्राष्ट्रिय समन्वय परिषद्ले ५१ लाख रुपैयाँ हस्तान्तरण गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा सङ्घका अध्यक्ष डा. बद्री केसीसहितको प्रतिनिधिमण्डलले उक्त रकम हस्तान्तरण गरेको हो।
अध्यक्ष डा. केसीले हालैको बाढी, पहिरो, र डुबानको कारण पीडित भएका क्षेत्रमा सहयोगस्वरूप एक करोड रुपैयाँ बराबरको राहत वितरण भइरहेको जानकारी गराए।
साथै, एनआरएनए नागरिकता प्राप्त गर्नासाथ आर्थिक र सामाजिक क्षेत्रमा काम गर्न कठिनाइ भइरहेको गुनासो पनि राखे।
प्रधानमन्त्री ओलीले विपद्को समयमा मानवीय सहयोग प्रदान गरेकोमा सङ्घलाई धन्यवाद ज्ञापन गर्दै, दोहोरो नागरिकताको समस्या समाधानका लागि गम्भीर छलफल आवश्यक रहेको बताए।
उनले भने, “एक पटकको नेपाली सँधैको नेपाली रहन्छ, तर विदेशी नागरिकता लिएपछि नेपालमा राजनीतिक अधिकार प्रयोग गर्न सकिँदैन।” प्रधानमन्त्रीले एनआरएनएको स्थापनापूर्वदेखि नै नेपालको समृद्धिमा गैरआवासीय नेपालीको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे।
प्रधानमन्त्रीले कामका लागि विदेश जानेहरुलाई एनआरएनएको परिभाषामा नराख्न आग्रह गर्दै, सङ्घलाई राजनीतिक भन्दा पनि सबै गैरआवासीय नेपालीको साझा संस्थाको रुपमा अघि बढाउन सुझाव दिए।
त्यसैगरी, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका अध्यक्ष प्रदीपलाल श्रेष्ठले ६० लाख रुपैयाँ, विद्युत उत्पादन कम्पनी लिमिटेडका अध्यक्ष सुरेश आचार्यले ६ लाख ४६ हजार ५ सय रुपैयाँ, र नेपाल इन्स्योरेन्स कम्पनी, भारतले १० लाख रुपैयाँ राहत कोषमा हस्तान्तरण गरेका छन्।















