अमेरिकामा शनिबार दसैंको टिका कति बजे लगाउने?
पण्डित कमलनाथ सापकोटा
मेरिल्याण्ड। नेपाल र नेपालबाहिर, विशेषतः पश्चिमी गोलार्द्धमा नेपाली सनातन पर्वहरू छुट्टाछुट्टै बार र गते पर्न पनि सक्छन् । कुनै तिथि नेपालमा एक दिनपछि पर्न सक्छ भने अमेरिकामा एक दिन पहिले । तर यस वर्ष नेपाल र अमेरिकामा एकै दिन दसैं परेको छ भने जापान, अष्ट्रेलियामा भोलिपल्ट परेको छ।
जस्तो नेपालमा १२ तारिखमा दसैं मनाउँदा केही देशमा १३ तारिखमा परेको छ।
अमेरिकामा १२ तारिख शनिवार परेको छ, र यस दिन शुभ वेला, लाभ वेला, तथा अभिजित मुहूर्तको विशेष महत्व रहेको छ।
शास्त्रअनुसार, अक्टोबर १२ का दिन विहान ७:४० देखि ९:१५ सम्म शुभ लग्न रहेको छ। जुन समय टीका लगाउनका लागि सबैभन्दा उत्तम मानिएको छ। त्यसपछि दिवा १:३० देखि ३:१० सम्म लाभ लग्न रहेको छ। यो पनि टीका लगाउनको लागि अत्यन्तै शुभ समय मानिन्छ। यी दुबै समयको बीचमा, अभिजित मुहूर्त विहान ११:३० देखि १२:२५ सम्म रहेको छ, जसलाई शास्त्रहरूमा विशेष रूपले लाभदायक मानिएको छ।
यस दिन चन्द्रमा मकर राशिमा रहनेछ, जसले पूर्व मुख गरी टीका थाप्दा शुभ फल प्राप्त हुने विश्वास छ। यो साइत विशेषतः अमेरिकाको मेरिल्याण्ड, डेलावेयर, पेन्सलभेनिया, भर्जिनिया तथा न्यूयोर्क जस्ता क्षेत्रहरूमा बसोबास गर्ने नेपालीहरूको लागि साइत तय गरिएको अमेरिकामा रहेका हिन्दू गुरु कमलनाथ सापकोटाले जानकारी दिए।
विजया दशमीको टीका मात्र एउटा धार्मिक अनुष्ठान नभएर यसले परिवारको एकता, सम्मान, र सामाजिक सद्भावलाई अझै प्रगाढ बनाउने विश्वास छ।
















