नेपाल शान्ति प्रक्रियालाई व्यवस्थापन गर्न सफल भएको छः मन्त्री राणा

वाशिङ्टन डिसी। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले आन्तरिक द्वन्द्व व्यवस्थापन गर्दै शान्ति स्थापनाको निर्णायक चरणमा प्रवेश गरेको बताएकी छिन् ।
राष्ट्रसङ्घीय फोरमको शान्ति निर्माणसम्बन्धी मन्त्रिस्तरीय बैठकमा सम्बोधन गर्दै मन्त्री राणाले नेपालको सङ्घीय संसदले हालै पारित गरेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री कानून भएको उल्लेख गरिन्।
“शान्ति निर्माणको मार्गचित्रको पुनःमूल्याङ्कनः समृद्धि र प्राथमिकता” शीर्षकमा आयोजित यस वर्षको बैठकमा सहभागी भएकी मन्त्री राणाले शान्ति निर्माण प्रक्रिया अहिलेको विश्वमा जटिल बन्दै गएको र द्वन्द्वको वास्तविक कारण पहिचान गर्नु दिगो शान्ति र समाजको स्थायित्वका लागि अत्यावश्यक रहेको बताइन्।
सन् २०२५ को शान्ति निर्माण प्रक्रियाको अवधारणालाई पुनःमूल्याङ्कन गरी यसलाई दिगो र सक्षम ढङ्गले अघि बढाउन जरुरी रहेको मन्त्री राणाको धारणा थियो। साथै, उनले शान्ति निर्माण कमिसनले सुरक्षा परिषद्, महासभा, र इकोसोसजस्ता अन्तर्राष्ट्रिय निकायसँग रणनीतिक साझेदारी गरेर काम गर्नुपर्ने सुझाव दिइन्।
नेपाल शान्तिका दूत गौतम बुद्धको जन्मस्थल भएको स्मरण गर्दै मन्त्री राणाले सकारात्मक सोच, व्यवहार, र संस्कृतिमा आधारित शान्तिपूर्ण र हिंसारहित समाज निर्माण गर्न विशेष ध्यान दिनुपर्नेमा जोड दिइन्।