कोशी अस्पतालमा अख्तियारको छानबिन

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरस्थित कोशी अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ ।
अस्पताल प्रशासन र विकास समितिको मिलेमतोमा मूल्याङ्कन र टेन्डर प्रक्रिया नगरी सरकारी भवनहरू भत्काइएको छ । चिकित्सक र कर्मचारीलाई आवासका लागि उपलब्ध गराइएका ६ वटा भवन कानुन मिचेर भत्काइएको साथै त्यहाँका काठ, इँटा, रड, टिनलगायत सामग्री ‘गायब’ पारिएको सार्वजनिक भएपछि आयोगले छानबिनमा चासो देखाएको हो ।
भवन भत्काउन अस्पताल विकास समितिका अध्यक्ष डा. फरवार्ड सिलवालको डोजर प्रयोग भएको थियो । स्वास्थ्य मन्त्रालयको समेत स्वीकृति नलिई आफूखुसी भवन भत्काइएको हो । मनोमानी हिसाबले भवन भत्काउने काममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रभाल झाले सहयोग गरेको आरोप लागेको छ ।
विकास समिति अध्यक्ष डा. सिलवाल र अस्पतालका मेसु झाकै मिलेमतोमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली विपरीत भवनहरू भत्काइँदा अस्पताललाई ठुलो नोक्सानी भएको जनाइएको छ ।
यसै गरी, स्वास्थ्य मन्त्रालयबाट स्वीकृत दरबन्दीलाई लुकाएर अस्पताल विकास समितिका नाममा आफूनिकटका व्यक्तिलाई कर्मचारी बनाएर करारमा नियुक्त गर्न खोजिएको आरोप पनि लागेको छ । जथाभाबी मापदण्ड बनाएर आफू अनुकूल विभिन्न पदका ५० जना कर्मचारी भर्नाका लागि शङ्कास्पद हिसाबले दरखास्त आह्वान गरिएको हो ।
आफूनिकटका व्यक्तिलाई कर्मचारीमा नियुक्ति दिन डा. सिलवाल र मेसु डा. झाले मिलेमतो गरेको आरोप छ । माघ ४ गतेको मिति राखी २१ दिनको म्याद दिँदै तीन महिने सेवा करार रहने गरी मेडिकल अधिकृत, नर्सिङ अधिकृत, बायोमेडिकल टेक्निसियन, स्टाफ नर्स र फार्मेसी सहायक भर्नाका लागि विज्ञापनमार्फत दरखास्त आह्वान गरिएको छ । चलानी नम्बर र पत्र सङ्ख्या क्रमबद्ध नराखी साथै क्रम सङ्ख्या नै गायब पारेर शङ्कास्पद हिसाबले विज्ञापन गरिएको हो ।
अस्पताल विकास समितिका नाममा गैर कानुनी निर्णय गरेर अस्पतालमा विभिन्न कामकारबाही र गतिविधि भइरहेको सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयले छानबिन थालेको हो ।
आयोगको इटहरी कार्यालयका प्रमुख सुरेश न्यौपानेले छानबिन सुरु गरिएको पुष्टि गरे । अनुसन्धानपछि आवश्यक देखिए सम्बन्धित पक्षमाथि कारबाहीको सिफारिस गरिने उनले बताएका छन् ।
यसैबिच, कोशी अस्पतालको प्रकरणबारे जिल्ला प्रशासन कार्यालय मोरङले पनि छानबिन गरिरहेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले यसबारे अस्पतालसँग लिखित जवाफ मागेका थिए । अस्पतालले पठाएको जवाफको अध्ययन भइरहेको उल्लेख गर्दै उनले केही दिनमै थप प्रक्रिया अघि बढाउने बताए ।