आहा रारा पोखरा गोल्डकप :आर्मी सेमिफाइनलमा
पोखरा । डिफेन्डिङ च्याम्पियन संकटा फुटबल क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब २३ औँ संस्करणको आहा रारा पोखरा गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ ।
पोखरा रङ्गशालामा जारी प्रतियोगितामा आइतबार ३–० को गोल अन्तरले सङ्कटालाई पराजित गर्दै आर्मी सेमिफाइनलमा पुगेको हो । आर्मीको जितमा लागि दिनेश हेमजङ र जिलेप्सीजंग कार्कीले गोल गरेका थिए ।
जिलेप्सीजंगले पहिलो हाफको अन्तिममा पहिलो गोल गर्दै आर्मीका लागि खाता खोलेका हुन् । ४५ औँ मिनेटमा कप्तान भरत खवासले दायाँ साइडबाट दिएको क्रसलाई हेडमार्फत गोल गर्न सफल भए ।
त्यस्तै खेलको ४९ औँ मिनेटमा दिनेशले टिमका लागि दोस्रो गोल गरे । उनको बल रोक्ने प्रयासमा सङ्कटाका खेलाडी कुलदिप कार्कीले ह्याण्ड गरेपछि आर्मीले पेनाल्टीको अवसर पाएको थियो । उक्त पेनाल्टीलाई दिनेशले गोलको रूपमा परिणत गर्दै खेल २–० मा पुर्याए । त्यस्तै खेलको ७६ औँ मिनेटमा जिलेप्सीजंगको पासमा दिनेशले टिमका लागि तेस्रो र व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई सहज रूपमा सेमिफाइनलको यात्रा तय गराए ।
आहा रारा गोल्डकपको इतिहासमा नेपाल आर्मी तीन पटक उपाधि नजिक पुगेको छ । तर, उपाधि जित्न भने पाएको छैन । प्रतियोगिताको सातौँ, आठौँ र १७ औँ संस्करणमा आर्मी तीन पटक उपाधि नजिक पुगेको छ । त्यस्तै ११ औँ र १८ औँ संस्करणमा आर्मीले अन्तिम चारको यात्रा तय गरेको छ ।
२३ औँ संस्करणमा नवप्रवेश टिम राइजिङ स्टार क्लबलाई पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको आर्मीले अब सेमिफाइनलमा चर्च ब्वाइज र एपीएफ क्लबबिच हुने खेलका विजेतासँग माघ १८ गते खेल्नेछ ।
तस्बिर सौजन्य : सुदर्शन रञ्जित















