एनआरएनए विवादमा सरकारले गठन गरेको छानबिन समितिको गौरी जोशीद्वारा स्वागत

पेन्सिल्भेनिया/ गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को विद्यमान विवादको छानबिनका लागि सरकारले समिति गठन गरेकोमा बद्री केसी समूहका महासचिव गौरी जोशीले स्वागत गरेका छन्।
सरकारले मन्त्रीपरिषद्कै निर्णय मार्फत समिति गठन गरेको हो।
नेपालमा फिजिकल बैठकमा सहभागी भई अमेरिका फर्कँदै गर्दा भारतको नयाँ दिल्लीमा रहेका महासचिव जोशीले समाज टाइम्स सँगको छोटो कुराकानीमा भने,’ अब राम्रो हुन्छ, पहिल्यै गर्नु पर्ने।’
‘विवाद रहिरहनु भन्दा टुङ्गाएको ठिक हो’ उनले भने, ‘तर सरकारका प्राथमिकताका काम गर्नु पर्ने थियो, सामाजिक संस्थामा अल्झन हुँदैन थियो।’
महासचिव जोशीले समितिमा तीन समूहकै प्रतिनिधिको सहभागिता भएको भए अझ राम्रो हुने प्रतिक्रिया दिए।
‘हामी काम गर्न आएका हौ, विवादले अल्झाएको छ छिनोफानो हुनै पर्छ।’ जोशीले भने।
गत अक्टोबरमा भएको चुनावको नतिजा सार्वजनिक गर्ने क्रममा उपाध्यक्षका उम्मेदवार डा केशव पौडेलको नेपाल बुथबाट शून्य मत देखिए पछि विवाद भएको थियो।
एनआरएनले अस्ट्रेलियन कम्पनी भेरो मार्फत चुनाव गराएको थियो। विवाद पछि तत्कालीन तीन अध्यक्षले अर्को व्यवस्था नभए सम्मका लागि सबै प्रक्रिया स्थगन गरिएको बताएका थिए।
तर त्यस लगत्तै डा बद्री केसी समूहले आफूहरू निर्वाचित भएको भन्दै शपथ गरेको थियो भने अध्यक्षका प्रत्याशी आरके शर्मा र महेश श्रेष्ठ समूहले समानान्तर कमिटी बनाएका पछि विवाद उत्पन्न भएको हो।
त्यस अगाडीको महाधिवेशनमा पनि प्रतिनिधि छनौटले उग्र रूप लिँदा संस्था फुटेको थियो। विनोद कुँवरको अध्यक्षतामा एउटै नाम र लोगो प्रयोग गरेर अर्को समानान्तर संस्था सक्रिय छ।