गुन्डा नाइके रिगललाई माफी दिनुको लिखित कारण माग

काठमाडौं । सर्वोच्च अदालतले नेपालगन्जका गुन्डा नाइके रिगल (योगराज ढकाल)लाई संविधान दिवसको अवसरमा आममाफी दिनुपर्ने कारण पेस गर्न निर्देशन दिएको छ ।
चेतन मानन्धरलाई नेपालगञ्जमा खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा रिगलले जन्मकैदको सजाय पाएका थिए । तर, संविधान दिवस (असोज ३) गते सरकारले विभिन्न कैदीहरुलाई आममाफी दिँदा जन्मकैदको सजाय पाएका व्यक्ति पनि रिहा भएपछि चौतर्फी आलोचना भइरहेको छ ।
तत्कालिन तरुणदल बाँकेका नेता समेत रहेका रिगल रिहा हुँदा फिल्मीसैलीमा शक्ति प्रदर्शन जस्तो गरिएका कारण पनि पीडित परिवारले असुरक्षा महसुस गरेको भन्दै काठमाडौंमा पत्रकार सम्मेलन गरेका थिए ।
मृतककी श्रीमती भारती शेर्पाले सर्वोच्च अदालतमा दिएको रिटको सुनवाई गर्दै न्यायाधीश मनोजकुमार शर्माको इजलासले पीडित परिवारको सुरक्षाको व्यवस्था गर्न आदेश दिँदै रिगललाई छाड्नुपर्ने कारणको लिखित जवाफ ७ दिन भित्र पेश गर्न आदेश दिएको छ ।
आफ्ना पतिका हत्यारालाई राष्ट्रपतिले माफी दिनु संविधा विपरीत भन्दै शेर्पाले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । जसमा सर्वोच्च अदालतले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय बाँकेलगायतलाई लिखित जवाफ पेस गर्न र पीडित परिवारको सुरक्षा व्यवस्था गर्न आदेश दिएको हो ।