सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले थाल्यो काम

काठमाडौं । नेकपा एमाले र सरकारबीच भएको सहमति अनुसार गठन गरिएको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले आफ्नो काम सुरु गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सुनको अवैध पैठारी, तस्करीको नियन्त्रण गर्न सुझावसहितको प्रतिवेदन पेस गर्न जाँचबुझ आयोग गठन गर्ने निर्णय थियो । मन्त्रिपरिषद्ले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा ४ सदस्यीय आयोग गठन गरिएको छ । सदस्यहरुमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा रहेका छन् ।
आयोगले आज पत्रकार सम्मेलन गरेर कार्य प्रारम्भ गरेको जनाएको छ । सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै विधुतिय सिगरेटमा भएको सुन तस्करी, ब्रेक सुमा भएको सुन तस्करी लगाएत पटक पटक भएको सुन तस्करीजन्य कसुरको प्रकृति तथा यसबाट पर्ने असरका सम्बन्धमा सुझाव संकलन गर्ने जनाएको छ । त्यस्तै सुनको अवैध पैठारीका सम्बन्धमा अपराधको पूर्ण नियन्त्रण गर्न मौजुदा कानूनमा गर्नुपर्ने परिमार्जन र संरचनात्मक सुधारका सम्बन्धमा पनि सुझाव लिने आयोगले जनाएको छ ।
सुन तस्कारी कार्यमा संलग्न व्यक्तिहरुको थप अनुसन्धान, यस बिषयमा भएका फैसलाहरुका बारेमा समेत जानकारी लिने आयोगका अध्यक्ष डिल्लीराज आचार्यले बताए । उनले कार्तिक १६ गतेसम्मको समयसीमा निर्धारण गरेर बिभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक सूचना प्रकाशन गर्ने निर्णय भएको जानकारी दिए ।