३८ दिन देखि जारी अनसन तोडियो

Getting your Trinity Audio player ready...
|
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतको विशेष पहलमा विगत ३८ दिनदेखि माइतीघर मण्डलामा रिले अनसन बसिरहेका चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समितिका पदाधिकारीहरूले सोमबारदेखि अनसन तोडेका छन् ।
मन्त्री बस्नेतले सङ्घर्ष समितिले उठाएका माग सम्बोधन गर्न सरकारले पहल गरिरहेको र चिकित्सा शिक्षा ऐन छिट्टै संशोधन हुने तयारीमा रहेको आश्वासन दिएपछि १४ सूत्रीय माग राखेर अनसन बसेका उनीहरू हाललाई आफ्नो सडक सङ्घर्ष स्थगित गर्न राजी भएका हुन । अनसन तोडाउन स्वास्थ्य मन्त्री आफ्नो सचिवालयका स्वकीय सचिव रामेश्वर आचार्य र रामचन्द्र दुलाललाई माइतीघर पठाएका थिए । मन्त्री बस्नेतका प्रतिनिधि आचार्यले अनसनमा बसिरहेका सङ्घर्ष समितिका सदस्यहरूलाई जुस पिलाएर अनसन स्थगित गरेका थिए ।
अनसन स्थगित गरे पछि चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समितिका वरिष्ठ पाँच जना पदाधिकारी वार्ता गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पुगेका थिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बस्नेत सहित भएको वार्तामा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल, अतिरिक्त सचिव डा.विकाश देवकोटा, डा. टङ्क वाराकोटी लगायत थिए भने सङ्घर्ष समितिको तर्फबाट संयोजक निर्मल सापकोटा, सहसंयोजक भुवन चक्र जोशी लगायतका पदाधिकारी थिए । वार्तामा सङ्घर्ष समितिका संयोजक सापकोटाले आफूहरूले उठाएका १४ वटा मागका विषयमा मन्त्री बस्नेतलाई जानकारी गराउँदै नेपालको चिकित्सा शिक्षा सुधारका लागि सरकारले आफ्ना मागहरू सम्बोधन हुनु पर्नेमा जोड दिएका थिए ।
स्वास्थ्य मन्त्री बस्नेतले प्रधानमन्त्री विदेशमा रहेका बेला स्वास्थ्य मन्त्री र चिकित्सा सेवा आयोगको सह अध्यक्षको हैसियतले चिकित्सा शिक्षा ऐन संशोधन गरेर अगाडि बढ्न सरकार तयार रहेको जानकारी गराउँदै यसका विषयमा शिक्षा मन्त्री र प्रधानमन्त्री समेत सकारात्मक भएकोले सङ्घर्ष समितिले उठाएका मागहरू चाडै सम्बोधन हुने विश्वास दिलाए ।
मन्त्री बस्नेतले भने, ‘ चिकित्सा शिक्षा ऐनमा भएका राम्रा कुरालाई अङ्गीकार गरेर जान सकिन्छ । सुधार गर्नु पर्नेलाई संशोधन गर्न सकिन्छ । यस विषयमा मन्त्रीपरिषद्मा समेत चर्चा भइसकेको छ । प्रधानमन्त्री ज्यु समेत सकारात्मक हुनुहुन्छ ।’ चिकित्सा ऐन संशोधन गर्न नसकिए अबको पाँच वर्षमा नेपालमा चिकित्सक र नर्सहरूको अभाव हुने दाबी गर्दै प्रधानमन्त्री विदेश भ्रमणबाट फर्किसकेपछि यसका विषयमा ठोस पहल हुनेमा जोड दिए । सङ्घर्ष समितिले राखेका जायज मागहरूप्रति सरकार सकारात्मक ढङ्गले अगाडि बढिसकेकाले अव आन्दोलन गरिराख्नु नपर्नेमा मन्त्री बस्नेतको जोड थियो ।
मन्त्री बस्नेतले सङ्घर्ष समितिले उठाएका जायज मागहरू समस्या समाधानका लागि अगाडि गर्नु पर्ने पहल कदमीका लागि स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. विकाश देवकोटालाई फोकल सर्जन तोकेका छन् ।
चिकित्सा शिक्षा ऐन संशोधन गर्नु पर्ने, सिटिइभिटीको तुरुन्त पुनर्संरचना गर्नु पर्ने, प्रि डिप्लोमाका स्वास्थ्य कार्यक्रम स्तरोन्नति गर्दै बाँकीमा तत्काल भर्ना खोल्नु पर्ने, पारा मेडिकल अन्तरगत नर्सिङका विषयहरू चिकित्सा शिक्षाबाट अलग गर्नु पर्ने, बन्द गराइएका नर्सिङ कलेजमा भर्ना खोल्नु पर्ने, छात्र वृत्तिमा भइरहेको विभेद अन्त्य गर्नु पर्ने, शिक्षामा कोटा प्रणाली खारेज हुनु पर्ने लगायतका १४ वटा माग राखेर सङ्घर्ष समितिले साउन २७ देखि माइतीघर मण्डलामा रिले अनसन जारी राखेको थियो ।
स्वास्थ्य मन्त्री बस्नेतले आफ्ना मागहरूप्रति चासो राखेर अनसन तोडाउने र वार्तामा बोलाउनु सकारात्मक भएको सङ्घर्ष समितिका संयोजक सापकोटाले बताए । स्वास्थ्य मन्त्रीसँगको वार्तापछि आफूहरूले उठाएका जायज मागहरू सरकारले पूरा हुनेमा विश्वास जागेको सङ्घर्ष समितिका सहसंयोजक जोशीले बताए ।