भलिबलको उपाधि पुलिस र हेल्प नेपाललाई

काठमाडौं । नेपाल पुलिस क्लबको महिला टिम र टिपटप हेल्प नेपालको पुरुष टिमले सातौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगको उपाधि उचालेका छन् ।
नेपाल भलिबल सङ्घको आयोजनामा भएको लिगमा आफ्ना पाँचै प्रतिद्वन्द्वी पराजित गरी शीर्षस्थानमा रहँदै फाइनल पुगेको पुलिसले आज सम्पन्न फाइनल खेलमा नेपाल एपिएफ क्लबलाई ३–१ सेटमा पराजित गर्दै उपाधि उचालेको हो । पुलिसले पहिलो सेट २५–१२ ले जितेको थियो । तर दोस्रो सेट २१–२५ ले एपिएफलाई सुम्पन पुग्यो । खेल १–१ को बराबरीमा गए पछि पुलिसले खेलमा सुधार गर्दै तेस्रो र चौथो सेट २५–२३, २५–१९ ले आफ्नो पक्षमा पार्दै ६ लाख नगद सहित उपाधि उचालेको हो ।
उपविजेता एपिएफले नगद ३ लाखमा चित्त बुझायो । यस्तै तेस्रो स्थानमा रहेको होङ्गवान्जी न्यु डायमन्ड युथ स्पोर्टस् क्लबले नगद १ लाख ५० हजार र चौथो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबले नगद ७५ हजार प्राप्त गर्यो ।
राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको लिगको पुरुष तर्फको खेलमा आफ्नो अविजित यात्रालाई कायम राख्दै टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबले पुरुष तर्फको उपाधि उचालेको छ । हेल्प नेपालले पहिलो सेट २५–१९ले आफ्नो पक्षमा पार्यो । दोस्रो सेट पुलिसले २५–११ ले आफ्नो पक्षमा पार्दै खेललाई १–१ सेटको बराबरीमा पुर्यायो । तर तेस्रो र चौथो सेट २५–१८, २५–१८ ले आफ्नो पक्षमा पार्दै टिपटपले उपाधि उचालेको हो । उपाधिका साथ हेल्प नेपालले नगद ६ लाख सहित ट्रफी प्राप्त ग¥यो । उपविजेता पुलिसले नगद ३ लाख र ट्रफी प्राप्त गर्यो ।
तेस्रो स्थानमा त्रिभुवन आर्मी क्लब रह्यो । आर्मीले नगद १ लाख ५० हजार प्राप्त गर्यो । यस्तै चौथो स्थानमा रहेको एपिएफले नगद ७५ हजार प्राप्त गर्यो ।
८ दिन सम्म चलेको लिगमा सर्वोत्कृष्ट खेलाडी महिला तर्फ नेपाल पुलिस क्लबकी पुनम चन्द र पुरुष तर्फ टिपटप हेल्प नेपालका अईमल खान घोषित भए । सर्वोत्कृष्ट खेलाडीहरूले जनही ३५ हजार प्राप्त गरे ।
विधागत तर्फ नेपाल पुलिसकी शान्तिकला तामाङ उत्कृष्ट लिवेरो, कमला पुन उत्कृष्ट सेटर, उषा भण्डारी उत्कृष्ट स्पाइकर, रुपेश विष्ट उत्कृष्ट प्रशिक्षक र सुमित्रा रेग्मी उदीयमान खेलाडी घोषित भए । यस्तै एपिएफकी सरस्वती चौधरी उत्कृष्ट सर्भर र आर्मीकी सङ्गम महतो उत्कृष्ट ब्लकर घोषित भए ।
पुरुष तर्फ हेल्प नेपालका टोप बहादुर थापा उत्कृष्ट लिवेरो, अद्नान खान उत्कृष्ट सेटर, मजहर अलि उत्कृष्ट स्पाइकर र उत्सव खड्का उत्कृष्ट प्रशिक्षक घोषित भए । यस्तै उत्कृष्ट सर्भरमा एपिएफका हेमन्त मल्ल, उत्कृष्ट ब्लकरमा आर्मीका दुर्गा बहादुर खड्का र उदीयमान खेलाडीमा नेपाल पुलिसका रविन चन्द घोषित भए ।
विधागत तर्फका उत्कृष्टले जनही नगद १५ हजार र उदीयमान खेलाडीहरूले जनही १० हजार प्राप्त गरे ।
विजयी टिम तथा खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ, गण्डकी प्रदेश सांसद लिल बहादुर थापा, राष्ट्रिय वाणिज्य बैङ्कका कार्यकारी प्रमुख किरण कुमार श्रेष्ठ, पूर्व अन्तर्राष्ट्रिय खेलाडी एवं सशस्त्र प्रहरी बलका पूर्व महानिरीक्षक दुर्ज कुमार राई लगायतले पुरस्कार वितरण गरेको थिए ।
प्रतियोगितामा पुरुष तर्फ तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफल क्लब र नेपाल पुलिस क्लब, टिपटप हेल्प नेपाल, दावाली मिलन क्लब, सैलुङ बाघ ढुङ्गा स्पोर्टस् क्लब र गण्डकी प्रदेश भलिबल संघ तथा महिला तर्फ तीन विभागीय टोली आर्मी, एपिएफ, पुलिस क्लब, न्यु डायमन्ड युथ स्पोर्टस् क्लब, एभरेस्ट भलिबल क्लब र गण्डकी प्रदेश भलिबल सङ्घले प्रतिस्पर्धा गरेका थिए ।