चर्चित भ्रष्टाचार काण्डका फाइल लेखा समितिलाई दिनुपर्छ : केसी

काठमाडौँ । सार्वजनिक लेखा समितिको ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले संसदीय समितिले निर्णय गरेका विषयमा सरकारले हलुका रूपमा लिने गरेकोप्रति गुनासो गरेका छन् ।
आइतबार समिति सभाकक्ष सिंहदरबारमा बसेको बैठकमा केसीले संसद्को समितिमा पारित गरेर पठाएको कुराको टुङ्गो सरकारले नलगाउनु समितिकै अपमान गर्नु सरह रहेको बताए ।
उनले भने, ‘संसद्को समितिले पारित गरेका कुरा समितिलाई सांसदले नै गलत साबित गरे एउटा कुरा हो नत्र संसद् सरह अधिकार प्रयोग गरेर समितिले निर्णय गरेर पठाएको कुरा कुनै टुङ्गो नलगाउने कुरा हेलचेक्र्याइँ मात्र होइन संसदीय समितिको अपमान हो । विशेषाधिकारको अपहरण हो ।’
उनले विषयगत रूपमा समितिमा आएमा विषयलाई टुङ्गो लगाउनुपर्नेमा जोड दिँदै चर्चित भ्रष्टाचारका काण्डमा भएका निर्णय र विवरण सचिवालयले उपलब्ध गराउनुपर्ने माग गरे ।
‘खास गरी चर्चित भ्रष्टाचार काण्डका फाइलहरूको सम्बन्धमा विस्तृत विवरण यो समितिलाई दिनुपर्छ । के निर्णय भयो र त्यसलाई उल्ट्याउँछौँ भनेको होइन,तर जुन कुराको निर्णय भएर सरकार वा संवैधानिक निकाय जसले त्यसलाई जहाँ जुन लेबलबाट थन्क्याएर राखिरहेको छ त्यो मागेको बेला उपलब्ध गराउनुपर्छ। संसद्को समितिलाई अपमान गर्ने अधिकार कुनै सँग छैन’, केसीले भने ।
त्यस्तै उनले समितिको आन्तरिक कार्यविधि २०८० यसै साता पास गराएर वार्षिक क्यालेन्डर निर्माण गर्ने पनि बताएका छन् ।
उनले भने, ‘अहिले सबभन्दा ठुलो समस्या संसद्को सबै सदस्यहरू (समायोजन) एकत्रित गर्नुपर्ने हुन्छ । त्यो नभई हामीले अहिले तोकिदिँदा बडो असजिलो हुन्छ । यही हप्ता भित्र बिहान,दिउँसो,बेलुका जुनै बेला पनि हुन सक्छ,सांसदसँग समन्वय गरेर अर्को बैठकमा कार्यविधिलाई पारित गर्ने हो ।’
आज बसेको बैठकमा कार्यविधि निर्माण उपसमितिका संयोजकले कार्यविधिको मस्यौदा छलफलका लागि प्रस्तुत गरे । उक्त कार्यविधिलाई आजै पारित गर्ने भनिए पनि त्यो हुन सकेन ।
समितिको ज्येष्ठ सदस्यको हैसियतले बैठकको अध्यक्षता गरेका अर्जुन नरसिंह केसीले समितिले वार्षिक कार्यक्रम बनाएरै अघि बढ्नुपर्नेमा जोड दिँदै कार्यविधि निर्माण सँगै समितिलाई पनि कानुनी प्रक्रियाअनुसार पूरा गर्नुपर्ने बताए ।
‘वार्षिक क्यालेन्डर बनाएर अगाडि बढ्नुपर्ने जुन कुरा समितिमा उठेको छ,त्यो अत्यन्त जरुरी छ । त्यसको कार्यान्वयनको लागि पहिला हाम्रो कार्यविधि अन्तिम टुङ्गोमा पुग्नुपर्छ। र कार्यविधि मात्र होइन,सबैको चाहना भनेको समितिको नेतृत्व पनि सकेसम्म चाँडै प्रक्रियागत रूपले सुरु होस् ।’
त्यस्तै, उनले महालेखा परीक्षकले देखाएको बेरुजुलाई भ्रष्ट मानसिकताले भएको बेरुजु र प्रक्रियागत गल्तीका कारण दुई भागमा राखेर समितिले अध्ययन गरी छिटो बेरुजुको विषयमा समितिले तदारुकताको साथ लागेर कामको छिनोफानो गर्नुपर्नेमा जोड दिए ।