नवौँ राष्ट्रिय खेलकुदको खर्च विवरण सार्वजनिक गर्न, नेपाल लोकतान्त्रिक खेलकुद सङ्घको माग
काठमाडौँ । नेपाल लोकतान्त्रिक खेलकुद सङ्घले, नवौँ राष्ट्रिय खेलकुदमा भएको खर्च विवरण सार्वजनिक गर्न माग गरेको छ ।
काठमाडौँको त्रिपुरेश्वरमा पत्रकार सम्मेलन गर्दै सङ्घले, नवौँ राष्ट्रिय खेलकुदका क्रममा भएको खर्चको सम्पूर्ण विवरण सार्वजनिक गर्न माग गर्दै छानबिनका लागि समेत सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष देवेन्द्र कुमार शेरचनले, कुनै पनि अमुक उद्देश्य देखाएर गरिएको भ्रष्टाचार: क्षम्य छैन नहुने भन्दै त्यसको छानबिन गर्न सम्बन्धित निकायलाई आग्रह गरे ।
नवौँ राष्ट्रिय खेलकुदमा सहभागी खेलाडी, प्रशिक्षक, व्यवस्थापक, कर्मचारी समेतको सङ्ख्या, पोसाक, खेल सामाग्री, समारोह, बसोबास, यातायात, खेल स्थल व्यवस्थापन लगायत समितिहरूको निर्णय सहितको खर्च विवरण तुरुन्त सार्वजनिक गर्न माग गरेको सङ्घले १९ औँ एसियन गेम्सको बन्द प्रशिक्षण, वैदेशिक प्रशिक्षणको तुरुन्त व्यवस्थाका साथै सहभागी खेल र खेलाडीहरूको औचित्य पुस्टाइ गरियोस् ।
आर्थिक वर्ष २०८०-८१ को लागि नेपाल सरकारबाट प्राप्त खेलकुदको बजेट अत्यन्त कम रहेको भन्दै सङ्घले पर्याप्त रकम विनियोजनका लागि समेत ध्यानाकर्षण गराएको छ ।
राज्य र खेलकुद परिषद्बाट वर्षमा एक पटक एक खेलको अनिवार्य राष्ट्रिय प्रतियोगिता गर्ने व्यवस्था मिलाउन समेत ध्यानाकर्षण गराएको छ ।














