नेपाल भित्रियो मनसुन, मध्य तथा पश्चिम तराईमा तापक्रम बढ्ने
काठमाडौं । यस वर्षको मनसुन बुधवारबाट नेपाल भित्रिएसंगै मनसुनी प्रणालीको प्रभाव देखिएको छ । हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीले प्रभाव पारेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुसार मनसुनी प्रणालीको प्रभाव देशको मध्य तथा पश्चिमी तराईका भूभागमा पर्नाले गर्मी बढ्ने सम्भावना यथावत रहेको जनाएको छ ।
बिहीबार कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ ।
आज कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ–गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, राती कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहने छ ।
कोशी,बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा र मधेश प्रदेश सहित देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
महाशाखाले मौसमी बुलेटिन निकाल्दै मध्य तथा पश्चिम तराईंका भू–भागहरूमा अत्याधिक गर्मी हुने भएकाले अत्याधिक गर्मी, मेघ–गर्जन, चट्याङ तथा वर्षाबाट हुन सक्ने सम्भावित जोखिम र क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह समेत गरेको छ ।















