पाकिस्तानसँग नेपाल स्तब्ध
हङकमा जारी एसीसी महिला इमर्जिङ टिम्स कप क्रिकेटमा नेपाल पकिस्तानसँग पराजित भएको छ ।
मोङ कक मैदानमा टस जितेर पहिला बलिङ गरेको नेपालले ८७ रनमा पाकिस्तानलाई रोकेको थियो । ८८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर ७८ रनमात्रै बनाएपछि नेपालले ११ रनको पराजय भोग्न पुग्यो ।
८८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले पहिलो विकेटका लागि १६ रनको साझेदारी गरेको थियो । नेपालले पहिलो विकेटको रुपमा सिता रानामगरलाई गुमाउन पुग्यो । सिता ६ रन बनाएर आउट हुँदा १ चौका प्रहार गरिन् । उनले २० बल फेस गरिन् ।
त्यसपछि क्रिजमा आएकी विन्दू रावलले खास योगदान गर्न असफल रहिन् । १० बल फेस गर्दा ३ रन बनाएर आउट भइन् । टिमको स्कोर ३७ रन पुगेको बेला नेपालले तेस्रो विकेट गुमाएको थियो । तेस्रो विकेटको रुपमा ११.१ ओभरमा कविता कुवँर २० रन बनाएर आउट भइन् । उनले ३२ बल फेस गर्दा २ चौका प्रहार गरिन् । चौथो विकेट ४० रनमा नेपालले गुमायो । चौथो विकेटको रुपमा नेपालले इन्दू बर्मालाई गुमाउन पुग्यो । इन्दू ९ बल फेस गर्दा ४ रन बनाएर आउट भइन् । यसैगरी ५ औं विकेटको रुपमा सम्झना खड्का पभेलियन फर्किइन् । उनले ८ बल फेस गर्दा १ चौकाको मद्दतले ७ रन जोडिन् ।
त्यसपछि कप्तान रुविना क्षेत्री छैटौं विकेटको रुपमा आउट भएपछि नेपाल दबाबमा आएको थियो । रुविना १३ बल फेस गर्दा १ चौकाको मद्दतले ६ रन बनाए आउट भएकी थिइन् । नेपालले छैटौं विकेट १५.३ ओभरमा ५३ रन हुँदा गुमाउन पुग्यो । अन्तिममा कविता जोशी नटआउट १५ तथा ज्योती पाण्डेले ९ रन बनाए पनि नेपालको हार टार्न असफल भए ।
पाकिस्तान ए का लागि साइदा एरोव साह र तुवा हुसेनले दुई दुई विकेट लिए । अनोसा नासिर र उम इ हानीले एक एक विकेट लिए ।
टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानको ए टिम १९.२ ओभरमा ८७ रनमा अल आउट भयो । नेपालका लागि इन्दू बर्माले सर्वाधिक ३ विकेट लिइन् । ह्याट्रिक अवस्थामा रहेका बेला उनको क्याच विकेटकिपर ज्योती पाण्डेले मिस गरिन् ।
पाकिस्तानले १५ ओभरमा ६५ रन बनाउँदा ७ विकेट गुमएको अवस्थामा पानी परे केहीबेर खेल रोकिन पुगेको थियो । पाकिस्तानकी सहवाल जुल्फिकरले सर्वाधिक २८ रन बनाउँदा सदाव साम्सले १२ रन जोडिन् । यसैगरी गुल फिरोजाले ११ रन बनाउँदा अरुले दोहोरो अंकमा रन बनाउन असफल रहे ।
नेपालका लागि इन्दू बर्माले ३ विकेट लिँदा कविता जोशी र सिता रानामगरले दुई दुई विकेट लिँए । यसैगरी कविता कुँवरले एक विकेट लिइन् ।
थाइल्याण्डले प्रतियोगितामा सहभागिता नजनाएपछि नेपालले मौका पाएको हो । यो प्रतियोगितामा टेस्ट नेशन्सले ए टिम पठाएका छन् भने अरुको सिनियर टिमले नै प्रतिस्पर्धा गरेको छ । पाकिस्तानको ए टिम हो ।















