चर्च ब्वाइजले लिग जित्दा एपीएफ र खुमलटार रेलिगेशनमा
काठमाडौं । नेपाली फुटबलको मेरुदण्डको रुपमा रहेको शहीद स्मारक ए डिभिजन लिग फुटबलको यो सिजन अन्त्य भएको छ । डबल राउन्ड रोविन लिगमा पहिलो पटक सञ्चालन भएको प्रतियोगिताको उपाधि चर्च ब्वाइज क्लबले जित्दा गत संस्करणको विजेता मछिन्द्र क्लब दोस्रो स्थानमा रह्यो ।
लिगकै सर्वाधिक सफल मध्यको टिम थ्रीस्टार भने अन्तिम खेलमा नाटकीय जित निकाल्दै रेलिगेशनबाट जोगिएको छ । जावलाखेलविरुद्ध दशरथ रंगशालामा निकै प्रतिष्पर्धात्मक बनेको खेलमा बिक्रमले खेलको ८३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । विक्रमको यो करियरको अन्तिम खेल समेत हो । जावलाखेलका प्रमिन श्रेष्ठले पेनाल्टी क्षेत्रमा विक्रमलाई खराब ट्याकल गरेपछि प्राप्त पेनाल्टी अवसरलाई विक्रमले नै गोलमा परिणत गर्दै टोलीलाई रेलिगेशनबाट बचाउन सफल भएका थिए ।
यस जितसँगै थ्री स्टार रेलिगेसनबाट जोगिएको छ । थ्री स्टारले २६ खेलमा ३२ अंक जोड्दै नवौं स्थानमा उक्लिएको छ । थ्री स्टारको जितले विभागीय टोली एपीएफ क्लव भने रेलिगेसनमा परेको छ । २०६२ सालबाट ‘ए’ लिग खेलिरहेको एपीएफ पहिलो पटक ‘बी’ डिभिजन लिगमा घटुवा भएको हो ।
बराबरीसँगै संकटाले २६ खेलमा ३२ अंक जोडेको छ । एनआरटीले २७ खेलमा ३४ अंक जोड्दै सिजनको समापन गरेको छ । ए डिभिजन लिगमा चर्च ब्वाइजले २६ खेल खेल्दा सर्वाधिक १३ खेलमा जित निकाल्न सफल भयो भने ९ खेलमा बराबरी गर्दै अंक बाँडेका थियौ । यस्तै ४ खेलमा पराजय भोग्न पुग्यो । चर्च ब्वाइजले प्रतियोगिताभर ३५ गोल गर्दा १५ गोल ब्यहोर्न पुग्यो । उपाधि विजेता चर्च ब्वाइजले ७५ लाखको चेक प्राप्त गरेको छ ।
यसैगरी गत संस्करणको उपाधि जितेको मछिन्द्र क्लब यस सिजन उपाधि जोगाउन असफल रह्यो । तर, दोस्रो स्थानमा रहन सफल भयो । मछिन्द्र ४५ अंकका साथ दोस्रो स्थानमा रहँदा २६ खेलमा १२ मा जित ९ मा बराबरी र ५ खेलमा हार भोग्न बाध्य भयो । मछिन्द्रले सर्वाधिक ४१ गोल गर्दा २६ गोल खान पुग्यो । मछिन्द्रले ५० लाखको चेक प्राप्त गरेको छ ।
यस्तै, विभागीय क्लब नेपाल पुलिस तेस्रो स्थानमा रहेर प्रतियोगिता टुंग्यायो । पुलिसले ४१ अंक जोड्दा १२ खेलमा जित र ५ खेलमा बराबरी गरेको थियो । पुलिसले प्रतियोगिताभर ९ खेलमा पराजय भोग्न पुग्यो ।
पुलिसले २९ गोल गर्दा ३० गोल खान पुग्यो । तेस्रो भएको पुलिसले २५ लाखको चेक प्राप्त गरेको छ । यसैगरी पुलिसले फेयर प्ले टिमको उपाधि पनि जितेको छ । पुलिसले थप ३ लाखको चेक पनि प्राप्त गरेको छ ।
यस्तै सुरुमा ए डिभिजन लिगको उपाधि दावेदार मानिएको जावलाखेल युथ क्लब दोस्रो चरणमा लय गुमाउन पुग्दा अन्त्यमा चौथो स्थानमा पुग्यो । जवलाखेलले १० खेलमा जित ७ खेलमा बराबरी गर्दा ९ खेल गुमाउन पुग्यो । ३७ अंक बनाएको जावालखेलले प्रतियोगिताभर ३९ गोल गर्दा ३३ गोल खान पुग्यो ।
यस्तै, रोयल ब्लु सातदोबाटो युथ क्लब पाँचौं स्थानमा रहँदै प्रतियोगिता टुंग्याएको छ । सातदोबाटोले १० खेलमा जित निकाल्दा ५ खेलमा बराबरी गरेको थियो । यसैगरी ११ खेलमा पराजय भोग्यो । सातदोबाटोले २८ गोल गर्दा २८ गोल नै खान पुग्यो । सातदोबाटोले ३५ अंक जोडेको थियो ।
यस्तै, न्युरोड टिम एनआरटी छैटौं स्थानमा रहेर प्रतियोगिता टुंग्याउन सफल भयो ।
एनआरटीले ८ खेलमा जित निकाल्दा १० खेलमा बराबरी गर्न पुग्यो । एनआरटीले सिजभर ३३ गोल गर्दा ३७ गोल खान पुगेको थियो । सातौं स्थानमा विभागीय क्लब त्रिभुवन आर्मी रह्यो । ८ खेलमा जित निकालेको आर्मीले १० खेलमा बराबरी गर्दा ८ खेलमा अंक गुमाएको थियो । आर्मी ३४ अंकका साथ तालिकाको सातौं स्थानमा रहेको हो । आर्मीले सिजभर ३० गोल गर्दा २९ गोल खान पुग्यो ।
यसैगरी मनाङ मस्र्याङ्दी क्लब आठौं स्थानम रहेर यो सिजनको अन्त्य गरेको छ । मनाङले ७ खेलमा जित निकाल्दा ११ खेल बराबरी गरेको थियो भने ८ खेलमा पराजय भोग्न पुग्यो । मनाङले २५ गोल गर्दा २९ गोल खान पुग्यो ।
नवौं स्थानमा थ्रीस्टार क्लब आएको छ । अन्तिम खेलअघि रेलिगेशन पर्ने त्रासमा रहेको थ्रीस्टारले अन्तिम खेलमा जावलाखेलाई पराजित गर्दै ए डिभिजन लिगमै आफूलाई राख्न सफल भयो । थ्रीस्टारले प्रतियोगिताभर ३२ अंक बनायो । थ्रीस्टारले ७ खेलमा जित निकाल्दा ११ खेल बराबरी र ८ खेल गुमाउन पुग्यो । प्रतियोगिताभर सर्वाधिक कम गोल गरेको टिमको रुपमा थ्रीस्टार रह्यो । थ्रीस्टारले १८ गोल गर्दा १८ गोल नै खान पुगेको थियो ।
यसैगरी दशौं स्थानमा संकटा क्लब रह्यो । संकटाले ७ खेलमा जित १० खेलमा बराबरी र ९ खेलमा पराजय भोग्न पुग्यो । संकटाको ३१ अंक रहेको थियो । संकटाले प्रतियोगिताभर २७ गोल गर्दा ३० गोल खान पुग्यो ।
हिमालयन शेर्पा क्लब भने ११ औं स्थानमा रह्यो । शेर्पाले ७ खेलमा जित निकाल्दा ११ खेल बराबरी र ९ खेलमा पराजय भोग्न पुग्यो । शेर्पाले २८ गोल गर्दा ३५ गोल व्यहोरेको थियो । शेर्पाको ३१ अंक रह्यो ।
१२ औं स्थानमा रहने टिम हो फ्रेन्ड्स क्लब । फ्रेन्ड्स ३० अंकसहित रेलिगेशनबाट जोगिन सफल रह्यो । फ्रेन्ड्सले ७ खेलमा जित निकाल्दा ९ खेल बराबरी गरेको थियो भने १० खेलमा पराजय भोग्न पुग्यो । फ्रेन्ड्सले ४२ गोल गर्दा ३७ गोल खान पुग्यो ।
यसैगरी यो सिजन एपीएफ तेह्रौ स्थानमा रहँदै रेलिगेशनमा पर्ने टिम विभागीय क्लब एपीएफ बन्यो । २६ खेलमा ८ खेल जित्दा ६ खेल बराबरी र १२ खेलमा पराजय भोग्न पुग्यो । २९ गोल गर्दा ३६ गोल खान पुग्यो । एपीएफ र फ्रेन्ड्सको समान ३० अंक रहे पनि गोल अन्तरका आधारमा एपीएफ रेलिगेशन भएर बी डिभिजनमा पुग्यो ।
यसैगरी, पहिलो सिजन ए डिभिजन लिग खेलेको एफसी खुमलटार पुनः बी डिभिजनमा घटुवा भएको छ । यसै सिजन ए डिभिजन खेलेको चर्च ब्वाइजले लिग जित्ने इतिहास बनाउँदा खुमलाटार भने अभागी सावित भयो । खुमलटारले ८ खेलमा जित निकाल्दा ३ खेलमात्रै बराबरी खेल्यो । १५ खेल गुमाएको खुमलटारले सिजभर ३४ गोल गर्दा ५४ गोल खान पुग्यो । अब एपीएफ र खुमलटारले बी डिभिजन लिग खेल्नु पर्ने भएको छ ।
प्रतियोगिताका विजेतालाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु, राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनाराम श्रेष्ठ लगाएतले पुरस्कार वितरण गरेका थिए ।















