प्रचण्डले नवौं पटक गरे मन्त्रिपरिषद् विस्तार, सरकारले अझैं पूर्णता पाएन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले नेपाली कांग्रेसबाट ३ जनालाई मन्त्रिपरिषद्मा थप गरेका हुन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले धनराज गुरूङ, मोहनबहादुर बस्ने र डिगबहादुर लिम्बू मन्त्रीमा नियुक्त गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले गत ११ पुसमा गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उनीहरुलाई मन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।
गुरूङलाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र लिम्बूलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ । नवनियुक्त मन्त्रीहरुले विहीबार पद तथा गोपनियताको सपथ लिने छन् । सपथग्रहण समारोह राष्ट्रपति भवन शीतल निवासमा दिउँसो ३ बजेका लागि तय गरिएको छ ।
गत पुस ११ पहिलोपटक मन्त्रिपरिषद् गठन गरेका प्रधानमन्त्री प्रचण्डले माघमा तीनपटक, फागुनमा दुई, चैतमा एक र वैशाखमा दुईपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । नवौं पटक मन्त्रिपरिषद् विस्तार गरिए पनि अझैं प्रधानमन्त्रीसँग २ वटा मन्त्रालयको जिम्मेवारी रहेको छ । प्रधानमन्त्री प्रचण्डले अझैं खानेपानी र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी अरुलाई दिन बाँकी रहेको छ । नेपालको संविधान अनुसार २२ जना मन्त्री र ३ राज्य मन्त्री गरी २५ जना सदस्य रहने व्यवस्था छ ।