महामन्त्री ज्युहरु, काम थालौं सामाजिक सञ्जालमा धेरै भयो…

काठमाडौं । लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस पछिल्लो समयमा शीर्ष नेतृत्व सत्तालिप्सा डुब्दा विधानले तोकेको बैठकहरू बस्न सकि रहेका छैनन्, निर्णयहरु पनि तदर्थवादमा चल्न थालेका छन् । अहिले पार्टीको संगठन अस्तव्यस्त बनेको छ भने नेपाली कांग्रेसको सिद्धान्त र नीति के हो भन्ने प्रश्न पनि उठ्न थालेको छ । आफूलाई अब्बल दावी गर्ने नेपाली कांग्रेसका २ जना महामन्त्रीहरु सामाजिक सञ्जालमा बरालिनु साटो पार्टी संगठनको कामलाई चलायमान बनाउन तर्फ लाग्न जरुरी भइसकेको छ ।
विगतमा वैचारिक, नीतिगत र कार्यक्रमका दृष्टिले कांग्रेस अन्य दलभन्दा अग्रणी रहे पनि कांग्रेसले आफूलाई पछिल्ला दिनमा समयअनुकूल वैचारिक छलफलसमेत गर्न सकेको छैन ।
संवैधानिक व्यवस्थाअनुसार साढे पाँच वर्षभित्र महाधिवेशन गर्नेपर्ने बाध्यताले नेतृत्व चयनमा सिमित रहेको कांग्रेस १४औं महाधिवेशनपछि नीति महाधिवेशन गर्ने विषयले चर्चा पाए पनि त्यसमा पार्टी सभापति शेरबहादुर देउवासहितका नेताहरूको चासो नै देखाउन छाडेका छन् ।
पार्टीलाई विधि र विधानबाट चलाउने प्रतिवद्धतासहित महामन्त्रीमा निर्वाचित भएका दुई युवा महामन्त्रीहरू गगन कुमार थापा र विश्वप्रकाश शर्मा अहिले पार्टीमा सभापतिले खटाएको काममात्र गर्ने अवस्थामा पुगेका छन् ।
हालै सम्पन्न उप निर्वाचनमा विश्वप्रकाश चितवनमा केन्द्रीत गर्दा गगनले तनहुँमा डेरा कसेका थिए । गगन र विश्वबाट अहिले आम कांग्रेसीले ठूलै अपेक्षा राखेको अवस्थामा उनीहरु त्यसमा खरोरुपमा उत्रन सकेका छैनन् । पाटी अस्तव्यस्त हुँदा पनि उनीहरु सामाजिक सञ्जालमा स्टाटस लेख्नमै केन्द्रीत मात्र छन् ।
महामन्त्री भनेको संगठनको मुख्य व्यक्ति पनि हो । तर उनीहरुले आफू भन्दा माथि सभापतिलाई दबाब दिन त परै जाओस विधानमा भएको व्यवस्था कार्यान्वयनका लागि आग्रह पनि गर्न नसकेको आरोप कांग्रेसीजनले लगाउने गरेका छन् ।
कांग्रेसले बुथ केन्द्रदेखि केन्द्रीय कार्यसमितिसम्म आठवटा तहगत संरचना निर्माण गरेको छ भने १३ वटा भ्रातृ संस्था, १८ वटा शुभेच्छुक संस्था र ३५ देशमा जनसम्पर्क समिति छन् । तर त्यसलाई कांग्रेसले कामकाजी बनाउन नसक्दा अहिले सवै संरचनाहरूको कन्त विजोग भएको छ ।निष्प्रभावित बन्न पुगेको छ । पार्टी प्रणाली कब्जा गरेर बसेको नेतृत्वको कार्यशैलीप्रति बढ्दै गएको असन्तुष्टि जनआक्रोशमा परिणत हुने खतरा बढ्दै गएको छ ।
विधानअनुसार ६ महिनाभित्र गरिसक्नुपर्ने काममा डेढ वर्ष बित्दा पनि केन्द्रीय कार्यसमितिमा एक दर्जन सदस्य मनोनयन गर्न बाँकी छ भने संगठन, प्रचारप्रसारलगायत २८ वटै विभाग रिक्त छन् ।
पार्टीको आय र व्ययको सम्पूर्ण हिसाबकिताब राख्नुपर्ने कोषाध्यक्ष पद नै खाली राखिएको छ । पार्टी विधानले कांग्रेसको केन्द्रीय कार्यालय नै महामन्त्री मातहत हुने व्यवस्था गरेको छ भने पार्टीको संगठन, संरचनालाई क्रियाशील बनाउने जिम्मेवारी पनि महामन्त्रीकै काँधमा छ तर पार्टीका गतिविधि ठप्प छन् । नीति महाधिवेशनका लागि भन्दै महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा समिति नै गठन गरिएको थियो । अहिले त्यसको चर्चा पनि हुन छाड्दा कांग्रेसमाथि प्रश्नहरु धेरै बढ्न थालेका छन् ।
पछिल्लो समय नयाँ र युवा नेतृत्वहरु प्रति आम मतदाताहरु उत्साहित भएको अवस्थामा नेपाली कांग्रेसका युवा भनिएका महामन्त्रीहरुको काँधमा ठूलो जिम्मेवारी छ । यदि उनीहरुले अहिलेको जस्तै पार्टी पंक्ति अघि बढेमा २०८४ सालको आम निर्वाचन त परको कुरा हो, त्यसअघि हुने नेपाली कांग्रेसको १५ औं महाधिवेशन पनि फलामको च्युरा हुने पक्का छ ।