किस्तावन्दीमा मन्त्रिपरिषद् विस्तार, साउदले लिए परराष्ट्रको सपथ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठौं पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । पुस १० गते एमालेसहितको नेतृत्व गर्दै प्रधानमन्त्री बनेका प्रचण्डलेबीचमा नयाँ गठबन्धन बन्दा पनि सरकारलाई पुर्णता दिएका छैनन् ।
चैत १७ गते कांग्रेसबाट ४ जना मन्त्रीहरु थपिए पनि ६ वटा मन्त्रालको जिम्मेवारी प्रचण्डकै काँधमा थियो । जसमध्य नेपाली कांग्रेसका सांसद एनपी साउदलाई परराष्ट्रमन्त्री बनाइएको छ । नेपाली कांग्रेसभित्रको आन्तरिक गुटवन्दीका कारण थप ४ मन्त्री पठाउन बाँकी थियो ।
त्यसमा कांग्रेसको शेखर गगन समूहले ३ मन्त्री विना आफूहरु सरकारमा सहभागी नहुने अडान लिएपछि सभापति शेरबहादुर देउवाले साउदलाई मात्रै मन्त्री बनाएका छन् । अझैं प्रचण्डसँग ५ मन्त्रालयको जिम्मेवारी रहेको छ । अब वैशाख १० गतेको उप निर्वाचन पछि मात्रै कांग्रेसका बाँकी र जनता समाजवादीबाट गरी मन्त्रिपरिषद्लाई पुर्णता दिने बुझिएको छ ।
आज नियुक्त भएका साउदलाई राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको सपथ खुवाएका छन् । साउदले आजै पदभार पनि ग्रहण गरेका छन् । यस्तै नेकपा एकीकृत समाजवादीबाट नन्दा चपाईंले पनि भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा शपथ लिएकी छन् ।

