अर्को महिनादेखि “ए” डिभिजन लिग फुटबल सुरु हुने, टाइसिट सार्वजनिक
ललितपुर । अर्को महिनादेखि सुरु हुने सहिद स्मारक “ए” डिभिजन लिग फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार एन्फा कम्प्लेक्समा ‘ए’ डिभिजन लिग अन्तर्गत पाँचौं चरणसम्मको खेल तालिका सार्वजनिक गरेको हो ।
लिगको पहिलो खेलमा नवप्रवेशी क्लब एफसी खुमलटार र फ्रेन्ड्स क्लब प्रतिस्पर्धा गर्ने छन् । रंगशालामा हुने उद्घाटन खेल साँझ ५ : ३० बजे सुरु हुनेछ ।
यस पटक चर्च ब्वाइज युनाईटेड फुटबल क्लब र एफसी खुमलटारले शीर्ष डिभिजनको लिगमा डेब्यु गर्नेछ । ब्वाइजले पहिलो खेलमा नेपाल पुलिस क्लबसँग फागुन २० गते खेल्नेछ ।
नयाँ सिजनको शीर्ष डिभिजनको लिग फागुन १९ गतेबाट सुरु हुनेछ । लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ । लिगका खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।
साविक विजेता मछिन्द्र फुटबल क्लबले पहिलो खेलमा जावलाखेल युथ क्लबसँग फागुन २१ गते खेल्नेछ । यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछ ।